शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लेनिन जयन्तीमा सबै माओवादी एकीकरण हुने : सचिव पुन

बुधबार, ०१ वैशाख २०७३, १९ : ३३
बुधबार, ०१ वैशाख २०७३
काठमाडौं – एकीकृत माओवादी सचिव वर्षमान पुनले सबै माओवादी एकीकरणको घोषणा लेलिन जयन्तीमा गरिने बताएका छन् । बुधबार गुल्मी–काठमाडौं संघीय जनसम्पर्क मञ्चले नयाँ ‘वर्ष २०७३ को अवसरमा राजधानीमा गरेको शुभकामना तथा रक्तदान कार्यक्रममा बोल्दै सचिव पुनले विगत वर्षमा बामपन्थी पार्टी एकीकरणको अभियान अन्तिम चरणमा पुगेको भए पनि सम्पन्न हुन नसकेको भन्दै लेनिन जयन्तीको अवसरमा घोषणा गरिने बताए । ‘सबै माओवादी पार्टीहरूबीच सैद्धान्तिक कार्यगत एकता भइसकेको छ, तर औपचारिक घोषणा भने लेलिनको जन्मदिनको सेरोफेरो पारेर सार्वजनिक गरिने तयारी छ’ उनले भने । नयाँ वर्षको शुभकामना दिँदै उनले २०७२ साल समग्रमा नेपालीहरूको लागि दुखद् भएको भए पनि जस्तोसुकै अवस्थाको पनि नेपालीहरू सामना गर्नसक्छ भन्ने उदाहरण प्रदर्शन गरेको दावी गरे । सचिव पुनले सरकारले भूकम्पपछिको पुनर्निर्माणमा उदासिन र बेखबर बनेको समेत आरोप लगाए । कार्यक्रममा भूकम्पमा परि दिवङ्गत भएकाहरूको सम्झनामा दीप प्रज्वलन र रक्तदान कार्यक्रमसमेत गरिएको थियो । रक्तदान कार्यक्रममा रक्तदाता सहिम शाहले एक सय पटक रक्तदान गरेको सञ्चका संयोजक शंकर भण्डारीले बताए । रक्तदाता शाहलाई प्रमुख अतिथी पुनले कदरपत्रसहित सम्मान गरेका थिए । कार्यक्रममा एमाओवादी नेताहरु हिमाल शर्मा, सुदर्शन बराल, यूवराज केसी, बुद्धि जिसिलगायतको सहभागिता थियो । नयाँ वर्षलाई सहयोग, समन्वय र ममताको वर्षको रुपमा मनाउने कामको सन्देश दिनका लागि धरहरा परिसरमा रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको सञ्चका अध्यक्ष शंकर भण्डारीले बताए । काठमाडौंमा बसेका गुल्मेलीहरुको मञ्चले स्वयं सेवा र मानविय धर्म अन्र्तगत विभिन्न सामाजिक काम गर्दै आएको छ । गतवर्ष भूकम्पपछि मञ्चले देशका विभिन्न स्थानमा पुगेर उद्धार र राहत वितरणको काम पनि गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप