शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

निजीक्षेत्रसँग सहकार्यबिना आर्थिक वृद्धि असम्भव : खतिवडा

बुधबार, १९ फागुन २०७२, ०८ : ३३
बुधबार, १९ फागुन २०७२

पोखरा– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले निजी क्षेत्रसँगको सहकार्यबिना आर्थिक वृद्धि हासिल गर्न नसकिने बताएका छन् ।

राष्ट्रिय योजना आयोगको आयोजनामा ४ नं प्रदेशको १४औँ त्रिवर्षीय योजनाको तयारी सम्बन्धमा सञ्चालित दुईदिने अन्तक्र्रिया कार्यक्रमको समापन समारोहलाई मङ्गलबार सम्बोधन गर्दै उनले सुरु गरिने आयोजनामा लगानीको अधिकांश हिस्सा निजी क्षेत्रले ओगट्ने गरेकाले सरकार र निजी क्षेत्रको सहभागिताबाटै सम्पन्न योजना दिगो र टिकाउ हुने धारणा राखे ।

आन्तरिक रुपमा सङ्कलन गरिने साधन र स्रोतले विकास आयोजनामा लगानी गर्न नपुग्ने भएकाले नै बाह्य सहयोग परिचालन गर्नु अनिवार्य जस्तै भएको चर्चा गर्दै उपाध्यक्ष खतिवडाले आमनागरिक करको दायरामा आएर कसरी सरकारको आम्दानी बढाउन सकिन्छ भन्ने सोच राख्दै गएमा वैदेशिक सहायताको परनिर्भरता घट्दै जाने बताए ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त १४ जिल्लाको भौतिक संरचनाको पुनःनिर्माणका लागि चार लाखभन्दा बढी जनशक्तिको खाँचो पर्ने र देशभित्रै रहेको बेरोजगार श्रम शक्तिलाई सीप सिकाएर पुनःनिर्माणमा लगाउनुपर्नेमा उनको जोड थियो ।

उनले बेलाबेलामा पेट्रोलियम पदार्थको सङ्कट परिरहने र जनताले दुःख पाउने स्थितिको अन्त्य गर्न राष्ट्रिय योजना आयोगले देशका सातवटै प्रदेशका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थको भण्डार निर्माणका लागि जग्गाको खोजी भइरहेको जानकारी गराए ।

कार्यक्रममा नेकपा (एमाले) कास्कीका अध्यक्ष कृष्ण थापा, काँग्रेसका देवेन्द्र भाट, एकीकृत नेकपा (माओवादी)का गङ्गा पोखरेल, राप्रपा नेपालका जयलाल पुन, राप्रपाका नरहरि तिमिल्सिना, राष्ट्रिय जनमोर्चाका शङ्कर बराललगायतका वक्ताले अबको राष्ट्रिय एजेन्डा विकास हुनुपर्नेमा जोड दिए ।

क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाको अध्यक्षतामा कार्यक्रम भएको थियो । दुई दिनसम्म चलेको सो कार्यक्रममा सहभागीहरुलाई चार समूहमा विभाजन गरी सुझाव सङ्कलन गरिएको थियो ।

कार्यक्रममा यस प्रदेशअन्तर्गत पर्ने विभिन्न राजनीतिक दल, कार्यालयका प्रमुख, गैरसरकारी सङ्घसंस्था, नागरिक समाज र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप