शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पहिला संशोधन विधेयक पास, त्यसपछि मधेसी मोर्चासँग सहमतिः तीन दल

बिहीबार, ०७ माघ २०७२, १३ : २३
बिहीबार, ०७ माघ २०७२

काठमाडौं– प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एमाओवादीले संसदमा प्रस्तुत भएको संशोधन विधेयक पास गर्नलाई मधेसी मोर्चाले सहयोग गर्नुपर्नेमा जोड दिएको छ । आज संयुुक्त लोकतान्त्रिक माधेसी मोर्चासँगको बैठक पछि बसेको तीन दलको छुट्टै बैठकले मोर्चाले संशोधन विधेयक पास गर्न सघाएको खण्डमा उसको माग पूरा गर्न पनि सहज हुने निश्कर्ष निकालेको छ । बैठकले तीन दल मधेसी मोर्चाको मागप्रति गम्भीर रहेको र त्यसका लागि प्रक्रियामा गइसकेको संविधान संशोधन विधेयक पारित गराउन पनि मोर्चा गम्भीर हुनुपर्नेमा जोड दिएको छ । समानुपातिक समावेशी र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणबारेको उक्त विधेयकमा विभिन्न २५ ओटा संशोधन परेको र त्यसमा कुनै न कुनै उसको पक्षमा भएको हुने सक्ने र त्यसलाई समर्थन गर्न सक्ने तिन दलको भनाई छ । संशोधन प्रस्ताव पारित गराउन मधेसी मोर्चाको सहयोग आवश्यक रहने भन्दै तीन दलले अधिकांश मोर्चाको माग विधेयकमार्फतै सम्बोधन हुन सक्ने र बाँकी विषयलाई वार्ताको माध्यमबाट टुंग्याउन सकिने समेत बताएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाओअवादी नेता नारायणकाजी श्रेष्ठले आजको मोर्चासँग बैठकबाट कुनै सहमति नभएपनि अझैं दुई दिनको समय रहेकाले सो बीचमा सहमति हुने विस्वास व्यक्त गरे । ‘आज नै निश्कर्ष निश्कन्छ भन्ने सोचेर हामी बैठक बसेका थिएनौं ।सहमति हुने विस्वास छ ।’ उनले भने । श्रेष्ठले मोर्चाले भनेझैं प्याकेजमै सहमति पनि गर्न सकिने बताए । यस्तै कांग्रेस नेता महेश आचार्यले पनि पाँच दलले गरेको निर्णयअनुसार आज मोर्चासँग शीर्ष तहमा बैठक बसेको जानकारी दिँदै संसदमा रहेको संशोधन विधेयकमा मोर्चाको सहयोग आवश्यक रहेको बताए । उनले मोर्चाले विधेयक पास गर्न सघाएको खण्डमा उनीहरुको माग पूरा गर्नलाई थप विस्वासको वातावरण बन्ने पनि बताए ।

यस्तै एमाले नेता भीम रावलले भने मोर्चाले कार्यदलको बैठकबाट गरेको २ प्रदेश माग पूरा हुन नसक्ने बताए ।

यसअघि सहमतिको प्रयास स्वरुप भएको प्रमुख विपक्षी दल नेपाली कांग्रेससहितका तीन दल र तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता विफल भएको थियो । बैठकपछि बाहिरिने क्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्तामा तीन दलबाट पुरानै कुरा राख्ने काम भएकाले कुनै प्रगति हुन नसकेको संञ्चारकर्मीहरुलाई बताए । सरकार र आन्द्योलनरत मधेसी मोर्चासँग लामो समययता वार्ता हुँदै आएको भएपनि कुनै सहमति जुट्न सकेको छैन । मोर्चाले सीमांकन र संविधानको विरोध गर्दै विगत ५ महिनायता तराई मधेसमा आन्दोलन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप