शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदा मिस्त्रीखोला जलविद्युत् आयोजना प्रभावित

मङ्गलबार, १८ फागुन २०७२, १६ : ५४
मङ्गलबार, १८ फागुन २०७२

म्याग्दी - जिल्लाको दानामा केन्द्रिय विद्युत् प्रसारण लाइनको सव स्टेसन निर्माणमा ढिलाइ हुँदा नारच्याङमा आठ वर्षअघि सुरु भएको जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ ।

विस २०६४ देखि निर्माण सुरु भएको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको समय सकिएको दुई वर्ष वितेपनि मुख्य काम सुरु भएको छैन् । रोवस्ट इनर्जी प्रालीले आयोजना निर्माणका लागि जग्गा अधिग्रहण, बाँध रहने स्थानसम्म सडक र मोटरेबल पुल निर्माणका साथै लगानी जुटाइसकेको छ ।

सव स्टेशनको अभावमा उत्पादित विद्युत् खेर जाने अवस्था भएपछि आयोजनाको सुरुङ, विद्युतगृह, बाँधलगायतका सिभिल निर्माणको काम सुरु गर्न नसकेको रोवस्ट इनर्जी प्रालिका प्रबन्ध निर्देशक डोलराज शर्माले बताउनुभयो । नेपाल विद्युत प्राधिकरणले दानामा कालीगण्डकी करिडोर अन्तर्गतको २२० केभी प्रसारण लाइनको विद्युत् सव स्टेसन निर्माणमा ढिलाइ गर्दा कामदारलगायतका आयोजनालाई असर परेको छ ।

रु पाँच अर्ब रु ६० करोड लागत अनुमान गरिएको आयोजनाको विद्युत् गृह रहने नारच्याङ बेसीदेखि निलगिरि र घलेम्दी खोलाको दोभानमा रहेने बाँधसम्म छ किलोमिटर सडक र तीन वटा बेलिब्रिज निर्माण भइसकेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैङ्कबाट रु ७० करोड, जलविद्युत् विकास कम्पनीबाट रु एक अर्ब, नेपाल बैंकबाट रु ५० करोड, नबिल बैंकबाट रु एक अर्ब, लक्ष्मी बैंकबाट रु ४० करोड, सिद्धार्थ बैंकबाट रु ३० करोड र एस डेभलभमेन्ट बैंकबाट रु ३० करोड ऋण लगानीका लागि सम्झौता भएको छ ।

विद्युत् प्राधिकरणले दाना सव स्टेसन निर्माणका लागि ठेक्का सम्झौता गरिसकेकाले आयोजनाको पनि सुरुङमार्ग निर्माण सुरु गर्ने तयारी भएको प्रबन्ध निर्देशक शर्माले बताउनुभयो । उहाँका अनुसार ३१ महिनामा सव स्टेसन निर्माण सम्पन्न गर्ने विद्युत् प्राधिकरणको लक्ष्य रहेकाले आयोजनाको काम पनि सँगै सम्पन्न गर्नेगरी तयारी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप