‘आमा’ शब्द सुन्दा पाइने सुखको अनुभव अरू हुन्न : इन्दिरा
काठमाडौँ– ‘आमा म ट्युसन जान्छु है’ नजिकै दुईजना दूधेबालिकालाई काखमा लिएर बसिरहेकी इन्दिरा रानामगरलाई सात/आठ वर्ष उमेरका बालकले भन्दा उनले मुसुक्क मुस्कुराउँदै भनिन् – ‘राम्ररी जाऊ है ।’
भूकम्पका बेलामा समय नै नपुगी जन्मिएकी ‘भूचम्पा’ र गर्भपतन गराउन खोज्ने एक आमालाई जन्माउन लगाएर ल्याइएकी ‘म’ लाई उनले काखमा राखेर खेलाउँदै थिइन् । म्हेँपीस्थित भाडामा लिएको उनको चारतले घरमा अहिले २५ जना बालबालिकाले संरक्षण पाइरहेका छन् ।
संस्थामा रहेका बालबालिकाले आफूलाई ‘आमा’ भनेर बोलाउँदा औधी माया लाग्ने गरेको उनले बताइन् । अहिले संस्थामा सबैभन्दा सानो पाँचमहिने म र १० महिने भूचम्पा छन् । “कुनै दिन केही काम परेर बाहिर जानुप¥यो भने यिनीहरुको साह्रै माया लाग्छ,” उनले भनिन् ।
करिब १७ वर्षअघि कसैले जन्माएर फालेको एक बच्चीलाई संरक्षणमा राखेपछि उनको संस्थाको काम औपचारिक रुपमा सुरु भएको थियो । पछि ठूलो भएपछि पहिलोपटक आफूलाई आमा भनेर सम्बोधन गर्दाको आनन्दले उनलाई यति प्रभावित पा¥यो कि त्यसपछि संस्थामा आएका हरेक बालबालिकाका लागि उनी आमा सरह समर्पित बनिन् ।
विशेषगरी जेलमा रहेका कैदीबन्दीका छोराछोरीलाई ल्याएर लालनपालन र शिक्षा दिने उद्देश्यले उनले बन्दी सहायता नेपाल खोलेकी थिइन् । तर अहिले कैदीबन्दीका मात्र नभई अरू सडक बालबालिका र अन्यलाई समेत उनले ल्याएर राखेकी छिन् । अध्ययनका लागि झापादेखि काठमाडौँसम्म आएकी उनलाई साहित्यकार पारिजातको सामीप्यतामा रहँदा समाजसेवाको चस्का पस्यो ।
“एक प्लेट खानाको १२ रुपैयाँ पथ्र्यो त्यतिबेला तर मसँग त्यो पैसा पनि थिएन, त्यसैले कैयौँ दिन ६ रुपैयाँमा आधा प्लेट खाना खाएकी थिएँ,” उनले भनिन् – “होटलवाला छक्क प¥यो मैले आधा प्लेट खाना माग्दा । हेर्दा पढेलेखेकी जस्ती देखिएकीले पनि होला उसले आफ्नी छोरीलाई पढाउने जिम्मा मलाई दियो । त्यसबापत मलाई खाने र सुत्ने व्यवस्था मिलाइदियो ।”
काठमाडौँ आएर उनले पारिजातकी बहिनी सुकन्याले खोलेको अमृत बोर्डिङमा पढाउन थालिन् । पच्चीस वर्षअघिको त्यो कुरा उनलाई आजै जस्तो लाग्दोरहेछ । पारिजातका लागि उनले जेलमा गएर विभिन्न राजबन्दीसँग कुरा गर्ने काम थालिन् । यसैको कारण त्यहाँ रहेका महिला र उनीहरुको छोराछोरीको अवस्था देखेर उनलाई ती बच्चाको लालनपालन र शिक्षाको जिम्मेवारी लिने साहस पलायो । पारिजातले आफूले लेखेको किताब र लेखहरुबाट आएको रकम सबै जेलमा रहेकाका लागि खर्च गर्ने गरेको देखिरहेकाले उनले त्यहीँबाट समाजसेवा गर्ने प्रेरणा पाइन् ।
सुरुमा आफैँले पढाउने विद्यालयमै ती बालबालिकालाई लिएर राखेको उनले बताइन् । “स्कुलमा त्यसरी त्यहीँ पढाउने र सुताउने समेत गरेँ केही समय तर पछि त्यो सम्भव भएन,” उनले भनिन् । विसं २०५० मा पारिजातको निधनपछि उनले आफैँ बन्दी सहायता संस्था खोलिन् र चलाउन थालिन् । जेलमा आवतजावत गरिरहँदा पुलिससँग राम्रै सम्बन्ध भएकाले बालबालिका भएका नयाँ कैदीबन्दी आउनेबित्तिकै आफूलाई त्यसबारे जानकारी हुने उनले बताइन् । जेलमा परेका आमाबाबु र बालबालिकाबीचको सम्बन्ध कायमै रहोस् भन्नाका लागि उनले हप्ताको एक दिन भए पनि जेलमा बाबुआमासँग भेटघाट गराउने गरेकी छिन् । “यसले आमाबाबुको माया छोराछोरीले पाइरहन्छन्” – उनले भनिन् ।
अरू बालबालिकाका लागि अभिभावक बनेर सुख बाँडिरहेकी इन्दिराले भने आफ्नो व्यक्तिगत जीवनको सुख भोग गर्न पाइनन् । धेरै सन्तानकी आमा बनेर मातृत्व सुख बाँडिरहेकी उनले विविध कारणले एक सन्तान जन्मिएपछि श्रीमान्सँग अलग्गै बस्न थालिन् । आफ्नो व्यक्तिगत जीवनप्रति कुनै गुनासो नभएको भन्ने उनले यसलाई एकातिर पन्छाएर सयौँ बालबालिकाको अभिभाभकत्व लिइन् र अहिले यसमै सन्तोष मानेकी छिन् ।
उनले यसैकारण विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानसमेत थापिसकेकी छिन् । काठमाडौँ, भक्तपुर, पाल्पा, झापाजस्ता जिल्लाका विभिन्न स्थानमा भवन निर्माण नै गरेर उनले कैदीबन्दी तथा अन्यका बालबालिकालाई संरक्षण दिने कार्य गरिरहेकी छिन् । जीवनको ४५औँ वसन्तलाई छुने क्रममा रहेकी इन्दिराले आफ्नो बाँकी जीवन पनि यिनै बालबालिकाका स्याहारमा अर्पने सङ्कल्प गरिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण