शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गविसको हेल्थपोष्ट बन्यो सुर्ती कारखाना

बुधबार, ०१ वैशाख २०७३, १५ : २४
बुधबार, ०१ वैशाख २०७३

वीरगन्ज - पर्साको महादेवपट्टीमा रहेको स्वास्थ्य चौकी (हेल्थपोष्ट) , गाविस कार्यालयको एउटा कोठामा जेनतेन ढंगले सञ्चालन गरिएको छ । हेल्थपोष्टकै आफनै भवन नभएको पनि होइन । गाविस कार्यालयकै छेउमा हेल्थपोष्टको तीन कोठे आफनै भवन पनि छ । तर तीन वटै कोठा सुर्तीका पातहरुले खचाखच भरिएको छ । बाहिरबाट झट्ट हेर्दा हेल्थपोष्ट भवन सुर्ती उद्योग जस्तै देखिन्छ । भवन प्रयोगमा नल्याइएका कारण स्थानीयले तीन वटै कोठामा सुर्तीका पातहरु सुकाउने गरेका छन् । बरण्डा पनि गाँउलेहरुले खसीबाख्रा राख्ने खोरका रुपमा प्रयोग गरेका छन् । हेल्थपोष्टका इन्चार्ज सन्जय कुमार कम्कड भन्छन् , ‘भवनको निर्माण कार्य पुरा भएको छैन त्यसैले गाँउलेहरुले कोठामा सुर्तीको पात सुकाउनका लागि राखेका छन् । बजेटको अभावमा २०५८ साल देखि नै भवन निर्माण कार्य अधुरो रहेको उनले बताए । बजेटको अभावमा भवनको निर्माण कार्य अधुरो रहेकाले गाविसको एउटा कोठामा हेल्थपोष्ट सन्चालन गर्नु पर्ने बाध्यता रहेको कम्कडको भनाइ छ । हेल्थपोष्टको भवनमा सुर्ती नसुकाउन र खसीबाख्रा नराख्न पटक–पटक आग्रह गरेको भएपनि गाउलेहरुले अटेरी गर्दै आएको कम्कडले बताए । ‘यहाँका गाउँलेलाइ नै वास्ता छैन, अटेरी गर्छन्,’ उनले भने ,‘म बाहिरको मान्छे हुँ , जबरजस्ती गर्न पनि सक्दिन । गाविस भवनको एउटा कोठामा हेल्थपोष्ट सञ्चालन गर्नु पर्दा बिरामीको उपचार सेवा पनि प्रभावित भएको उनले बताए । महादेवपट्टी हेल्थपोष्टमा पाँच जना स्वास्थ्यकर्मीको दरबन्दी रहेपनि इन्चार्जका रुपमा अहेब कम्कड मात्र कार्यरत छन् । हेल्थपोष्टमा हेल्थ असिस्टेन्ट (एचए) एक, अहेब दुइ, अनमी एक र कार्यालय सहायक एक गरि कुल पाँच जनाको दरबन्दी रहेपनि स्थापनाकालदेखि नै त्यहा एक जना अहेब कम्कड मात्रै इन्चार्जका रुपमा कार्यरत छन् । दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा बिरामीहरुको उपचार सेवा प्रभावित भएको छ । स्वास्थ्यकर्मी नहुदा बिरामीहरु गाँउघरमा आउने भारतीय झोले डाक्टरहरुबाट उपचार गराउन बाध्य भएको स्थानीय बताउँछन् । हेल्थपोष्टमा एचए र नर्स नभएका कारण भारतीय झोले डक्टरहरुबाट उचार गराउनु पर्ने बाध्यता छ । स्थानीय सुरेश चौधरीले भने, ‘झोले डाक्टरबाट उपचार गराउँदा रोग निको पनि हुदैन , पैसा मात्र खर्च हुन्छ, विकल्प नभएपछि हामी उनीहरुबाटै उपचार गराउन बाध्य छौ ।’ दबरबन्दी अनुसारका स्वास्थ्यकर्मी नभएका कारण प्रभावकारी रुपमा उपचार सेवा प्रदान गर्न नसकिएको इन्चार्ज कम्कड स्वंयले बताए । उनले भने ,‘ खोप कार्यक्रम र गर्भवती महिलाको चेकजाँच गर्ने सेवा पनि लामो समयदेखि बन्द नै छ । दरबन्दी अनुसारको स्वास्थ्यकर्मी हेल्थपोष्टमा पठाइदिनका लागि जिल्ला जनस्वास्थ्य कर्यालयमा पटक पटक धाउदा पनि कुनै सुनुवाइ नभएको इन्चार्ज कम्कडले बताए । अहिले कार्यरत इन्चार्ज कम्कड पनि नियमित रुपमा नआउँदा हेल्थपोष्ट पटक–पटक बन्द हुने गरेको छ । हेल्थपोष्ट इन्चार्ज कम्कड महिनामा चार पाँच दिन मात्र आउने गरेको गाँउलेहरुको भनाइ छ । स्थानीय मेघराज रायले भने, ‘उनी पनि महिनामा चार पाँच दिन मात्र आउँछन्, बाँकी दिन हेल्थपोष्ट बन्द नै रहन्छ ।’ तर हेल्थपोष्टका इन्चार्ज कम्कडले भने हेल्पोष्टमा आफू एक्लो मात्र कार्यरत रहेको बताउँदै कार्यालयको काम लागि सदरमुकाम वीरगन्ज गएका बेला मात्र हेल्थपोष्ट बन्द रहने गरेको बताए । उनले भने, ‘म एक्लै छु , बेला बेलामा तालिम र गोष्ठीमा जानु पर्छ , त्यो बेला भने हेल्थपोष्ट बन्द नै गर्नु पर्ने बाध्यता हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप