शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रियता र राष्ट्रिय स्वाधिनता रक्षा गर्न सरकार सफलः उप्रधानमन्त्री मैनाली

मङ्गलबार, ०५ माघ २०७२, १७ : २९
मङ्गलबार, ०५ माघ २०७२

काठमाडौ– उपप्रधान एवम महिला बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनालीले राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको रक्षाको सवालमा सरकार सफल भएको दावी गरेका छन । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले नाकाबन्दी र मधेस समस्या पुरानै सरकारको उत्तरदायित्वको रुपमा अहिले आएकोले यसलाई लिएर सरकारको काम कारवाहीको मुल्याङकन गर्न नमिल्ने भन्दै सरकार अहिलेका समस्या समाधानमा सहि दिशामा प्रयत्नहरु अगाडि बढाईरहेको बताए । साक्षात्कारमा उपप्रधानमन्त्री मैनालीले भने,‘ विगतमा हामीले ब्यापार र पारवहनमा एक मुखे हुँदाको शिक्षा लिएनौ । सरकारले भारतसँग सम्बन्ध नर्मल गर्दै ब्यापार विविधीकरण गर्छौ । राष्ट्रियताको सवालमा घुडा टेकेनौ, आपूर्ति सहज बनाउन लागेका छौ । ’ उनले सय दिनमा सयमा केही कमजोरी भएको स्विकार्दै कालाबजारी र मुनाफाखोरीलाई नियन्त्रण गर्न नसकेको बताए । उपप्रधानमन्त्री मैनालीले पेट्रोलियम पदार्थको बाहिर समाचार आए जस्तो अपाूर्ति बढी भए पनि सहज नहुनु अपराधीकरण भएको भन्दै मुनाफाखोरी लाई दण्डित गर्ने प्रतिबद्धता ब्यक्त गरे । उपप्रधानमन्त्री मैनालीले मधेसी दलहरु मधेस केन्द्रीत नभई आत्म केन्द्रीत भएकोले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै हिमाल हिमालको प्रदेश सम्भव छैन भने तराई तराईको प्रदेश पनि नहुने स्पष्ट पारे ।

प्रमुख प्रतिपक्षी नेपाली काग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकार हरेक क्षेत्रमा असफल प्रमाणित भईसकेको भन्दै सरकारले आफ्नो काम प्रभावकारी ढंगले अगाडि नबढाए आफै ढल्ने चेतावनी दिए । उनले काग्रेसलाई अहिले सरकार ढाल्ने फुर्सद नभएको भन्दै पार्टीको महाधिवेशन, भुकम्पको पुर्ननिर्माण, अघोषित नाकाबन्दी र मधेसको समाधान गर्नु पर्ने बेला भएकोले काग्रेस सरकार ढाल्न भने नलाग्ने स्पष्ट पारे ।

नेकपा एमाले स्थायी समितिका सदस्य शंकर पोख्रेलले मधेस आन्दोलन, भारतको नाकाबन्दीले उत्पन्न गरेको समस्या अघिल्लो सरकारको विरासतको रुपमा यो सरकारलाई आएको भन्दै संविधान जलाउने र च्यात्नेहरु संविधानको प्रक्रियामा आउनु यो सरकारको उपलब्धि भएको दावी गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले जनताको पक्षमा काम गर्न बर्तमान सरकार चुकेको जिकिर गर्दै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई समयमै संबेदनशिल भएर सम्हालिन सुझाव दिए । उनले भने,‘ प्रधानमन्त्रीजी समयमै संबेदनशिल भएर सम्हालिनुस नभए गंभिर भुल हुन्छ । यत्रो हुँदा न प्रमुख प्रतिपक्षी नेपाली काग्रेस बोलेको छ न संसद बोलेको छ । अहिलेको अवस्था उदार संविधान भ्रष्ट प्रजातन्त्र भएको छ । ’ लोहनीले तेल भण्डारन बढी भएको समाचार आईराख्दा समेत जनतालाई लाईन लगाउने अवस्थाले कालाबजारी गराउन अभाव सृजना गरिएको अशंका उत्पन्न भएको भन्दै यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनु पर्ने माग गरे ।

साक्षात्कारमा नागरिक अगुवा डा. सुन्दरमणी दिक्षितले यस्तो भ्रष्ट र नाकारा सरकार नेपालको ईतिहासमा कहिल्यै नभएको भन्दै अहिलेसम्म एउटै पनि राम्रो काम गर्न नसकेको दावी गरे । उनले भने,‘ जनतलाई कष्ट नेपालको ईतिहासमै यति धेरै कहिल्यै भएन । भ्रष्टाचार यो भन्दा बढेको कहिल्यै थिएन । प्रधानमन्त्री नचाहिने कुरा गर्न सक्छन तर विश्व बजार अनुसार पेट्रोलियम पदार्थको मुल्य ५० प्रतिसत घटनु पर्ने घटाउँदैनन । क्याविनेट के हेरेर बसेको छ ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप