शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

स्थानीय निकायको निर्वाचनको तयारीमा जुट्न नेता आचार्यको आग्रह

बिहीबार, ०२ वैशाख २०७३, ०७ : ३३
बिहीबार, ०२ वैशाख २०७३

मोरङ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले स्थानीय निकायको निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेपाली काँग्रेस गाउँ कार्यसमिति भौडाहाले नववर्षको उपलक्ष्यमा बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अब चाँडै स्थानीय निकायको निर्वाचन हुने भएकाले मतदाता नामावलीमा नाम नभएका र छुटेकाको नाम अद्यावधिक गर्ने कार्यमा लाग्न स्थानीय नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

देश सङ्घीयतामा गइसकेकाले अब गाउँपालिका निर्माणका लागि स्थानीयस्तरबाट जुट्न उनले आग्रह गरे । साथै नागरिकताको विषयमा अझै पनि मधेसका ग्रामीण क्षेत्रमा भ्रम हट्न नसकेकाले घर–घरमा गएर नागरिकताका विषयमा संविधानले व्यवस्था गरेको प्रावधानका विषयमा जानकारी गराउन उनले आग्रह गरे ।

पहिलो ग्रामीण नाट्यघरको उद्घाटन मोरङको झोराहाटमा देशमै पहिलो ग्रामीण नाट्यघरको बुधबार एक समारोहबीच उद्घाटन गरिएको छ । सो नाटक घरमा संसारकै सबैभन्दा ठूलो काठको हलो बनाएर प्रदर्शनमा राखिएको छ । जङ्गली सिमलको सिङ्गो रूखबाट बनाइएको यो हलो पन्ध्र फिट लामो छ । यसको जुवा पनि दश फिटभन्दा लामो बनाइएको छ । यसलाई उचाल्न नौजना मानिस चाहिन्छ ।

झोराहाट नाट्यघर प्रवेशद्वारमा यसलाई स्थापित गरिएको छ । कालो रङ्गको हलोको अनौ पनि निकै लामो छ । रङ्गकर्मी तथा वरिष्ठ कलाकारले एकसाथ नाट्यघर उद्घाटन गरेका हुन् । वरिष्ठ कलाकार हरिहर शर्मा, प्राध्यापक डा अभि सुवेदी, आरोहण गुरुकुलका संस्थापक तथा नाट्यकर्मी सुनिल पोखरेल, अमेरिकी नागरिक बरुस पारडोलले एकसाथ नाट्यशाला, डबली तथा नाट्य केन्द्रको उद्घाटन गरे । २२ लाख रुपैयाँको लागतमा नाट्यशाला निर्माण भएको हो । यसमा १२० जना बसेर हेर्न मिल्ने झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईंले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप