शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘मधेसको माग सम्बोधन भएको छ’ : अध्यक्ष प्रचण्ड

शनिबार, ०४ वैशाख २०७३, १६ : ३६
शनिबार, ०४ वैशाख २०७३

जुम्ला– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तत्काल काँग्रेस नेतृत्वमा सरकार बन्ने कुनै आधार नभएको स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपाल जुम्लाद्वारा आज आयोजित साक्षात्कारमा उनले भने, “काँग्रेसले गिराउँदैमा सरकार गिर्दैन । यो सरकार संसद्को बहुमत र जनताको म्यान्डेटबाट बनेकाले कसैले गिराउँदैमा गिर्ने, कसैले ढाल्दैमा ढल्ने खाले होइन । सरकारले जनताको चाहनाअनुसार काम गरेरै छाड्छ । अब काँग्रेसलाई सरकारमा सहभागी गराई राष्ट्रिय स्वरुप दिने विषयमा छलफल अघि बढ्छ । त्यसका लागि म पहल गर्छु ।”

नेता दाहालले थपे, “अहिले काँग्रेससँग यो सरकारमा सहभागी हुनुको विकल्प छैन । काँग्रेसले पनि यही सरकारमा आएर संविधान कार्यान्वयनमा सहयोग गर्नुपर्छ ।”

उनले संविधान घोषणा गर्न एक भएका प्रमुख राजनीतिक दल यसको कार्यान्वयनका लागि पनि एक हुन आवश्यक रहेकामा जोड दिँदै प्रमुख प्रतिपक्षी दल काँग्रेस सहित मधेसवादी दल एकै थलोमा आएर सहमतिमा संविधान कार्यान्वयनका लागि ऐन बनाउनतर्फ आफूलाई केन्द्रित गर्नुपर्ने बताए ।

उनले भने, “मधेस आन्दोलनले उठाएका केही माग सम्बोधन भएको छ । बाँकी असन्तुष्टिको विषयमा संवादमा बसेर समाधान गर्न सकिन्छ । त्यसका लागि हामी खुल्ला छौँ ।”

पूर्वप्रधानमन्त्री दाहालले आगामी बजेट तथा कार्यक्रममा कर्णालीलाई सम्बोधन कसरी गर्न सकिन्छ भन्ने बारेमा बुझ्न आफू कर्णाली भ्रमणमा आएको जानकारी दिँदै कर्णालीको समग्र विकासका लागि विशेष ध्यान दिइने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप