सडकबाट : अभिभावकको चिन्ता– ग्यास छैन, बच्चालाई चाउचाउ मात्रै खुवाउँदा बिरामी पर्न थाले
शिशिर बुढाथोकी, अभिभावक, बल्खुटोल
काठमाडौं बस्न थालेको झन्डै पाँच वर्ष भयो । यहीँ जागिर गर्छु, परिवार पनि यहीँ छ । बिहान १० बजेबाट बच्चाको स्कुल लाग्छ । साढे ९ बजे नै बच्चालाई स्कुलभित्र छिराइसक्नुपर्ने स्कुलको नियम छ । अहिले नाकाबन्दीले गर्दा पेट्रोल नपाएर मोटरसाइकल चलाउन पाएको छैन । कहिले बस पाइँदैन । डेरादेखि स्कुल पुग्न आधा घन्टा पैदल हिँड्नुपर्छ । बिहान साँझ बच्चा पुर्याउन–लिन जान निकै सकस भएको छ । अहिले दैनिकी त अस्तव्यस्त भएको छ । अफिस पनि टाइममा पुग्नैपर्यो । खाना पकाउने ग्यास छैन । समस्या भइरहेको छ । चुलोमा दाउरा बालेर खाना पकाउनुपर्छ । राइस कुकुर, इलेक्ट्रिक चुलो प्रयोग गर्न पनि लोडसेडिङको मार छ । आगो बाल्न पनि दाउरा पाइँदैन, कहाँ बाल्ने ? बाल्ने ठाउँको पनि समस्या हुन्छ । कहिलेकाहीँ त समयमै खाना नपाक्दा बच्चालाई बासी खाना खुवाएर स्कुल पठाउनुपर्छ । बच्चाले बासी खाएर जाने, आफूले ताजा खान पनि मनै मान्दैन । बिहान ९ बजेभित्रै बच्चालाई खाना खुवाएर स्कुल लैजाने तयार गरिसक्नुपर्छ । देशमा के भएको होला ? जता हेरे पनि बिजोग छ । यसरी कहिलेसम्म चल्छ ? सरकारले यो नाकाबन्दी, देशको के–के समस्या हो, त्यो समाधान गरिहाल्नुपर्यो । सरकारले स्पष्ट जवाफ दिनुपर्यो । जनता सोझा छन् भन्दैमा हद नाघेर जनता पेल्ने अधिकार कसले दियो यिनलाई ? यस्तै रहिरह्यो भने त आफ्नो ज्यान जोगाउनकै लागि भए पनि सरकारलाई गलत्याउनुपर्छ हामीले । जनताको मौनताको फाइदा उठाएर कुर्सी च्याप्ने सरकार चाहिँदैन हामीलाई ।
रोजिना बखती, अभिभावक, बालाजु
देशमा नाकाबन्दीमा लागेपछि हामी सर्वसाधारणको जीवन लथालिंगै भएको छ । केही कुराको पनि सहजता छैन । हामी सानो बच्चा हुर्काउनुपर्ने मान्छेलाई झन् कति गाह्रो छ, भोग्नेलाई मात्र थाहा छ । समयमा स्कुल पठाउन कठिनाइ भइरहेको छ । महिनौँ भो, घरमा ग्यास सकिएको । आगोमा खाना पकाएर खानुपर्छ । बच्चालाई चिसो खुवाउनु भएन, पकाउन, तताउन आगो बालिरहनुपर्छ, झन्झट छ । बच्चालाई समयमा स्कुल पठाउन कठिनाइ भइरहेको छ । जाडोमा बिहानै उठेर ९ बजेभित्रै खाना पकाएर भ्याउनुपर्छ । १० बज्नुअघि नै बच्चालाई स्कुल पुर्याउनुपर्यो । साधनमा पुर्याउन पेट्रोल छैन । गाडी पाइँदैन । हिँडाएरै लैजाँदा सधँै ढिलो हुन्छ । समयमा खाना पाक्न नसक्दा कतिपटक त बच्चालाई पाउरोटी र बिस्कुट खुवाएर स्कुल पठाउनुपर्छ । घरमै खाजा बनाएर टिफिन पठाउन भ्याइँदैन । जंक फुड पठाउँछु । महँगीले आकास छुुन आँटिसक्यो । फेरि बाहिरको खाजा स्वास्थ्यको लागि राम्रो पनि हुँदैन । बाहिरको खाजाकै कारण होला, नानी बिरामी परिरहन्छे । न स्वस्थ खाना न समयमा स्कुल । यसरी त हाम्रो बच्चाको जीवन कस्तो होला ? सरकारको चाला देखेर दिक्क लागिसक्यो । सरकारका बस्ने, ठूलो पदमा बस्नेका छोराछोरीले सजिलै खान पाएकै छन् । अनि, कसरी हाम्रा समस्या र दुःख महसुस होस् सरकारलाई ? त्यसैले त होला नि समस्या समाधानतर्फ सरकारले खुट्टा लम्काएको छैन ।
पुनम चालिसे, अभिभावक, कोपुन्डोल
। देशमा नाकाबन्दी लागेपछि हरेक कुरामा समस्या आइरहेका छन् । खान, हिँड्न र सामान्य दैनिकी चलाउनै मुस्किल भइरहेको छ । हाम्रो जीवनको सहारा भनेकै बच्चा हो । बच्चालाई राम्ररी हुर्काउन पनि सकिएको छैन । जाडोमा तातो खुवाउन सकिएको छैन । ग्यास छैन । खाना पकाउने समयमा कहिल्यै बत्ती आउँदैन । बत्ती आएको मौका छोपेर खाना पकाउँछु । आगो बाल्ने ठाउँ छैन । बत्ती भएको बेलामा पकाएको खानेकुरा खानेबेलासम्म चिसो भइसक्छ । चिसै खान्छु, बच्चालाई पनि चिसै खुवाउँछु । बिरामी भइरहन्छ, के गर्नु ? स्कुल पठाउनैपर्यो । घरको खाजा खुवाउन पाइएको छैन । चाउचाउ, बिस्कुट किनेर दिन्छु । खानै मन गर्दैन । जाडोमा तातो दूध खुवाउन पनि रहरै भइसक्यो । स्कुल बस छैन, आफैँ पुर्याउन आउनुपर्छ । भनेको समयमा गाडी पाइँदैन । स्कुल पुग्दा जहिले पनि ढिलो हुन्छ, मेरो बच्चाको बिजोग छ । पैसा छ, सुविधा छैन, कस्तो सहर हाम्रो । बाध्यताले मात्र हो, नत्र काठमाडौं बस्नै मन छैन । सरकार पनि नामको मात्र रहेछ । हामी जनताको बिचल्ली भइरहँदा पनि वास्ता नै छैन । हैन सित्तैको कर खान सरकारलाई लाज पनि लाग्दैन कि के हो ? हामी जनता सबै मिलेर अब सरकारविरुद्ध उठ्नुपर्छ जस्तो लाग्छ । यस्तै रह्यो भने त यहाँ टिक्नै सकिँदैन नि । प्रस्तुति ः फातिमा बानू
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण