शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यस्तो छ काँग्रेस महाधिवेशनको छुट्टै वेबसाइट

बुधबार, १९ फागुन २०७२, ०९ : ३८
बुधबार, १९ फागुन २०७२

काठमाडौँ– नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनका लागि गठित केन्द्रीय प्रचार समितिअन्तर्गतको मिडिया सेन्टरले मंगलबारदेखि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ ।

नेपाली काँग्रेसको पहिलेदेखिको आधिकारिक वेबसाइट http://www.nepalicongress.org  खोलेपछि रातो रङमा देखिने तेस्रौँ महधिवेशन प्रचार समितिमा क्लिक गरेपछि महाधिवेशनसम्बन्धी सामग्री पाइने व्यवस्था गरिएको छ ।

मिडिया सेन्टर समितिका सहसंयोजक कृष्ण केसीले मंगलबारदेखि वेबसाइटमा सामग्री राख्न थालिएको र विस्तारै महाधिवेशनसम्बन्धी अरु विवरण राखिने जानकारी दिए । उनका अनुसार वेबसाइटमा समाचार, फोटो, भिडियो, अडियो, विज्ञप्ति आदि राख्ने व्यवस्था गरिएको छ ।

समितिको आजै बसेको बैठकले मिडिया सेन्टरको कार्यालय आजैदेखि महाधिवेशनको बन्दसत्र सञ्चालन हुने भृकुटीमण्डपमा स्थापना गर्ने निर्णय गरेको छ ।

समितिले महाधिवेशनको समाचार सङ्कलनका लागि पत्रकारलाई छुट्टै परिचयपत्रको व्यवस्था गर्ने तयारी पनि गरेको छ । परिचयपत्र वितरण कार्य भोलिदेखि हुने समितिले जनाएको छ । वरिष्ठ पत्रकार कवीर राणा संयोजकत्वको मिडिया सेन्टर समितिले पत्रकारलाई समाचार सङ्कलनका लागि अघिल्ला महाधिवेशनमा भन्दा धेरै सहज बनाउने गरी गृहकार्य गरिरहेको जनाएको छ ।

समितिको सहसंयोजकमा कृष्ण केसी, उपसंयोजकमा शिव लम्साल रहनुभएको छ भने सदस्यमा अनिता विन्दु, ईश्वरी ओझा, रामजी दाहाल, रामप्रसाद दाहाल, अजयबाबु शिवाकोटी, सरोज अधिकारी, शरदराज सुवेदी, कुमार भट्टराई, शलोजा दाहाल, खिला कार्की, जीवन भण्डारी, नकुल अर्याललगायत रहेका छन् ।

यही फागुन २० गतेदेखि २३ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनको प्रचारप्रसारलाई प्रभावकारी बनाउन केन्द्रीय प्रचार समितिको मातहतमा अन्य उपसमिति पनि गठन गरिएको छ । वरिष्ठ पत्रकार हरिहर विरहीको संयोजकत्वमा अभिलेख, तेजप्रकाश पण्डितको संयोजकत्वमा बुलेटिन, दामोदरप्रसाद दवाडीको संयोजकत्वमा प्रकाशन, बद्री सिग्देलको संयोजकत्वमा विदेशी मिडिया समन्वय र धर्मेन्द्र झाको संयोजकत्वमा विशेष स्मारिका उपसमिति गठन गरिएको हो ।

काँग्रेसको केन्द्रीय प्रचार समितिको संयोजक भने काँग्रेसका प्रचार विभाग प्रमुख तथा पूर्वसञ्चार मन्त्री डा मिनेन्द्र रिजाल छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप