शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

छोरीले नै आमाको बिहे गरि दिएपछि ...

शनिबार, ०४ वैशाख २०७३, १५ : ५१
शनिबार, ०४ वैशाख २०७३

झापा– आमा बुबाले आफ्ना छोराछोरीको विवाह गरिदिएको तपाई हामी सबैले देखेका छौँ तर आफैँले जन्माएकी छोरीले आमालाई अन्माइनभन्दा तपाईलाई पत्यार नलाग्न सक्छ ।

यो यथार्थ घटना झापाको बिर्तामोड नगरपालिकाको हो । बिर्तामोड नपा–७ बिर्तामोड निवासी ३७ वर्षीया अम्बिका कार्की शिवाकोटीको विवाह छोरी १८ वर्षीया अप्सना शिवाकोटीले गरिदिएकी हुन् । भारतको राजस्थानका प्रकाश राहुल खटवानीसँग अप्सनाले आमा अम्बिकाको विवाह गरेर आज अन्माइदिएकी छन् । एक वर्षअघि सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरुको चिनजान भएपछि उनीहरुको प्रेम झाङ्गिँदै गएको थियो ।

अप्सनाले आफ्नी आमा र प्रकाशबीचको प्रेम सम्बन्ध बढ्दै गएको थाहा पाएपछि सामाजिक परम्पराअनुसार शुक्रबार झापाको शनिअर्नुन नगरपालिकामा रहेको पूर्वको पशुपतिनाथका नामले परिचित अर्जुनधारा जलेश्वरधाममा आमाको विवाह गर्दै अन्माएकी हुन् । धाम परिसरमा अप्सनाले हिन्दू संस्कारअनुसार नै आमा अम्बिका र प्रकाशबीचमा विवाह गराएपछि हेर्नेको घुइँचो लाग्यो ।

सामाजिक सङ्घसंस्थामा सक्रिय अम्बिका अहिले वीरता लेडी जेसीज बिर्तामोड, गोदावारी समाजलगायत थुप्रै सङ्घसंस्थामा आबद्ध छिन् । सामाजिक क्षेत्रकी अगुवा अम्बिकाको विवाह छोरीले गर्दैछिन् भन्ने सुनेर धाम परिसरमा धेरै स्थानीयवासीको उपस्थिति थियो । आफ्नै विवाह गर्ने उमेरमा किन गरिन् त आमाको विवाह अप्सनाले रु धेरै जनाको प्रश्नको सहजै हाँसीहाँसी उत्तर दिँदै अप्सनाले भनिन्– “आमालाई गाह्रो नहोस् भनेर मैले आमाको विवाह गरिदिएकी हुँ ।”

अम्बिकाको विवाह २०५३ सालमा बिर्तामोड निवासी खगेन्द्र शिवाकोटीसँग भएको थियो । तर उनीहरुको दाम्पत्य जीवन धेरै दिन टिक्न सकेन । विसं २०६७ मा खगेन्द्रको आफ्नै घरको छतबाट खसेर मृत्यु भएपछि अम्बिका र अप्सना मात्र घरमा बस्दै आएका थिए ।

अक्थ्थोलोजी नेत्र रोग विशेषज्ञ अध्ययनको सिलसिलामा अप्सना पनि भारतको बैङ्लोरमा अध्ययनका लागि गएपछि अम्बिका पछिल्लो समय एक्लै बस्दै आएकी थिइन् । बिर्तामोडमा नै व्यवसाय सञ्चालन गर्दै आएकी आमालाई म अध्ययन गर्न भारत गएपछि असहज नहोस् भनेर आमा र मेरो सल्लाहमा नै मैले उनको विवाह गरिदिएकी हुँ अप्सनाले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप