देउवाको उदयपछि मधेसको भविष्य : के भन्छन् विश्लेषक ?
काठमाडौं – नेपाली काँग्रेसको सभापति को बन्ला भन्ने विषयलाई कांग्रेसजन पछि सबैभन्दा धेरै चाँसो मधेसले लिएको थियो । देशकै ठूलो पार्टीमा कसको नेतृत्व आउँछ ? नयाँ नेतृत्वले मधेसको मुद्दालाई कसरी लिन्छ भन्ने विषय मधेसका लागि चासोको विषय हो । कांग्रेसको नयाँ सभापतिको रुपमा शेरवहादुर देउवा आएपछि अब मधेसको मुद्दाबारे के होला भन्ने चर्चा शुरु भएको छ । यसो त काँग्रेसको महाधिवेशन सफल बनाउनकै लागि मधेसवादी दलले नाटकीय ढंगबाट आन्दोलनको स्वरुप परिवर्तन गर्नुले पनि मधेसीवादी दलले कांग्रेस र उसको नयाँ नेतृत्वबाट केही अपेक्षा गरेकै अड्कल काट्न सकिन्छ । सभापतिमा देउवालाई जिताउन मधेसको भूमिका पनि महत्वपूर्ण रहेको छ । त्यसैले देउवाबाट मधेसले अपेक्षा गरेकै हुनुपर्छ । आशंका पनि यथावत देउवाले मधेसको समस्या समाधान गर्न पहल गर्छन् भन्नेहरुको बीचमा नेपाली काँग्रेसको नेतृत्वमा जो आएपनि उसको मधेस नीतिमा कुनै फरक नपर्ने भन्नेहरुको कमी छैन । मधेसी नेताहरुको बुझाईमा सिमांकन विवादको मुख्य कारक सभापति देउवा र नेता कृष्णप्रसाद सिटौला हुन् । तिनै सिटौलाले सभापतिको चुनावमा अप्रत्यक्ष रुपमा देउवालाई सहयोग गरेका छन् । सुदुरपश्चिमको सिमांकनमा थारुको कलस्टर एकै ठाउँ राख्न नदिने तर सिटौलाले पूर्वतिर झापा, मोरङ र सुनसरीलाई टुक्राउन नदिएको कारण मधेसमा यत्रो आन्दोलन भएको हो । यस अवस्थामा सभापतिमा आएपछि देउवाले मधेसको समस्या समाधान गर्न तिर लाग्छन् त भने प्रश्न खडा भएको छ ।
देउवाका चुनौति देउवा समक्ष चुनौतिको पहाड खडा भएको मधेसी राजनीतिकका विश्लेषक चन्द्रकिशोर बताउँछन् । देउवा सभापतिमा आएपछि उनको लागि पहिलो चुनौति मधेस नै भएको उनी भन्छन्, कारण अहिले मधेस आन्दोलन अहिले पनि जारी छ । चन्द्रकिशोर भन्छन्, ‘देउवाजीले मधेससँग कस्तो व्यवहार गर्नुहुन्छ, उनको सफलता त्यसमा भर पर्छ । उहाँको आफ्नै पार्टीको केन्द्रीय समितिमा मनोनयन गर्न बाँकी छ । मनोनय गर्दा मधेसलाई कति समावेश गराउनु हुन्छ, त्यसले पनि उहाँको पार्टी नेतृत्वको यात्रालाई तय गर्छ ।’ देउवा सभापति बनेपछि सरकार परिवर्तनको कुरा पनि चलेको छ । तर, अहिले नै देउवाले सरकारको नेतृत्व लिए भने समस्या समाधान गर्न गाह्रो हुने उनको विश्लेषण छ । ‘शुरुमा मधेसको समस्या समाधान गर्न सबै दललाई आफ्नो पक्षमा लिएर मात्रै सरकारतिर नजर दिँदा राम्रो हुन्छ,’ चन्द्रकिशोरको सुझाव छ ।मधेसमा फरक पर्दैन त्यस्तै धारणा छ मधेसका अर्का राजनीतिक विश्लेषक तुलानारायण साहको । उनी पनि शेरवहादुर देउवा काँग्रेसको सभापति हुँदैमा मधेसको समस्या समाधान हुने कुरामा विश्वस्त छैनन् । ‘काँग्रेसमा व्यक्ति हेरफेर भएको छ, नीति हेरफेर भएको छैन, त्यसलै मधेसमा यसले कुनै फरक पर्दैन,’ साहले भने, ‘महाधिवेशनको नारा हेर्नुस्, नीति तथा कार्यक्रम हेर्नुस् मधेसको बारेमा केही छैन । अर्थात मधेसको बारेमा कुनै कुरा ठोस रुपमा आएको छैन ।’ ‘देउवा सभापतिमा विजय भए लगतै आफूले मधेसको समस्या समाधान गर्ने धारणा सार्वजनिक गरेका छन् तर समाधान गर्ने कुराको संकेत कही कतै देखिएको छैन । १६ बुँदे सम्झौतादेखि संविधान निर्माण र मधेस आन्दोलनसम्म मधेसको बारेमा कहीँ कतै देउवाको फरकमत आएको छैन अनि देउवाले मधेसको समस्या समाधान गर्ला भनेर कसरी भन्न सकिन्छ ?’ साहको टिप्पणी छ । उनी थप प्रश्न गर्छन्, ‘यहाँ देउवालाई मधेसको तर्फबाट साथ दिँदै आएका विमलेन्द्र निधि र देउवाको बीचमा नै मधेसको मामिलामा फरक धारणा छ अनि देउवाले मधेसका लागि कदम चाल्न सक्छन् भन्ने आधार के ?,’ विश्लेषण साहको प्रश्न छ । देउवाले गर्छन्, मधेसको समस्या समाधान तर यी दुई विश्लेषक भन्दा फरक धारणा छ प्रध्यापक विजय मिश्रको । मधेस आन्दोलनलाई नजिकबाट नियालेर विश्लेषण गर्दै आएका मिश्रले देउवा आएपछि मधेसको समस्या समाधान हुनेमा आशावादी छन् । उनले यसका तीन कारणहरु बताए । पहिलो नेपाली काँग्रेसको भोट बैंक मधेस हुनु, दोस्रो देउवा पक्षमा काँग्रेसका मधेसी नेताहरु हुनु र तेस्रो देउवाले आफ्नो विचारमा परिवर्तन गर्नु रहेको छ । ‘मधेसकै कारण काँग्रेस ठूलो पार्टी बनेको हो, अघिल्लो संविधानसभामा मधेस आन्दोलनका कारण मधेसी जनताले मधेसी दललाई भोट हालेका थिए तर पछिल्लो संविधानसभामा मधेसी दल आफैमा विभाजित भएपछि काँग्रेस पहिलो पार्टी बनेको छ, मिश्रले भने । सभापति देउवा काँग्रेसबाट अलग भएर काँग्रेस (प्रजातान्त्रिक) गठन गरेपछि उनले पहिलो पटक आफ्नो विधानमा समावेशी कोटा छुट्याएको कुरा सम्झिँदै विश्लेषक मिश्रले भने, ‘काँग्रेस ठूलो पार्टी भएको नाताले पनि मधेसको समस्या समाधानमा ध्यान दिन्छ भन्ने मलाई लागिरहेका छ ।’ मधेसको समस्याबाट परिचित मिश्रको विचारसँग अर्का राजनीतिक विश्लेषक जयनिशान्त पनि सहमत छन् । उनी पनि देउवा काँग्रेसको सभापति भएपछि मधेसको समस्या समाधान हुनेमा आशावादी देखिन्छन् । देउवालाई दुई नम्बर (मधेस) प्रदेशले जसरी सहयोग गरेको छ त्यसलाई पनि देउवाले ख्याल गर्नुपर्ने बताउँदै जयनिशान्तले भने, ‘६ महिनादेखि मधेसको जुन अवस्था छ त्यो देउवाबाट लुकेको छैन । यसबाट परिचित भएको कारण देउवा मधेसको समस्याप्रति गम्भीर हुन्छन् भन्ने विश्वास छ ।’ ‘सभापति देउवालाई पनि लाग्ला नि सभापति भएपछि केही गरौं । आफ्नो पार्टीले सविधान निर्माण गर्यो अनि आफू सभापति भएपछि त्यसलाई कार्यान्वयन गरौ भन्ने उनलाई पनि लागेको होला,’ उनी भन्छन्, ‘सफल सभापति बन्नका लागि पनि देउवा मधेसका केही गरेर देखाउनै पर्छ ।’‘काँग्रेसमा व्यक्ति हेरफेर भएको छ, नीति हेरफेर भएको छैन, त्यसलै मधेसमा यसले कुनै फरक पर्दैन’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण