सडकबाट : बच्चालाई पनि ‘भ्यालेन्टाइन्स’ डे कण्ठ हुन्छ
उदयकुमार कोइराला, व्यवसायी, झापा
मलाई भ्यालेन्टाइनस डे मनाउने कुरा मनपर्छ । चाहे नेपालमा होस् या विश्वको अरू कुनै पनि देशमा । भ्यालेन्टाइनस डे मनाउनुको पछाडि ठूलै इतिहास छ नि । आज फेबु्रवरी १४ कै दिन मायाका लागि भ्यालेन्टाइनले गरेको त्यागलाई सम्झेर हामी यस दिनलाई विशेष प्राथमिकता दिन्छौँ भने सकारात्मक नै मान्नुपर्छ । पछिल्लो समयमा हाम्रो देशमा पनि भ्यालेन्टाइनस डे मनाउने परम्परा बढिरहेको छ । यसलाई समयसँगै हामी नेपाली पनि विश्व परिवेशसँग घुलमिल हुँदै छौँ भन्ने उदाहरणको रूपमा बुझेको छु । कतिले भ्यालेन्टाइनस डे मनाउने विषयलाई विदेशीहरूको वाहियात नक्कल भनेको पनि सुनिन्छ । हो, हाम्रा पुर्खाहरूले कहिल्यै भ्यालेन्टाइनस डे मनाएनन्, कसैले बुझेनन् पनि । समयसँगै नयाँ पिँढीले भ्यालेन्टाइनस डे मनाउने संस्कृति भित्र्याए । गलत होइन । तर कतिले यो दिनको महत्व नबुझी भ्यालेन्टाइन्स डे मनाएको पनि देखेको छु । जसरी मनाउनै पर्ने त होइन तर कतिपय युवा वर्गहरूले आफ्ना प्रेमीहरूलाई दिन भनेर सकी–नसकी महँगा–महँगा गिफ्टहरू किनेको पनि देखिन्छ । यो चाहीँ मनपर्दैन मलाई । मायाको गहिराइ महँगा गिफ्टहरूले मापन गर्ने पनि होइन । महँगा र आकर्षक गिफ्टहरू होइन, समर्पण र इमान्दारिताले मायाको डोरी कसिलो बनाउँदै लैजाने हो । त्यसैले देखासिकी र फेसनका लागि होइन, सम्बन्ध गाढा बनाउने हिसाबले भ्यालेन्टाइन डे मनाउने हो भने नक्कल नै गरेको संस्कृति भएतापनि यस्ता कुराहरूबाट सकारात्मक परिणाम नै निस्कन्छ ।
सुशान्त सापकोटा, विद्यार्थी, पुल्चोक
विदेशहरूबाट प्रभावित भएर हाम्रो देशमा भ्यालेन्टाइन्स डे मनाएको मलाई फिटिक्कै मनपर्दैन । त्यस्तै क्रिसमस र अंग्रेजी नयाँ वर्ष मनाउने कुरा पनि बेकार लाग्छन् मलाई त । हामीले आफ्नै मौलिक परम्परा र संस्कृति चाहीँ भुल्दै गइरहेका छौं । अनि विदेशीका संस्कृति अँगालेर रमाइरहेका छौं । गलत हो यस्तो बेकारका कुरा नक्कल गर्ने प्रवृत्ती । यस्ता कुराहरू निरुत्साहित गर्नुपर्दछ । हरेक वर्ष १४ फेब्रुअरी नजिकिँदै गर्दा मेरा साथीहरू मलाइ के छ योजना भनेर सोधिरहन्छन् । झनक्क रिस उठ्छ । आज कखरा पढ्दै गरेका बच्चाहरूलाई पनि भ्यालेन्टाइन्स डेको मिति कण्ठ हुन्छ तर सरस्वती पूजाको मिति सोध्यो भने छक्क पर्छन् । मैले त जीवनमा कहिल्यै भ्यालेन्टाइन्स डे मनाएकै छैन र कहिल्यै मनाउने पनि छैन । यसो भनेर मैले माया गर्नु हुन्न भनेको अर्थ नलागोस् तर फेसनको रूपमा मनाउँदै आइएको भ्यालेन्टाइन्स डेको म विरोधी हुँ । बेकारको भ्यालेन्टाइन डे मनाउने चक्करमा अल्मलिनु भन्दा मैले त मजाले भ्यालेन्टाइन डेकै अगाडि दिन परेको सरस्वती पूजाको तयारी गरेँ । साथीहरूलाई पनि सम्झाए तर कतिले ‘तँ कुन जमानामा छस् ?’ भनेर जिस्काए तर म यस्ता कुराको मतलब गर्दिनँ । म पहिला आफ्नो चाडपर्व र परम्परालाई ध्यान दिन्छु । नत्र भोलिका हाम्रा सन्ततिहरूले दसैं भुलेर भ्यालेन्टाइन डे नमनाउलान् भन्न सकिन्न ।
रुबी मर्हजन, कर्मचारी, ललितपुर
आज भ्यालेन्टाइन्स डे मलाई त रमाइलो लागिरहेको छ । भ्यालेन्टाइन्स डे मनाएको मलाई मन पर्छ । बुझ्न थालेदेखि हरेक वर्ष म पनि भ्यालेन्टाइन्स डे मनाउँछु । कतिले विरोध गर्छन् तर नबुझ्नेहरूले विरोध गरेको जस्तो लाग्छ । विदेशी संस्कृतिको नक्कल भनेर परिभाषित गरेका छन् । तर माया पनि देशी र विदेशी हुन्छ र ? माया त माया नै हुन्छ नि, जहाँ जसले गरे तापनि यसमा नराम्रो नै के छ र ? दुई प्रेमीको त्याग र सर्मपण गरेको ऐतिहासिक दिन हो, हरेक प्रेमीले यस दिनलाई विशेष मानेर रमाउँछन् भने कसैले छेकबार गर्न मिल्दैनजस्तो लाग्छ । इच्छा लाग्नेले निर्धक्क भ्यालेन्टाइन्स डे मनाउन् । मन नलाग्नेले बुझेर मात्र विरोध गरुन् ।
(प्रस्तुति : फातिमा बानु)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण