मधेसका दर्जनौं कार्यक्रममा पुगेर डा. भट्टराईले भने, ‘नाकाबन्दी सीमामा होइन, सिंहदरबारमा गर्नुपर्छ’
सिरहा – मधेस जागरण अभियानमा मध्य मधेस झर्नुभएका नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई शनिबार एकैदिन एक दर्जभन्दा बढी कार्यक्रममा सहभागी भएका छन् । सप्तरीको नवौंबाट सुरु भएको जागरण सभाहरु सम्बोधन गर्दै सिरहामा रातिसम्म कार्यक्रममा सहभागी थिए ।
सप्तरीको हरिरब्बा ५ रायोपुर शनिबार बिहान आयोजित स्थानीय भूमिहिनहरुसँगको छलफलमा उनले भूमिहिन जनतालाई भूमिको अधिकार सुनिश्चित गर्ने जिम्मेवारी राज्यको भएको बताए । उनले पुराना राजनीतिक दलहरुले बोलेको कुरा नगरेर जनता ढाँट्ने गरेको भन्दै जनता आफैं सचेत हुने बेला आएको धारणा राखे ।
रायोपुरबाट सप्तरीकै छपकी भटौल पुग्नुभएको संयोजक भट्टराईले जागरण सभालाई सम्बोधन गर्दै पहिचान र अधिकारकोलागि आन्दोलनसँग आर्थिक समृद्धिको लागि काम गर्नुपर्नेमा जोड दिए । सधैं बन्द हड्ताल मात्रै गरेर गरिब जनताले नै दुःख पाउने गरेको भन्दै उहाँले अबको संघर्ष सिंहदरबार केन्द्रीत हुनुपर्ने बताए ।
‘नाकाबन्दी गर्दा गरिब जनता नै मारमा पर्छन्, सिंहदरबारका शासकलाई केही हुँदैन, उनीहरु जहाजबाट ल्याएर पनि खान्छन्,’ उनले भने, ‘अब आन्दोलन नै गर्नुपर्ने सिंहदरबार घेर्न जानुपर्छ, जसले शासकहरुले दुःख पाउँछन् र जनताको पक्षमा परिणाम आउँछ ।’
सप्तरीको जमुनी मरेपुरा ८ मा तेस्रो कार्यक्रमलाई सम्बोधन गर्न पुगेको संयोजक भट्टराईले सहिद कृष्णदेव यादवको गाउँमा आउन पाउँदा निकै खुसी लागेको बताए । ‘बाह्रै महिना सिंचाई गर्दै कृषिलाई आधुनिकीकरण गरेर तराईमा सुन फलाउनुपर्छ,’ स्थानीयसँग अन्तरक्रिया गर्दै उहाँले भनेो, ‘अधिकार र पहिचान प्राप्त भएपछि पनि यसले पेट भरिँदैन, आर्थिक विकास र समृद्धि बिना कसैको पनि भविष्य उज्जज हुँदैन ।’
चौथो कार्यक्रमको रुपमा सप्तरीको मलेखपुर ५ खुरहुरिया पुग्नुभएको संयोजक डा.भट्टराईले बेरोजगारीका कारण छिमेकी र अन्य मुलुकमा रगत र पसिना बगाउनुपर्ने अवस्थाको अन्त्य गर्नु नयाँ शक्तिको प्रमुख लक्ष्य भएको स्पष्ट पारे । ‘बेरोजगारीको अन्त्य गर्दै मुलुकलाई समृद्ध बनाएर मात्रै हामीले राजनीतिक अधिकारहरुलाई सुनिश्चित गर्न सक्छौं,’ उनले स्पष्ट पारे ।
नयाँ शक्तिले वैशाखभरी सदस्यता विस्तार गर्ने जेठको अन्तिममा पार्टी घोषणा गर्न लागेको भन्दै उहाँले सबैलाई संस्थापक सदस्य बन्न आह्वान गरे । ‘पुराना पार्टी र दुई चार जना मानिसहरु मिलेर बनाए, हामी नयाँ शक्तिलाई लाखौं संस्थापक सदस्य भएको पार्टी बनाउन चाहन्छौं,’ उनले बताए ।
सप्तरीको बोदे बर्लान स्थित चन्द्रा उच्च माविमा आयोजिक अर्को कार्यक्रममा बोल्नै भट्टराईले शासकहरुले मधेसीलाई हिनताबोध गराएको बताए । ‘मधेसीलाई नेपाली होइन भनेर हिनताबोध गराइएको छ, तर राजधानीको सभ्यता निर्माण गर्ने र नेपालको संस्थापक नै मधेसी हुन्,’ उनले भने, ‘अहिले तपाईहरुलाई राष्ट्र नै नभएको जस्तो बनाइएको छ ।’ उनले अब मधेसीको मात्र आन्दोलनले भन्दै सबैको साझा आवाजबाट अधिकार प्राप्त गर्न सकिनेमा जोड दिए । शासकहरुले विदेशीको हौवा पिटेर निक्कमा सरकारको आयू लम्ब्याउन खोजकोप्रति जनता सचेत रहनुपर्ने बताए ।
‘प्रचण्डलगायत नेताहरु मधेसमा आएर चर्का कुरा गर्नुहुन्छ, तर काठमाडौंमा गएर पुराना शासकसँग लम्पसार पर्नुहुन्छ,’ उनले भने, ‘तर मेरो इतिहास जहिले पनि उत्पीडितको पक्षमा छ ।’ मधेसी दलहरुले पनि संविधान नमान्ने भन्ने तर सत्ताको दौडमा पनि जाने र भत्ता पनि खाइरहने अनैतिक काम गरिरहेको बताए ।
सिरहाको भगवानपुर २ मा आयोजित अर्को कार्यक्रममा नेता भट्टराईलाई स्थानीयले भव्यतापूर्वक स्वागत गरेका थिए ।
उनले तराईको कृषिको आधुनिकीकरणमार्फत बेरोजगारीको अन्त्य गर्नुपर्नेमा जोड दिए । स्थानीयसँग अन्तरक्रिया गर्दै उनले संविधान बन्नु खुसीको कुरा भए पनि सबैले स्वामित्वबोध गर्न नपाउनु दुःखको कुरा भएको बताए । आउँदा दिनमा तीनवटा क्लस्टरले पालैपालो मुलुकको शासकीय सत्ता चलाउन पाउनुपर्ने र सरकारमा पनि क्लस्टरका आधारमा एक तिहाई सहभागिता सुनिश्चित गरिनुपर्नेमा जोड दिए ।
‘मधेसीहरुले हिमाल पहाड र तराई जोड्न भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘यहाँ मधेसीले मधेसी पार्टी चलाउने र पहाडकाले पहाडीको मात्रै पार्टी चलाउने अवस्थाको अन्त्य गर्नुपर्छ ।’ उनले नयाँ शक्ति हिमाल, पहाड र तराई सबैले अपनत्व महसुस गर्न सक्नेगरी निर्माण गरिने बताए ।
कार्यक्रममा बोल्दै नयाँ शक्तिका युवा नेता पासाङ शेर्पाले मधेसीलाई धोती भन्ने तर प्रशान्त तामाङको उत्सवमा विजय मनाउने हाम्रो अभ्यासले राष्ट्रियता बलियो हुन नसक्ने बताए ।
सिरहाको बरियापट्टीमा भएको अर्को अन्तरक्रिया कार्यक्रममा नेता भट्टराईले आफूले नयाँ संविधन बनाउन कम्मर कसेर नलागेको भए यत्तिको संविधान पनि नबन्ने बताए । ‘यहाँ ०४७ सालको संविधान ब्युँताउने प्रयत्न भइरहेको थियो,’ उनले भने, ‘कम्तीमा त्यसलाई रोकेर आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गरिएको छ ।’ उहाँ संविधानमा अपुग कुराहरुलाई संशोधनमार्फत पूर्ण बनाउनुपर्नेमा जोड दिए ।
उनले संविधान संशोधनबाट प्रत्यक्ष राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने भन्दै पुरानो संसदीय व्यवस्थाले राजनीतिक अस्थिरता थप मौलाउने चिन्ता व्यक्त गरे ।
उनले एउटा फरक प्रसंगमा नयाँ शक्तिमा भ्रष्टाचारी, व्यभिचारी र अपराधी नअटाउने तर पुराना पार्टीका राम्रा मान्छेहरु अटाउने स्पष्ट पारे ।
नवौं कार्यक्रम सुरु हुनुभन्दा अगाडि संयोजक भट्टराईले दिउँसो २ः३० बजे बिहानको खाना खानुभएको थियो । चप्पल लगाएर जागरण सभामा हिडिरहेका नेता भट्टराईले सिरहाको औरही ९ मा पुगेर २०६९ जेठ २ गते ४७६ घर जल्नेगरी भएको आगलागीमा आफू प्रधानमन्त्री हुँदा त्यहाँ आएको स्मरण गराए ।
अन्तरक्रियामा बोल्दै उनले पुराना पार्टीहरुले बुढी गाईजस्तै भएकाले उनीहरुलाई सम्मान मात्र गर्न सकिने तर दूध नदिने बताए । आफ्नो समयमा सबै राजनीतिक दलहरुले काम गरेको भन्दै अब नयाँ सन्दर्भमा पुराना दलहरुको सान्दर्भिकता सकिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण