शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सुनयना राई : जसले जितिन् युएईमा २० करोडको चिठ्ठा

बिहीबार, ०२ वैशाख २०७३, १७ : २७
बिहीबार, ०२ वैशाख २०७३

युएई – मेरो नाम सुनयना राई हो । मेरो घर दार्जिलिङको सिँहामारी भन्ने ठाउँमा हो । म आजभन्दा ४ बर्ष अघि अर्थात् २६ मार्च २०१२ मा युएई आएकी हुँ । युएईको अबुधाबीस्थित स्वीस अरेबियन पर्फ्युम कम्पनीमा सेल्स प्रमोटरको रुपमा काम गर्दै आईरहेको छु ।

म आफु दार्जिलिङको भए पनि किन किन खै नेपालको पनि उत्तिकै माया लाग्छ । त्यही भएर होला मसँग नेपालका साथीहरु नै धेरै छन् । उनीहरुसँग म धेरै नजिकको जस्तो महसुस गर्छु । यहाँ मेरो रूम पार्टनर पनि नेपाली दिदी बहिनीहरु नै हुनुहुन्छ । नेपालको बारेमा त त्यति जान्दिन तर झापा हुँदै काठमाडौ चाँही पुगेको छु । नेपाल सुन्दर लाग्छ ।

मेरो घरमा बुवा, आमा, दाई र भाउजु हुनुहुन्छ । म घरकी कान्छी छोरी हुँ। दिदीको केही बर्ष पहिले नै बिबाह भइसक्यो । कान्छी छोरी हुनाले प्राय सबैले माया गर्नु हुन्छ । दाईको गत जनवरी महिनामा मात्र विवाह भएको हो । म उहाँको विवाहको लागि घर गएर भर्खरै आएको हुँ । हामी मध्यम बर्गिय परिवारका हौं । हामी साथीहरु मिल कहिले काही ‘बिग टिकट’ भाग्य चिठ्ठा किन्थ्यौं । यस् अघि पनि किनेका थियौ तर परेन । यसपाली चाँही सबै साथीहरुले मेरो नाम बाट किन्न अनुरोध गरे । ५०० दिर्हाम मुल्यको टिकट म एक्लैले किन्न सक्ने कुरा भएन । त्यसैले हामी ५ जना साथीहरु मिलेर यो छिठ्ठा किनेका थियौ । हामी ५ जनामा सुनिल लामा दाई काठमाडौको हुनुहुन्छ । अन्य साथीहरु उशा थापा मगर, आशा थापा मगर र मिना राइ चाँही झापाको हुनुहुन्छ ।

बिग टिकट किन्ने अन्तिम दिन थियो मार्च ३१ तारिक । साथीहरुले पहिले नै पैसा उठाएर मलाई चिठ्ठा किन्न दिएका थिए । खै किन हो किन मलाई चाँही त्यती जागर चलेको थिएन । साथीहरुले धेरै कर गरे पछि म ड्युटी जाँदा बाटोमा पर्ने अबुधाबी मलको सिटी टर्मिनलमा ओर्ले र ७ भएको नम्बर हेर्न थालेँ । मेरो लक्की नम्बर ७ हो । सानो हुँदा पनि ७ नम्बर भएको चिठ्ठाहरु जितेको थिएँ । यस् पाली पनि कता कता जित्छु कि जस्तो मनमा चाँही थियो । अन्तिममा ७ भएको ४५८८७ किने । नभन्दै भाग्य पनि त्यही टिकट भयो । मैले ७ मिलियन दिर्हाम (२० करोड रुपैयाँ) जिते ।

साधारणतय ५ मिलियन (५० लाख दिर्हाम) को हुने चिठ्ठा यसपाली भने ७ मिलियन (७० लाख) खुलेको थियो । पर्छ नै भन्ने त लागेको थिएन तर पर्‍यो । म मात्र भाग्यमानी हैन हामी सबै ५ जना नै भाग्यमानी भयौ ।

हो, हामीले हाम्रो भाग्य अनुसार चिठ्ठा त जित्यौ । हामी प्रत्येकको भागमा १४ लाख दिर्हाम (४ करोड रुपैयाँ) पर्न आउँछ । पैसा नै ठुलो कुरो पनि त हैन । त्यो देखी बाहेक मैले मेरो जिबनमा गर्नु पर्ने अरु पनि धेरै काम छन । भरखर त २५ बर्षको पुगेँ । जीवन लामो छ ।

साथीहरुले के गर्नुहुन्छ थाहा भएन तर म भने केही रकम च्यारिटीमा पनि खर्च गर्छु । त्यसो गरे भने मात्र म जीवनभर खुशी हुनेछु ।

(पत्रकार मेघराज सापकोटासँग भएको कुराकानीको आधारमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप