शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सरकारको अनुदान टाठोबाठोलाई मात्र

बिहीबार, २७ फागुन २०७२, १४ : ५४
बिहीबार, २७ फागुन २०७२

भक्तपुर– जिल्लाका किसानले कृषिमा सरकारले दिने अनुदान टाठोबाठोले मात्र प्राप्त गर्ने गरेको गुनासो गरेका छन् ।

सरकारी निकायको लामो र झन्झटिलो कागजी प्रक्रियाका कारण वास्तविक किसानले भन्दा व्यावसायिक फार्मका नाममा सिमित टाठोबाठोले सरकारी अनुदान पाउने गरेको उनीहरुले बताएका छन् । बुधबार जिल्लामा आयोजना गरेको कृषक अन्तरक्रियामा सहभागी किसानले सरकारी अनुदानको रकम कागजी प्रक्रियाका भरमा नभई वास्तविक किसान र पीडितलाई दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

युवा स्वरोजगारको नीति बने पनि अझै युवालाई कृषिमा आकर्षित बनाउन नसकेको सहभागीको गुनासो थियो । कार्यक्रममा बागेश्वरी–२ मा व्यावसायिक गोलभेँडा खेती गर्दै आएका लक्ष्मण कुँवरले सरकारी निकायबाट अनुगमन र निरीक्षण नभएको गुनासो गर्दै सरकारी निकायले समय समयमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन माग गरे ।

“किसानलाई सरकारी अनुदान प्राप्त गर्न कागजी प्रक्रिया झन्झटिलो रहेको छ” उनले भने । नगरकोट नगरपालिका–३ ताथलीमा व्यावसायिक गाइपालन गर्दै आएका रुद्रबहादुर खड्काले उत्पादनको बजारीकरणमा समस्या भएको बताउँदै विचौलियाले मूल्यमा गर्ने चलखेलले उत्पादन गर्ने किसानको बदनाम हुने गरेको बताउनुभयो । समान मूल्य निर्धारणका लागि जिल्लामा सङ्कलन केन्द्रको आवश्यकता रहेको उनको भनाइ छ ।

कार्यक्रममा सहभागी चित्तपोलका कृष्णबहादुर कार्कीले जिल्लामा भण्डारणको समस्या भएको बताए । “भण्डारणको अभावले किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्, कुहिएर फाल्नुपर्ने अवस्था छ” उनले भने ।

कार्यक्रममा उठेका जिज्ञासा र गुनासोको जवाफ दिँदै जिल्ला कृषि कार्यालयका प्रमुख पूर्णा ढुङ्गानाले कार्यालयबाट समय समयमा किसानका व्यवसायको अनुगमन हुने आश्वासन दिए । अनुदानका लागि ऐनले व्यवस्था गरेको परिधि नाँघ्न नसक्ने बताउँदै उनले अनुदान व्यावसायिक खेती लक्षित भएको बताए । कार्यक्रममा जिल्लाका विभिन्न ठाउँका करिब २०० किसानको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप