शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सुन्दरीजल–गोसाइँकुण्ड पर्यटन मार्ग निर्माणमा श्रम अभियान चलाइने

शनिबार, ०४ वैशाख २०७३, १५ : २१
शनिबार, ०४ वैशाख २०७३
काठमाडौँ– धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण रसुवाको गोसाइँकुण्डमा काठमाडौँको सुन्दरीजलबाट मोटरबाटो पु¥याउन श्रम अभियान सञ्चालन गरिने भएको छ । वैशाख १८ देखि २० गतेसम्म सुन्दरीजलबाट जनताको सहभागितामा श्रम अभियान सुरु गर्ने निर्णय आज सुन्दरीजलमा आयोजित विकासका लागि जनताको छलफल कार्यक्रमले गरेको हो । कार्यक्रम काठमाडौँ ३ नं क्षेत्रबाट निर्वाचित सांसद रामेश्वर फुयाँलको सक्रियतामा आयोजना गरिएको थियो । काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी चार जिल्ला छुने १०० किमी लम्बाइको यो पर्यटकीय मार्ग निर्माणका लागि आव २०७१÷७२ र चालु आवमा रातो किताबमा रहेको यो योजनालाई काठमाडौँ र सिन्धुपाल्चोक जिविसले पनि योजना बजेट छुट्याएको फुयाँलले बताए । जोरपाटी–सुन्दरीजल–मूलखर्क–चिसापानी हुँदै कुटुम्साङसम्म सडक निर्माण गर्ने योजना छ । कुटुम्साङबाट गोसाइँकुण्डसम्म पदमार्ग निर्माण गरिनेछ । गोसाइँकुण्ड मार्ग नाम दिइएको यो सडक काठमाडौँको जोरपाटीबाटै सुरु भए पनि जोरपाटीदेखि सुन्दरीजलसम्म पक्की सडक भएकाले सुन्दरीजलबाट जनताको सहभागितामा श्रम अभियान सुरु गर्न लागिएको हो । छलफलमा सहभागी स्थानीयवासीले यो योजनालाई प्राथमिकता प्राप्त योजनामा समावेश गरिनुपर्ने माग गरे । सडकको सुन्दरीजलभन्दा माथिको भाग शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने र निकुञ्जको सुरक्षार्थ सेना पनि राखिएकाले अभियानमा सेनालाई पनि सहभागी गराउन उपप्रधान एवम् रक्षामन्त्री भीम रावललाई ज्ञापनपत्र बुझाइएको सांसद फुयाँलले जानकारी दिए । भेलाले ११ सदस्यीय सुन्दरीजल विकास निर्माण समन्वय समितिको समेत गठन गरेको छ । निकुञ्जभित्र पर्ने काठमाडौँको दुर्गम मूलखर्क, चिलाउने र ओखरेनी भेगका स्थानीयवासीको छलफलमा सहभागिता थियो । छलफल कार्यक्रममा मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दवाडी, गोकर्णेश्वर नगरपालिका वडा नं १, २ र ३ का संयुक्त वडा सचिव राजकुमार श्रेष्ठ, सडक डिभिजन कार्यालय काठमाडौँ र वडा नागरिक मञ्चका प्रतिनिधिलगायतको उपस्थिति थियो । मार्गको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन निर्माण अन्तिम चरणमा पुगेको जानकारी पनि सो अवसरमा गराइएको थियो । चालु आर्थिक वर्षमा यो मार्गका लागि केन्द्रीयस्तरबाट रु एक करोड बजेट छुट्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप