बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

दुई माओवादीले हात मिलाउँदा नेकपा माओवादी टुंडिखेलतिर

आइतबार, ०२ फागुन २०७२, १० : ५३
आइतबार, ०२ फागुन २०७२

रोल्पा–माओवादीले जनयुद्ध सुरु गरेको २१ वर्ष पुगेको छ । शनिबार माओवादी जनयुद्ध २१ वर्षमा प्रवेश गरिरहेको अवस्थामा माओवादीकै केन्द्र मानिएको रोल्पा भने देशव्यापी देखिएको विभक्तबाट अछुटो छैन । केन्द्रमा दुई माओवादी एकताको चर्चा चलिरहँदा उत्साहले चेहेरा हसिलो बनाउने कार्यकताहरु पनि प्रशस्तै छन् ।

एकीकृत नेकपा (माओवादी) र नेकपा (क्रान्तिकारी) माओवादीले दुई पार्टीबीचको एकतालाई सार्थक तुल्याउनका लागि ‘एकताको सन्देश’ दिने उद्देश्यसहित फाल्गुन १ मनाए । एमाओवादी र क्रान्तिकारी माओवादीले जनयुद्ध दिवसलाई ‘संयुक्त कार्यक्रम’ बनाएर कार्यकर्ता तथा शुभेच्छुकहरुलाई केही हसिलो बनाउने कोशिस गरे भने अर्को विप्लव नेतृत्वको नेकपा माओवादीले भने सदरमुकाम लिबाङमा ¥यालीसहित खुलामञ्चमा छुट्टै कार्यक्रम ग¥यो ।

एकताको लागि अन्तिम तयारीमा लागेका एमाओवादी र क्रान्तिकारी माओवादीका कार्यकर्ताहरुद्वारा खचाखच भरिएको जिविसको नयाँहलमा प्रमुख अतिथिको रुपमा बोल्दै एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य दीपेन्द्र पुनमगर ‘सिजल’ले शहीदहरुको स्मरण गर्दै भासनको शुरुमै आफ्ना शुभेच्छुकहरुलाई वेचैन बनाएको र ‘दुष्मन’हरुलाई हसाएकोमा पार्टीको तर्फबाट क्षमा मागे । शान्तिप्रक्रियाको दशक निकै पीडादायी भएको भन्दै उनले शत्रुसँग समेत हातेमालो गर्नुपर्ने स्थितिमा माओवादी एकतामा कुनै शंका नरहेको स्पष्ट पारे । ‘सपना जति टाढा हुन्छ त्यति मीठो हुन्छ, जति नजिक हुँदै जान्छ त्यति वितृष्णा हुन्छ’ पुनले भने ‘विगतमा बाँडेको सपना मीठो थियो, आजको वास्तविकता नमीठोजस्तो छ, तर वास्तविकता नै यही हो ।’

माओवादी एकताका सन्दर्भमा बोल्दै सिजलले बैद्य माओवादीले तीनवर्ष पहिले लगाएका आरोपहरुमा राष्ट्रियताको मुद्धा बाहेक अरु सबै निराधार रहेको बताए । तीनवर्ष पहिले के मिलेन र फुट्यो अहिले के मिल्यो र जुट्दैछ भन्नेबारेमा जनता कार्यकर्तालाई स्पष्ट पार्नुपर्ने उनको भनाई थियो । ‘प्रचण्ड एकलाखको खाटमा सुत्यो भन्नेजस्ता आरोपबाहेक अन्य केही थिएनन्’ सिजलले भने ‘अहिले पनि खाट त उही छ, घडी पनि उही छ, वास्तविकता के रहेछ छर्लङ्ग भयो ।’

संविधानमा शतप्रतिशत माओवादीका माग सम्वोधन नभए पनि त्यसैमा टेकेर अगाडि बढ्न सकिने प्रशस्त ठाउँ रहेकाले यसैलाई उपयोग गर्नुपर्ने बताए । उनले सुशील कोइरालाको देहावसानसँगै संविधान कार्यन्वयनमा थप चुनौती बढेको बताए ।

कार्यक्रममै बोल्दै नेकपा क्रान्तिकारी माओवादी केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य आशबहादुर पुन ‘रक्तिम’ले जनयुद्धको एकदशक बलिदान र विजयको संघर्षमा वितेको र पछिल्लो एकदशक क्रान्ति, सम्झौता र क्षतविक्षतमा दुःखपूर्ण तरिकाले वितेको बताए । उग्र दक्षिण र उग्र वामका कारण यी समस्या आएको भन्दै पुनले ती शक्ति छुट्टै बाटो लागिसकेकोले अब सच्चा माओवादी बन्ने दावी गरे । ‘यदि माओवादप्रति इमान्दार छन् भने विभक्त हुँदा तिनलाई पनि आत्मग्लानी हुनेछ’ पुनले भने ‘दुष्मनको जुर्मरावटले तिनलाई पनि एकताका लागि बाध्य पार्नेछ ।’

शहीद परिवार समाज रोल्पाका अध्यक्ष शेरबहादुर बुढाले माओवादी एकता क्षणिकका लागि मात्र नभएर दीर्घकालीन हुनेपर्ने बताए । एमाओवादी रोल्पाका अध्यक्ष सुरेन्द्र थापाघर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बैद्य माओवादीका फविन्द्र आचार्यले गरेका थिए । कार्यक्रममा एमाओवादी र क्रान्तिकारी माओवादी निकट विभिन्न भातृ संगठनका प्रमुखहरुले समेत शुभकामना व्यक्त गरेका थिए । २१ वटा मैनबत्ति बाल्दै शुभकामना आदानप्रदान गरिएको कार्यक्रममा एमाओवादीका सिजल र क्रान्तिकारी माओवादीका रक्तिमले हात मिलाएर एकताको लागि तयार रहेको बताएका थिए ।

फेरि पनि विप्लव माओवादीको गाली

जनयुद्ध दिवसकै अवसरमा रोल्पा सदरमुकाम लिबाङमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य सन्तोष बुढामगरले भासनको अधिकांस समय अन्य पार्टी र नेतालाई गाली गर्नमै विताए । नेकपा माओवादीले बन्दुक बोक्छ भन्दै बदनाम गर्न खोजेको आरोप लगाउँदै बुढाले एकीकृत क्रान्ति अरुले सोचेकोजस्तो साँघुरो नभई निकै फराकिलो भएको बताए । अहिले दलाल पुजिपतिहरुको सत्ता चलिरहेकोले यसबाट जनताले केही पनि नपाउने उनको दावी थियो ।

माओवादी एकता स्वागत योग्य भएपनि अब दुइ खालको माओवादी हुने बताए । ‘अब एउटा क्रान्तिकारी माओवादी र अर्को संसदीय व्यवस्थाको माओवादी हुन्छ’ बुढाले भने ‘संसदीय व्यवस्थाको माओवादी नामको मात्र हुनेछ ।’ संसदीय व्यवस्थामा तान्नै नसकिने गरी भासिएको माओवादीसँग तत्काल एकताको सम्भावना नभएको उनले स्पष्ट पारे ।

कार्यक्रममा केन्द्रीय सदस्य मोहलाल चन्द, सन्तोषी विक, नन्दबहादुर बुढा लगायतले सम्बोधन गरेका थिए । ¥यालीसहित गरिएको कार्यक्रममा एकआपसमा अविर लगाउँदै जनयुद्ध दिवसको शुभकामना दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप