शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पुराना फाइल खोल्दै नवराज सिलवाल, तीस बर्षदेखि लुकेर बसेका भटाभट जेल !

शुक्रबार, ०३ वैशाख २०७३, १३ : ००
शुक्रबार, ०३ वैशाख २०७३

काठमाडौं–बिहिबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हेडक्वार्टर पुग्दा ब्युरो प्रमुख डिआईजी नवराज सिलवाल मकै–भट्मास खाँदै थिए । दुई महिनाअघि सिआईबीको प्रमुख बनेका सिलवाल आजभोलि कार्यालयमा मकै–मट्मास मात्रै चपाएर बस्दैनन्, बर्षौं अघिका फाइल खोलेर घोत्लिरहन्छन् । सिआइबीको प्रमुख बनेको छोटो समयमै २५ देखि २९ बर्षअघि अपराध गरेका र खुलेआम हिँडिरहेकाहरुलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएका सिलवाल आजभोलि पुराना फाइल खोल्ने अभियानमा छन् ।

जटिल र गहन प्रकृतिको अपराध अनुसन्धानका लागि स्थापना भएको केन्द्रीय अनुसन्धान ब्युरोले पछिल्लो दुई महिनाको अवधिमा बीस अर्षअघि ठमेलको रेगी पवमा इटालियन नागरिकको हत्या गरेर भागेका टासी गुरुङदेखि २९ बर्षअघि एघार वर्षीय बालक मारेर फरार भएका विष्णु बहादुर थापा सम्मलाई पक्राउ गरिसकेको छ ।

‘दण्डहीनताको अन्त्य गर्नु हाम्रो अभियान हो,’ डिआईजी सिलवालले भने, ‘विभिन्न बहानामा सजाय नपाउने, अनुसन्धानमा गतिरोध सिर्जना गर्ने र अदालतले सजाय तोकेपनि भागी–भागी हिँडने प्रवृत्तिको अन्त्य गर्न चाहन्छौं ।’

अदालतले दुई अरब पचास करोड जरिवाना तोकेपनि पदम बहादुर कुँवर भागी–भागी हिँडेका थिए, अन्ततः उनी सिआइबीको फन्दामा परे । अदालतबाट फैसला भएको तर कार्यान्वयन हुन नसकेको विषय कार्यान्वयनलाई टार्गेट बनाएका सिलवाले भने, ‘अनुसन्धान गर्नुपर्ने पुराना फाइलहरु धेरै छन्, त्यो हेर्दै छौं, अनुसन्धानरत जटिल केसमा पनि द्रुत गतिमा काम गर्दै छौं ।’

२९ बर्षअघि ११ बर्षिय बालक हत्या गरेका काठमाडौंको भद्रबास गाविसका विष्णु बहादुर थापालाई २०५० सालमा पुनरावेदन अदालत पाटनले दोषी ठहर गर्दै दुई बर्ष जेल र नगद जरिवाना तिराउने फैसला गरेको थियो । त्यसपछि फरार थापा २९ बर्षपछि गत महिना सिआइबीको फन्दामा परे ।

त्यस्तै राजधानीमा पटक–पटक मोटरसाईकल चोरी गर्दै आएका धन बहादुर लामालाई जिल्ला अदालत काठमाडौंले ०५७ सालमा करिब ८ बर्ष कैद र दुई लाख भन्दा बढी जरिवाना हुने ठहर गरेको थियो । उक्त कैद तथा जरिवाना बेहोर्नुको साटो भागी–भागी हिँडेका लामा १८ बर्षपछि गत महिना सिआईबीको फन्दामा परे । हाल उनलाई कैद भुक्तानीका लागि केन्द्रिय कारागारमा राखिएको छ । अपहरण मुद्दामा पुनरावेदन अदालत पाटनले २०७० सालमा ९ बर्ष कैद र पचार हजार जरिवाना तोकेका कर्ण बहादुर लामा गत चैत १२ गते सिआईबीको फन्दामा परे ।

त्यस्तै २१ बर्षअघि भएको कर्तब्य ज्यानका फरार अभियुक्त काठमाडौं दहचोकका रामहरी परियारलाई पनि गत महिना सिआइबीले पक्राउ गरेको थियो । ०५५ चैतमा सर्वोच्चले रामहरीलाई पाँच बर्ष कैद सजाय तोकेको थियो । विवाहमा जाँदा मुर्ति भाँचेको निहुँमा गाडीको लिभरले हानेर उनले धु्रवे परियारलाई घाईते बनाएका थिए । उपचारको क्रममा ध्रुवे परियारको मृत्यु भएको थियो । दिनभर भेटघाटमा ब्यस्त रहने सिलवाल सहितका सिआईबीका अधिकारीहरु साँझ पाँच बजेबाट अनुसन्धानमा जुट्ने गरेका छन् ।

‘साँझ ५ बजेपछि राती अवरेसम्म कार्यालयमा बसेर काम गर्छौ’, इन्सपेक्टर रुगम बहादुर कुँवरले भने, ‘साँझ परेपछि अपराधीको गतिविधि नियाल्न थाल्छौं, टासी गुरुङलाई पक्राउ गर्नुअघि विहान बिहान चारबजेसम्म लगातार अनुसन्धान गर्यौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप