शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

संविधान कार्यान्वयन हरेक नागरिकको कर्तव्य : सभामुख घर्ती

बुधबार, १९ फागुन २०७२, १८ : ५९
बुधबार, १९ फागुन २०७२

रोल्पा–दलहरु बीचको सहमति, सहकार्य र एकताबाट नै संविधान कार्यान्वयन हुने सभामुख ओनसरी घर्तीमगरले बताएकी छन् । संविधानमा असझदारी भएपनि संसोधनको विकल्प अवलम्वन गर्दै कार्यान्वयनमा जानुको विकल्प नभएको घर्तीले बताइन् । ‘संविधान आउनु नै ठूलो कुरा हो’ सभामुख घर्तीले भनिन् ‘यसको कार्यान्वयन गर्ने काम दल वा सरकारको मात्र नभएर आम नागरिकको हो ।’ दलहरुबीच जटिल समस्या आएमा दुइतिहाइले संविधान संसोधन गर्नसक्ने भएकोले पनि कार्यान्वयनमा कुनै शंका नरहेको घर्तीको दावी छ ।

सभामुख घर्तीले विकास निर्माणका कार्यमा भन्दा पनि आफ्नो मुख्य काम कानून निर्माण र कार्यान्वयन नै रहेको बताइन् । संविधानको ‘हार्डकपी’ हरेक नागरिकको हात हातमा पु¥याउने आफ्नो लक्ष्य रहेको उनको भनाई छ ।

अहिले सरकार भन्दा पनि संविधान कार्यान्वयन दलहरुको प्राथमिकता हुनुपर्ने घर्तीले बताइन् । उनले मिडियालाई संविधान प्रचारका लागि थोरै भए पनि स्पेस दिन आग्रह समेत गरिन् ।

जिल्लाको विकास निर्माणको सन्दर्भमा कुरा गर्दै घर्तीले धार्मिक, प्राकृतिक र युद्ध पर्यटनलाई प्राथमिकताका साथ अगाडि बढाएमा रोल्पाको भविष्य थप उज्वल हुने बताइन् । जिल्लाका विकासे अड्डाहरुले पनि ती कुराहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । जिल्लाका विभिन्न १६ ठाउँमा टेलिफोन टावरका लागि सर्भे भइरहेको जानकारी दिँदै सभामुख घर्तीले जिल्लाका सबै विद्यालयहरुमा इ–लाइब्रेरी सिस्टम बनाउनका लागि आफूले अभियान नै चलाएको बताइन ।

क्रान्तिकारी पत्रकार संघ, रोल्पाले आज रोल्पाको लिबाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो कुरा बताएकि हुन् । संघका जिल्ला अध्यक्ष नवीन लोचनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अमरजित पुनमगरले गरेका थिए । भेटघाटमा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको समेत उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप