बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

धुर्मुस–सुन्तलीको पहलमा विद्यालय नजाने मुसहर बालबालिका ट्युसन पढ्न थाले

सोमबार, ०३ फागुन २०७२, ११ : २९
सोमबार, ०३ फागुन २०७२

महोत्तरी – महोत्तरी बर्दिबास २ का मुसहर बस्तीका विद्यालय नजाने बालबालिका विद्यालय जानुका साथै ट्युसन समेत पढ्न थालेका छन् । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर बस्तीमा पुगेर अभिभावकलाई सम्झाई बुझाई गरेपछि अहिले अधिकांस बालबालिका विद्यालय जानुका साथै ट्युसन समेत पढ्न थालेका हुन् । मुसहर बस्तीकै सबैभन्दा बढी पढेका मन्जे सदालाई धुर्मुस सुन्तलीले सम्मानसहित आर्थिक सहयोग गरेर बस्तीका बालबालिकालाई ट्युसन पढाउन आग्रह गरेका थिए । धुर्मुस सुन्तलीको आग्रह अनुसार नै बस्तीका बालबालिकालाई जम्मा गरेर ट्युसन पढाउन थालेको कक्षा ११ मा अध्ययनरत मन्जे सदाले बताएका छन् । यो खबरले आफुहरुलाई निकै हर्षित तुल्याएको धुर्मुस सुन्तलीले प्रतिक्रिया दिएका छन् ।

बालबालिकालाई सहज रुपमा ट्युसन पढाउनका लागि बर्दिबास जनसेवा अस्पतालले ह्वाइट बोर्ड, मार्कर, डस्टरलगायतका सामग्री सहयोग गरेको छ । स्थानीय पत्रकार एवं सामाजीक अभियान्ता राजकरण महतोको पहलमा अस्पतालले उक्त शैक्षिक सामग्री सहयोग गरेपछि अध्यापनमा निकै सहज भएको मन्जेको भनाई छ । केहि समय अघि बस्तीका लागि न्यानो बाँड्न पुगेका धुर्मुस सुन्तलीले मन्जे सदालाई पाँच हजार रुपैँया नगद सहयोग र सम्मान गरेका थिए । आफ्ना गाउँलेको अघि गरीएको सहयोग र सम्मानले आफुलाई निकै हर्षित तुल्याएको भन्दै उनले बस्तीका बालबालिकालाई विद्यालय लैजाने र ट्युसन पढाउने प्रतिबद्धता जनाएका थिए ।

करिब ६० घर रहेको यस बस्तीमा गरिबि, अशिक्षा, बालविवाहलगायतका सामाजीक समस्या व्याप्त छ । धुर्मुस सुन्तलीले बस्तीको विकराल अवस्था देखेपछि त्यो बस्तीलाई नमुना बस्तीको रुपमा विकास गर्ने योजना बनाएका छन् । सहयोगी हातहरुको साथ जुटेमा बर्दिबासका मुसहर बस्तीलाई अर्को नमुना बस्ती बनाउने उनीहरुको सोच छ । गरिब र पिछडिएका समुदायका लागि आफुहरु बाचुञ्जेल सहयोग गर्न तत्पर रहेको उनीहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप