पोखरामा प्लाष्टिक प्रतिबन्ध परमादेश १३ वर्षपछि कार्यान्वयनमा
पोखरा - पोखरा नगर क्षेत्रमा प्लाष्टिक जन्य पदार्थ प्रतिवन्ध लगाउन भन्दै पुनरावेदन अदालत पोखराले आज भन्दा १३ वर्ष अगाडि विपक्षीका नाममा जारी गरेको परमादेश कार्यान्वयन हुने तयारीमा रहेको छ । पोखरा उपमहानगरपालिका कार्यालयले आगामी २०७३ साल वैशाख १ गतेदेखि पोखरामा प्लाष्टिक जन्य झोला र गिलास प्रतिवन्ध लगाउने तयारी गरेपछि सो परमादेश ढिलै भएपनि कार्यान्वयनमा आउन लागेको हो । सो वेला पुनरावेदन अदालत पोखराले विपक्षी पोखरा उपमहानगरपालिका कार्यालय, जिल्ला विकास समिति कास्की, पोखरा उद्योग वाणिज्य संघ, पोखरा नगर योजना कार्यान्वयन समितिको कार्यालय, साना तथा घरेलु उद्योग कार्यालय कास्की र जिल्ला सिंचाई कार्यालय कास्कीलाई नगर क्षेत्रमा प्लाष्टिक जन्य पदार्थ प्रतिवन्ध गर्न दिएको परमादेश यतिवेला आएर कार्यान्वयनको चरणमा रहेको छ । पुनरावेदन अदालत पोखराका तत्कालिन न्यायाधीसद्वय ताहिरअलि अन्सारी र गोपालप्रसाद पराजुलीको संयुक्त इजलासले पोखराका नदी, ताल र नहरमा प्लाष्टिकजन्य फोहोर वढेको भन्दै विपक्षीलाई रोक्का गर्न परमादेश जारी गरेका थिए । अदालतले विपक्षी पोखरा उपमहानगरपालिका कार्यालय लगायतलाई ताकेता गर्दै फोहोरजन्य पदार्थ प्रतिवन्ध लगाउने कार्यबाट नगरपालिका उम्कन नपाउने परमादेश जारी गरेपनि नगरपालिका कार्यालयले सो वारे पहल गरेको थिएन । पोखरा १० का स्थायी वासिन्दा विश्व घिमिरेले पोखराको फेवाताल, सिंचाई नहरहरु र धानखेतमा प्लाष्टिक जन्य फोहोर वढेको भन्दै पुनरावेदन अदालत पोखरामा रिट दायर गरेका थिए । घिमिरेले दायर गरेको रिटमाथि अदालतले दिएको आदेशलाई करिव ८ वर्षसम्म वेवास्ता गर्दै आएको पोखरा उपमहानगरपालिका कार्यालयले २०६७ साल साउन १ गतेदेखि कालोझोला पोखरामा प्रतिवन्ध लगाएर अभियानको थालनी गरेको थियो । त्यसपछि नगरको १८ औं, १९औं परिषदमा नै परित गरेपनि कार्यान्वयनमा आएको थिएन । भर्खरै सम्पन्न २०औं नगरपरिषदले पनि पोखरा सहरमा प्लाष्किजन्य पदार्थ प्रतिवन्ध लगाउने नीति पारित गरेपछि पोखरा उपमहानगरपालिका कार्यालय अहिले आएर युद्धस्तरमा काम गर्न जुटेको हो । स्थानीय स्वायत्त शासन ऐन २०५५ र फोहोर मैला ऐन २०६८ को आधारमा नगरपालिका कार्यालयले सो अभियानलाई यतिबेला अगाडि बढाएको छ । नगरपालिका कार्यालय पोखरामा प्लाष्टिकजन्य झोला, गिलास लगायतका पदार्थ प्रतिवन्ध लगाउन युद्धस्तरमा लागेको पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले वताए । अहिले पोखराका वडा वडामा जनचेतना कार्यक्रम गरिएको र नगरवासीले पनि यो अभियानमा पूर्ण रुपमा साथ दिएको उनले बताए । अब पोखराका प्रत्येक वडालाई प्लाष्टिक प्रतिवन्धित वडा घोषणा गर्दै जाने र वैशाख १ गते पोखरा सहर प्लाष्टिक प्रतिवन्धित क्षेत्र घोषणा हुने अधिकारीले जानकारी दिएका छन् । पोखरा स्वच्छ र सफा अनि प्लाष्टिक रहित हुनु पर्छ भन्दै १३ वर्ष अघि पुनरावेदन अदालतमा रिट हालेका विश्व घिमिरे ढिलै भएपनि नगरपालिकाको अभियानवाट आफू खुसी भएको प्रतिक्रिया दिएका छन् । के भन्छन् प्लास्टिक उद्योगी ? यता पोखरामा वर्षौदेखि प्लाष्टिकको कारोवार गर्दै आएका ५ वटा प्लाष्टिक उद्योगको गुनासो भने वेग्लै छ । उनीहरुले पोखरा उपमहानगरपालिकासँग प्लाष्टिक प्रतिबन्ध लगाउन अझै केही समय चाहिएको वताएका छन् । तर नगरपालिकाले भने पुनरावेदन अदालत पोखराको २०५९ असार ५ गतेको परमादेश र नगरपरिषदका निर्णयलाई आधार बनाउँदै अभियानबाटपछि नहट्ने जनाएको छ । अव हामी अभियानवाट अगाडि वढीसकेका छौं यसवाट व्याक हुने कुरा आउँदैन कार्यकारी अधिकृत झलकराम अधिकारीले भने । उपभभोक्ताले सहज रुपमा पाउँदै आएको प्लाष्टिकको झोला सरहको झोला तयार गर्ने कम्पनीको विकल्पमा पोखरामा केही उद्योगहरुले सोच समेत वढाएको नगरपालिकाले वताएको छ । तर सहज रुपमा उपभोक्ताले कपडाको झोला पाउने अवस्था नआए यो अभियान नगरपालिकालाई चुनौतिको रुपमा खडा हुने छ । उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले पोखरामा गुणस्तरहीन प्लाष्टिक प्रतिवन्ध लगाउने काम उपभोक्ताको हितमा भएको वताए । उनले रिसाइकल नहुने प्लाष्टिक पूर्णरुपमा प्रतिवन्ध लगाउँदै रिसाईकल हुने प्लाष्टिकलाई विकल्प तयार नहुन्जेल प्रयोगमा ल्याउनु पर्ने बताए । ४० माईक्रोन भन्दा तलको प्लाष्टिक रिसाईकल गर्न मिल्दैन भने सो भन्दा माथिको प्लाष्टिक रिसाईकल गर्न मिल्ने उद्योगहरुको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण