धुर्मस–सुन्तलीलाई गोरु बेचेर सुकुम्बासीले दिए चर्पी उपहार
महोत्तरी–तराई–मधेसका जिल्लामा मानिसहरु खुल्ला स्थानमा दिसापिसाब गर्छन् । चर्पी बनाउन मान्दैनन् । तर, अब ती भनाईहरु इतिहासमा सीमित हुने अवस्थाको सिर्जना भएको छ । धुर्मस–सुन्तली जस्ता समाजिक अभियन्ताहरुको फैलाएको सरसफाइको सकारात्मक सन्देशबाट प्रभावित भएर महोत्तरीको बर्दिबास नगरपालिकास्थित किसानगर–७ का पदमबहादुर मिरिङचिङले एक हल गोरु बेचेर चर्पी बनाएका छन् । पछिल्लो समय नेपाल सरकारले धुर्मस–सुन्तलीलाई सरसफाइ दुतका रुपमा नियुक्त गरेका छन् । सरसफाइका दुत धुर्मुस–सुन्तली र नेपाल सरकारले थालेको सरसफाई अभियानलाई सफल पार्न मगरले एक हल गोरु बेचेर चर्पी बनाएका हुन् ।
एक हल जोतेर मगरले घरगुजारा चलाउँथे । पदमको आम्दानीको मुख्य स्रोत भनेको एक हल गोरु नै थियो । अरुको खेत ठेक्कामा लिएर खनजोत गरि जीविको पार्जन गर्थे । चर्पीमै अब दिसा पिसाब गर्नुपर्छ भन्ने सरसफाइको सन्देश उनको मनले छोएपछि चर्पी बनाउन एक हल गोरु ५५ हजारमा बिक्री नै गरे ।
अरुको खेतमा फुर्सदको समयमा उनले काँधमा हलो बोकर जोत्न जान्थें । दिनको पाँच सय रुपैयाँ आउँथ्यो । त्यसबाट आएको रकमबाट मगरले आफ्नो १४ जना जहान पाल्थे । दैनिक हात मुख जोड्ने आम्दानीे स्रोतको सबैलाई अलि बढि माया लाग्छ । यस्ता स्रोत हतपत कसैले मास्दैनन् । तर उनले चर्पी बनाउनको लागि हातमुख जोड्ने परिवार चलाउने (हात खुट्टा ) एक हल गोरु १ बर्ष पहिला बेचेका छन् । सुन्दा अच्चम लाग्छ तर, कुरो सत्य नै हो ।
गोरुको रकमले उनले मज्जाको चर्पी बनाएका छन् । जुन ठाउँमा पहिले सुँगुरको खोर थियो । त्यो ठाउँमा पदमले पक्की चर्पी बनाएका छन् । चर्पी बनाउन ठाउँको अभाव भएपछि सुँगुरको खोर भत्काएर इज्जत र पहिचानको लागि आफूले चर्पी बनाएको उनी बताउँछन् ।
‘चर्पी बनाउन गाउँमा हल्लिखलि गर्न सरसफाइका अभियन्ता स्थानीय विन्देश्वर साह सहितमा छिमेकीहरु घरमा आए,’ ५५ वर्षीय पदमले हाँस्दै खुसी भएर भने,‘ सबै कुरा बुझे । चर्पी बनाउन खाल्टो खनियो । रुपैयाँ पैसा हातमा त्यति खेर थिएन । पहिला घरमा पालेको एउटा खसी ७ हजारमा बिक्री गरेँ ।’ ६ वटा रिङ्ग र एक ट्रयाक्टर ढुङ्गा ल्याउँदैमा खसी बिक्री गरेको रुपैयाँ सकेको उनले आफ्नो वृत्तान्त सुनाए ।
खाल्टोमा रिङ्ग हाले । तर, उनको हातमा चर्पी बनाउन त्यस समयसम्म पनि रुपैयाँ कहिँबाट आएन । हातमा रकम नहुदाँ पनि मगरको मन थामेन । चर्पी बनाउनकै लागि उनले दोस्रो चरणमा गोठमा पालेको अर्को बोका ५ हजार बिक्री गरे । खोलाबाट बालुवा र सिमेन्ट ल्याए । चर्पीको गारो (वाल) जोड्नको लागि सिमेन्टको ब्लक बनाए । घरका सबै जहान चर्पीको ब्लक बनाउनमा जुटे । यति काम गर्दासम्म बोको बेचेको पनि रकम सिधियो । उनी फेरी समस्यामा परे । उनले भने, ‘चर्पीको निर्माण सम्पन्न गरु त्यतिखेर हातमा रकम थिएन । नगरु इज्जतको सवाल छ ।’ घर बनाउन नसक्दा पनि चर्पी अलि राम्रो बनाउ भन्ने भावना उनमा पालायो ।
खुल्ला स्थानमा दिसा पिसाब गरेपछि समाज र परिवारमा पर्ने असरबारे मगरले राम्रो बुझेका छन् । ‘रोग लाग्नुभन्दा रोग लाग्न नै नदिनु बुद्धिमता’ भने झैँ उनले चर्पीको महत्वपछि चर्पीको निर्माण कार्य सम्पन्न गर्न अन्तः एक हल गोरु नै बेचे । एक हल गोरु बिक्री गरेर आएको रुपैयाँले उनले फेरी चर्पीको सरसमान सर्जाम गरे । बजारमा सिमेन्ट, छड, प्यान, पाइप र घर नजिकैको रातु खोलाबाट बालुवा ढुवानी गरेर ल्याए । चर्पी बनाउन कामदार खोजे । चर्पी बनाउन घर जहानसहित अरुभन्दा छिट्टै चर्पी बनाउन लागि परे । इष्ट मित्र र छिमेकीले चर्पी बनाउन मगरलाई मद्दत गरे । यी गर्दासम्म एक हल गोरु बेचेको ५५ हजार रुपैयाँ सकियो ।
चर्पीको छत ढलान कार्य गर्दा गाउँघरमा कामदारलाई मासु खुवाउनुपर्ने चलन छ । ढलाक कर्यालाई शुभ कार्य मानिन्छ । मिठो मसिनो खाने र खुवाइने चलन छ । त्यो चलनले पदमलाई पनि छोडेन । कामदारलाई मासु व्यवस्था गर्न घरमा पालेको एउटा लोक भाले १ हजार १ सयमा बिक्री गरे । तीन जना कामदार र चर्पी बनाउन खटिएका घरका जहानहरुलाई मासु खुवाउनलाई घरमा पालेको कुखुराले नपुग्ने भएपछि पदमले एउटा जुक्ति लगाए । त्यो भाले बिक्री गरेर ६ केजी बुवाइलर कुखुराको मासु ल्याएर सबै जना मिलेर चर्पीको छतको ढलान कार्य सकेर रमाइलो गरेर खाजा खाए ।
‘मैले गाउँमा गोरु बेचेर चर्पी बनाएर पछि अरुले चर्प बनाउन थाले,’ पदमले भन्नुभयो ,‘मलै नै पहिलो चर्पी बनाए । गाउँमा कहि फोहर छैन । स्वच्छ र सफा छ ।’उनको आफ्नो नाममा एक धुर जग्गा छैन । घर बनाएर बसेको जग्गा प्राप्तिको लागि जमिन्दरसंग लडिरहेका छन् । बर्षैदेखि घर बनाएर बस्दै आएको जग्गा गाउँका जमिन्दारले मेरो हो भन्दै सर्वोच्चमा उनी लगायत १२ जना सुकुम्बासी विरुद्ध मुद्दा हालेका छन् । पदमलाई आफु बसेको जग्गाको लालपुर्जा हर्ने सपना छ । ‘चन्दा उठाएर पदम लगायतले जमिन्दार विरुद्ध दुई बर्षदेखि मुद्द लढिरहेका छन् ।’एक स्थानीय पर्शुराम ठाकुरले भने ।
यसका बाबजुद उनले आम्दानीका स्रोत बिक्री गरे चर्पी बनाउने गरेको आँटको सबैले खुलेर प्रशांसा गर्ने गर्छ । करीब ७५ हजार रुपैया खर्चेर उनले चर्पीसँगै नुहाइधुवाइको लागि स्नान घर (बाथरुम)पनि बनाएका छन् । उमेर करीब ५८ बर्ष पुगेका पदम बहादुरलाई चर्पी बनाउन एक हल गोरु बेचेकोमा अहिले एकरती पनि चिन्ता छैन । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितबाट गाउँमा अनुगमन गर्न पुग्दा चर्पीको ढोका खोल्दै भने, ‘हामी निरोगी रह्यो भने अबको केही महिनामा एक हल गोरु सहजै किन्न सक्छौ ।’
इनार सुक्न आँट्यो, कसरी खाने पानी ? पदमका छिमेकी बुद्धिमान सुनवारले खेतको धान र गोठमा पालेको खसी बिक्री गरेर उनले पनि घरको आगनमा ७६ हजारमा पक्कि चर्पी बनाएका छन् ।उनी पनि सुकुम्बासी नै हुन् । चर्पीको निर्माण काम सम्पन्न गर्न छोरोले पनि कमाएर ल्याएको रुपैयाँ सहयोग गरेका छन् । उनी भन्छन्, ‘इनार सुक्यो, इनारमा डोल डुबदैन ।कसरी खानेपानी खान र कसरी चर्पी प्रयोग गर्न गाउँलेलाई समस्या भइरहेको छ ।’
अब खोले चर्पी होइन, अब कोठे चर्पी सरसरफाईको बारेमा चेतना मानिसहरु बाहिर दिसा पिसाब गर्थे । घरमा चर्पी नहुदा एक किलोमिटर टाढा खोलाको किनारमा खुल्ला दिसा पिसाब गाउलेहरु जान्थे तर अब त्यो अवस्थालाई इतिहासका सीमित गराउन सफल भएको गाउँलाई खुल्ला दिसामुक्त बनाउन सहजकर्ताको भुमिकमा रहेको रतौली युवा क्लवका अध्यक्ष बैद्यनाथ चौधरीले बताए । उने भने,‘ अब खोले चर्पी होइन , अब कोठे चर्पीमा, गाउँलेहरु दिसापिसाब गर्छन ।’अहिले सबैले घरघरमा चर्पी बनाएका छन् । खनाखनु अघि चर्पीबाट निस्किएपछि गाउँलेहरु साबुन पानीले हात धुन सिकेका छन् ।
सरसफाइको सन्देश बुझेपछि सोचेको भन्दा गाउँले राम्राराम्रा चर्पी बनाए जर्किन र लोटा बोकेर खोलाको किनार दिनहुँ धाउने चलन अय किसाननगरमा समाप्त भएको छ । सबै गाउँले सरसफाईको सन्देश बुझे । गाउँलाई खुल्ला दिसामुक्त बनाउन १९ महिनादेखि निरन्तर काम गरिरहेका रतौली युवा क्लवका सरसफाई अभियन्ता पुजनारायण साहले भने,‘सरसफाईको महत्व बुझाउन हामीलाई पहिला धेरै कठिनाई भयो ।तर सरसफाई बारे बुझेपछि गाउँलेहरुले हामीले सोचेको भन्दा राम्राराम्रा चर्पी बनाएका छन् । ’
सुकुम्बासी बस्तीमा स्वच्छ खानेपानी पु¥याउछौं जिल्ला खानेपानी तथा सरसफाई कर्यालय महोत्तरीका प्रमुख देवेन्द्र झाले चर्पी बनाउन इच्छा शक्ति भए चर्पी बनाउन सजिलो रहेको बताए । उनले भने,‘ चर्पी बनाउन सकारात्मक सोंचको आवश्यकता हुन्छ । हामीले मान्छेको दिमागमा चर्पी बनाउन सके घर आगनमा सहजो चर्पी निर्माण र प्रयोग गरेको हामी देख्न सक्छौ । ’ सुकुम्बासी बस्तीमा स्वच्छ खानेपानी पु¥याउने प्रमुख झाले प्रतिबद्धता जनाएका छन् ।
मधेस आन्दोलनकै बीचमा सरसफाइको आन्दोलन चलाइयो किसाननगर अर्थात पदम बसोबास गर्नेे साविकको किसानगर गाविस बैशाख १२ गते खुल्ला दिसामुक्त क्षेत्र घोषण हुदैंछ । १९ महिना पहिले किसाननगरमा सरसफाई अभियान संचालन गर्नु भन्दा पहिला कुल १ हजार ६६८ घरधुरी मध्ये ३८२ घरधुरीमा चर्पी निर्माण भइसकेको थियो । अभियानको क्रममा १ हजार २८६ नयाँ चर्पी निर्माण भएको बर्दिबास नगरपालिकाको किसाननगरका वर्डा सचिव पर्शुराम थापाले बताए । उनले भने,‘६ महिने मधेश आन्दोलनले हाम्रो सरसफाई अभियान प्रभावित भयो । बन्दको बीचमा पनि सरसफाइको चेतना मुलक आन्दोलन टोलटोलमा चलाएर गाउँ नै खुल्ला दिसामुक्त गराउन सफल भयो ।’
बर्दिबास नगरपालिका मिथिलाको पहिलो खुल्ला दिसामुक्त नगरपालिका घोषणा हुँदै सरसफाइको दृष्टिकोणबाट दुई नम्बर प्रदेशको ८ जिल्ला निकै पछाडी परेको सरकारी तथ्याँकले देखाइ रहँदा महोत्तरीको बर्दिबास नगरपालिका बैशाख २० गते भित्रमा मिथिलाको पहिलो खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम रहेको बर्दिबास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीले बताए । उनले भने,‘ साविकको माइस्थान गाविसको कुल २ हजार १९६ घरमा चर्पी बनेको हामीले अनुगमन गरेर लिष्ट पाइसकेका छौं । यो संगै बर्दिबास नगरपालिका खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन्छ ।’ बर्दिबास नगरपालिकाको साविकको गाविसहरु बर्दिबास, गौरीबास , माइस्थान र किसाननगर मध्ये गौरीबास र बर्दिबास यसअघि खुल्ला दिसामुक्त क्षेत्र घोषण भइसको छ । किसानगर बैशाख १२ गते खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुने भएका छ ।
बर्दिबास नपा खुल्ला दिसामुक्त क्षेत्र हुने भएपछि धुर्मुस–सुन्तली दंग महोत्तरीको खुल्ला दिसामुक्त क्षेत्रको अवस्था बारे बुझन राजमार्ग केन्द्रीत सरसफाई क्रम लिएर हास्य कालाकार, समाजसेवी तथा सरसफाइका दुत धर्मुश —सुन्तली पौषको दोश्रो २०७२ मा महोत्तरीको बर्दिबास आएका थिए । उनीहरुले बर्दिबासको गौतम होटलको सभा कक्षमा सर्लाही, महोत्तरी र धनुषा गरि तीन जिल्लाका नगरपालिका र जिल्ला स्तरका सरोकारवालाहरुसंग अन्तक्र्रिया गरेका थिए । उनीहरुले आफै हातमा कुचो लिएर बर्दिबास सरसफाई गरेका थिए । आफुले कुचो लिएर सरसफाई गरेको बर्दिबास नगरपालिका मिथिलाको पहिलो खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन लागेको खबर खुनेर धुर्मश(सिताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे)ले खुशी व्यक्त गरेका छन् । उनीहरुले मिथिलाञ्चलको पवित्रभूमि बर्दिबासलाई खुल्ला दिसामुक्त बनाएकोमा बर्दिबासबासीलाई लाख लखाको शुभकामना दिएका छन् । पहिलो चरणमा महोत्तरीको उत्तरी क्षेत्रका विद्यालयहरुमा धुर्मश —सुन्तली सरसफाई अभियान महोत्तरी समाजिक अभियन्ता तथा युवा पत्रकार राजकरण महतो सरसफाई अभियान लिएर ६ विद्यालयमा पुग्न सफल भएका छन् । अभियान निरन्तर चलिरहेको अभियन्ता महतोको भनाई छ । धर्मुश —सुन्तलीले सरसफाई अभियानले सरसफाइको दृष्टिकोणबाट पछि परेको बर्दिबास नगरपालिका २ का मुसहर बस्तीको उत्थानको लागि समाजिक अभियनाहरु संचालन गरिरहेका छन् ।
महोत्तरीको खुल्ला दिसामुक्त अभियान युद्धस्तरमा महोत्तरीको कुल घरधुरीका ५० प्रतिशत घरमा शौचालय बनिसकेको छ । १ लाख ११ हजार घरधुरी यस महोत्तरी जिल्लामा छ । महोत्तरीमा तीन नगरपालिका सहित ६९ वटा गाविसहरु छन् । जसमध्ये खयरमारा, पशुपतिनगर, लक्ष्मीनियाँ, गैंढाभेटपुर, रतौली साविकको गाविसहरु, बर्दिबास र गौरीबास यस अघि खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसेको अवस्था छ ।
यहाँको हात्तिलेट, पोखरभिन्डा,बिसपिट्टी,भ्रमरपुरा, सुनौल, रामगोपालपुर, खोपी,भरतपुर, पिगौना खुल्ला दिसामुक्त हुने अन्तिम चरणमा पुगेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीका खानेपानीका डि.ई. देवेन्द्र झाका अनुसार, जलेश्वरनाथ, पञ्चधुरा माइस्थान, टुटेश्वरनाथ, सोनामाइस्थानको नामले चिनिने महोत्तरी जिल्लालाई २०७३ पौष मसान्त सम्म खुल्ला दिसामुक्त बनाउन युद्ध स्तरमा शौचालय निर्माणको काम भइरहेको छ । खुल्ला दिसामुक्त अभियानलाई प्रभावकारी बनाउन महोत्तरीमा आउँदो बैशाख ११ गते जिल्ला सरसफाई समेलनको आयोजना गरिने कार्यक्रमक तय भएको छ ।
महोत्तरीका सिडियो भन्छन् ‘डार्क महोत्तरीलाई अब ब्राइट महोत्तरी बनाउछौं’ सरसफाइमा पछाडी परेको महोत्तरी जिल्लालाई सफासुघर बनाउन महोत्तरीका सिडियो वीरेन्द्र यादव पनि आफैँ अघि बढेका छन् । महोत्तरीको सदरमुकाम जलेश्वरको सडकमा दिसापिसाब गर्ने विरुद्ध रात्री गस्ती सुरु गराएका छन् । साँझ र बिहानको समयमा हातमा हेन्डमाइक र सिटी बजाने कार्यलाई अघि बढाएका छन् । उनी भन्छन् ,‘सरसफाईको सकारात्मक सन्देश सबैले करकुटुम्भ, नातागोता, छरछिमेकमा फैलाउ ।’ आफ्नो गाउँलाई आफै बनाउ भन्ने अभियान सबै गाउँबाट तिब्रगतिमा अघि बढाउन सरोकारवाला पक्षहरुलाई निर्देशन पनि दिएका छन् । सिडियो यादवले भने, ‘डार्क महोत्तरीलाई अब ब्राइट ब्राइट महोत्तरी बनाउछौं ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण