शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

तरुण दलको महाधिवेशन भदौमा

बिहीबार, ०२ वैशाख २०७३, ०६ : १४
बिहीबार, ०२ वैशाख २०७३

काठमाडौँ - नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलको चौथो केन्द्रीय महाधिवेशन आगामी भदौ २४, २५ र २६ गते हुने भएको छ ।

मातृ पार्टीको केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णय पालना गर्दै हालै बसेको तरुण दलको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महाधिवेशन तयारीका लागि तरुण दलले हालसम्म २९ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ । कार्यतालिका अनुसार जेठ १० गते गाउँ र वडा, १२ गते नगर, २० गते क्षेत्रीय तथा २५ गते बाँकी रहेका जिल्लामा जिल्ला अधिवेशन हुनेछ ।

महाधिवेशनलाई सफल बनाउन तरुण दलले विभिन्न समिति गठन गरेको छ जसअनुसार अर्थ समिति संयोजकमा राधा घले, व्यवस्थापन समिति संयोजकमा कृष्णदत्त पनेरु, नीति, दृष्टिकोण कार्यक्रम निर्माण समिति संयोजकमा नारायणप्रसाद भट्टराई, प्रचारप्रसार समिति संयोजकमा मेदनीप्रसाद सिटौला, अतिथि सत्कार समिति संयोजक टेकराज पौडेल तथा स्वयम्सेवक समिति संयोजकमा विनोद पन्तलाई तोकेको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष उदय शमशेर राणाले भूकम्पपछिको पुनःनिर्माणमा ढिलासुस्ती भएको तथा सरकार स्वयम् लागेर कालोबजारी गरेको आरोप लगाउँदै त्यसविरुद्ध आन्दोलन गर्ने बताए । उनले यसअघि नाकाबन्दीको अवस्थामा सरकारको विरोध नगरेको भएपनि अब आफ्नो सङ्गठन चुप लागेर नबस्ने प्रतिक्रिया दिए ।

आठ वर्षपछि हुन लागेको महाधिवेशन हुने स्थान भने तोकिएको छैन । चाँडै केन्द्रीय समितिको बैठक बोलाएर छलफल गरेर ठाउँ तोकिने तरुण दलले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप