काँग्रेसको अधिवेशनका लागि नौ हजार पेसाकर्मी परिचालित हुने
काठमाडौं– नेपाली काँग्रेसको आगामी अधिवेशनमा स्थानीयस्तरका लागि हुने निर्वाचनमा देशभरिमा झण्डै नौ हजारभन्दा बढी पेसाकर्मी परिचालित हुने भएका छन् ।
यही माघ १५ गतेदेखि हुने स्थानीयस्तरका अधिवेशनका लागि आवश्यक निर्वाचन अधिकारीका रुपमा विभिन्न पेसाकर्मीलाई खटाउन लागिएको काँग्रेसले जनाएको छ ।
देशभरका तीन हजार १६५ गाविस र २१७ नगरपालिकाका तीन हजार ९० ठाउँको निर्वाचन गराउन एक ठाउँको कम्तीमा तीन जनाका दरले नौ हजारभन्दा बढी निर्वाचन अधिकारी चाहिने काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।
“केन्द्रीय महाधिवेशनका लागि खटाइने निर्वाचन अधिकारीबाहेक स्थानीयस्तरका अधिवेशनका लागि मात्रै झण्डै नौ हजार निर्वाचन अधिकारी चाहिने देखिन्छ” उनले भने ।
अधिवेशनका लागि शिक्षक, वकिल, प्राध्यापक, पत्रकारलगायतका विभिन्न पेसाकर्मीलाई खटाउने उनले बताए । शहरमा वकिल, प्राध्यापक र पत्रकारलाई पनि परिचालन गर्ने र गाउँ गाउँमा उनीहरु पर्याप्त नहुने भएकाले शिक्षकलाई नै सबै जिम्मेवारी दिने निर्वाचन समितिको तयारी छ ।
केन्द्रीय निर्वाचन समितिले निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न पार्टीको जिल्ला समिति र शिक्षक संघलाई निर्देशन दिएको छ । समितिका संयोजक राधेश्याम अधिकारीले जारी गरेको निर्देशनमा हरेक जिल्लाका लागि एकजना निर्वाचन अधिकृत केन्द्रबाट खटाइने र बाँकी जनशक्ति स्थानीयस्तरबाटै व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
जिल्लामा खटिने निर्वाचन अधिकृतले मतदान अधिकृत तोक्ने विषयमा अन्तिम निर्णय लिने बेहोरा समेत उनले स्पष्ट पारेका छन् ।
मतदान अधिकृतको नामावली तयार पार्दा आवश्यक पर्ने सङ्ख्या भन्दा १५ प्रतिशत बढी गर्न पनि निर्देशनमा भनिएको छ ।
काँग्रेसको हरेक नगरपालिकाको वडा तहमा, गाविसको गाविस तहमा, निर्वाचन क्षेत्र र जिल्ला तहमा अधिवेशन भई कार्यसमिति गठन हुन्छ । गाविसस्तरको गाउँ अधिवेशन र नगरपालिकाको वडा अधिवेशन यही माघ १५ गते हुने भएको छ भने नगरपालिकाको नगरस्तरको अधिवेशन १६ गते पनि गर्न सकिने काँग्रेसको निर्वाचन समितिले व्यवस्था मिलाएको छ ।
क्षेत्रस्तरको अधिवेशन माघ २२ र जिल्लास्तरको अधिवेशन माघ २५ गते र केन्द्रीय महाधिवेशन फागुन २० गतेदेखि २३ गतेसम्म गर्ने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण