शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास : विश्वका शक्तिशाली राष्ट्रहरुको चुम्वक बन्ने प्रमको दावी

बुधबार, ०१ वैशाख २०७३, १६ : ५४
बुधबार, ०१ वैशाख २०७३

पोखरा - पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको वुधवार विशेष समारोकाबीच शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत नेकपा माओवादी अध्यक्ष पूष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल, राप्रपा नेपालका अध्यक्ष कमल थापा, मधेशी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छेदार र कांग्रेस महामन्त्री डा शशाङ्क कोइराला लगायतका शीर्ष नेताहरुले विमानस्थलको शिलन्यास गरेका हुन् ।

विमानस्थल शिलन्यास समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा सहर अब विश्वका शक्तिशाली राष्ट्रहरुको चुम्बक वन्ने उद्घोष गरेका छन् । ‘यसै प्रकृतिको वरदान पाएको पोखरा सहर अव विमानस्थल निर्माण भएपछि विश्वका पर्यटकहरु ओइरो लाग्ने स्थल बन्नेमा दुईमत छैन,’ ओलीले भने । उनले पोखरामा विमानस्थल वनाउने भन्ने कुरा एक थरीले विश्वासै नगरेको भएपनि आफूले सार्थक तुल्याउने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले पोखरा विमास्थल मात्र नभई वाराको निजगढ विमानस्थल, हुलाकी राजमार्ग, पूर्व पश्चिम रेलमार्ग र तराईको फाँटमा सिंचाई लगायतका पूर्वाधार पनि यही सरकारले निर्माण गर्ने दावी गरेका छन् । उनले देशमा संविधान वनिसकेको अवस्थामा तीन वित्ताको कालो टालो लिएर सीमामा आन्दोलन गर्न जानुको कुनै तुक नभएको वताए । सवैले अपनत्व लिने खालको संविधान देशमा वनेको वताउँदै उनले यो संविधान कार्यान्वयनको दिशा तर्फ सरकार अगाडि वढेको वताए । एकीकृत नेकपा माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा क्षेत्रीय विमानस्थल शिलन्यासको काम अहिले आएर भएपनि यसको प्रकृयाको सुरुवात आफू गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री हुँदाको बखत नै सुरु भएको वताए ।

उनले आफ्नो कार्यकालको सरकार ९ महिनामा नै ढल्छ भन्ने आफूलाई नलागेको बताउँदै सरकार नढलेको भए उतिवेलै विमानस्थल शिलन्यास भइसक्ने बताए । उनले मुलुकको परिवर्तनको लागि सवै दल मिल्नु अनिवार्य भएको जिकिर गरे । विगतमा स्वर्गीय गिरिजाप्रसाद कोईराला र आफूबीचमा संम्झौता हुँदै देश अग्रगतिमा वढेको स्मरण गर्दै उनले देशको परिवर्तनको लागि अहिलेका नेताहरुले पनि त्यो त्याग गर्नु पर्ने बताए । एमाले अध्यक्ष झलनाथ खनालले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शिलन्यास भएपछि समग्र मुलुकको आर्थिक रुपान्तरण हुने बताए । उनले पोखरेली जनताको धैर्यता र साहसको उपज विमानस्थल भएको दावी गरे । नेपालमा भएका प्राकृतिक सम्पदाको सही सदुपयोग गर्नको लागि पनि विमानस्थल सार्थक सिद्ध हुने उनको भनाई छ । उपप्रधानमन्त्री विजयकुमार गच्छेदारले एक मधेश एक प्रदेश कुनै हालतमा कायम हुन नसक्ने वताए । उनले आफू मधेशी नेता भएपनि जायज कुराको मात्र पछि लाग्ने वताए । उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रत्येक नेपालीको अनुहारमा हाँसो नआएसम्म मुलुकमा परिवर्तन नहुने वताए । उनले विकासका पूर्वाधारमा राजनीति गर्न नहुने वताउँदै नेपालको संविधानमा कमीकमजोरी भएपनि उत्कृष्ट भएको दावी गरे । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोईरालाले कांग्रेस प्रतिपक्षी दल भएपनि विकास निर्माणका कार्यमा सकारात्मक भूमिका निर्वाह गर्ने वताए । नेपाल नागरिक उड्ययन प्रधिकरणका महानिर्देशक संजिव गौतमले २०३२ सालदेखिको पोखरेलीको सपना अव पूरा हुन लागेको वताए । इपीसी मोडेलमा निर्माण हुने विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटर लम्वाई र ७५ मिटर चौडाईको हुने उनले जानकारी दिएका छन् । विमानस्थल निर्माणको कूल लागत नेपाली २२ अर्व रुपैयाँ रहेको छ । विमानस्थल निर्माण सम्पन्न अवको चार वर्ष अर्थात् जुलाई २०२० मा सम्पन्न हुने प्रधिकरणले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप