बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राप्ती उप–क्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठन बन्न नदिने बाधक को ?

बिहीबार, १६ वैशाख २०७३, ०७ : ५४
बिहीबार, १६ वैशाख २०७३

काठमाडौं– दाङ जिल्लाको घोराहीमा रहेको राप्ती उप–क्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार तयार पार्न स्वास्थ्य मन्त्रालयले सम्पूर्ण सहयोग गर्ने जनाएको छ । राप्ती उप–क्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन आग्रह गर्न राजधानी आइपुगेको सर्वदलीय टोलीले बुधबार स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई भेट गरेर स्वास्थ्य विज्ञान बनाउनका लागि आवश्यक पर्ने सबै सहयोग गर्न आग्रह गरेको हो ।

जवाफमा मन्त्री चौधरीले राप्ती उप–क्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने आफ्नो सम्पूर्ण सहयोग रहने भन्दै जग्गा र बजेटका लागि पहल गर्न डेलिगेसनलाई सुझाव दिएका छन् ।  कांग्रेसका सांसद राजु खनालका अनुसार स्वास्थ्य मन्त्रीले स्वास्थ्य विज्ञान बनाउनका लागि सबै सहयोग गर्ने आश्वासन दिएको भन्दै जग्गाको समस्या समाधान गर्न वन र भूमिसुधार मन्त्रालयसँग समन्वयन गर्न आग्रह गरेको बताए ।

‘राप्ती उप–क्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठन बनाउन कुनै समस्या रहेन’, उनले भने, ‘त्यसका लागि आवश्यक पर्ने जग्गा र अन्य कागजी प्रक्रिया पूरा गर्न वन र भूमिसुधार मन्त्रालयसँग समन्वय गर्न सुझाव आएको छ ।’ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरीले यसै संसद अधिवेशनबाट राप्ती उप–क्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठनसम्बन्धी विधेयकलाई पारित गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।

‘स्वास्थ्य मन्त्रालयबाट आवश्यक पर्ने सबै सहयोग स्वास्थ्यमन्त्रीले सहयोग गर्ने आश्वासन दिएका छन्, मुख्य सचेतक चौधरीले भने, ‘नयाँ आर्थिक वर्षको बजेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठनको थोरै भए पनि बजेट राखेर काम अगाडि बढ्नेछ ।’ राप्ती उप–क्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठन बनाउनका लागि आफ्नो पार्टीका स्वास्थ्यमन्त्रीलाई मुख्य सचेतक चौधरीले चर्को दबाब दिँदै आएका छन् ।

स्वास्थ्यमन्त्रीसँगको भेटपछि डेलिगेसन टोलीले वनमन्त्री अग्निप्रसाद सापकोटा र सामान्य प्रशासनमन्त्री रेखा शर्मासँग भेटघाट गरेको थियो । मन्त्रीद्वय सापकोटा र शर्माले राप्ती उप–क्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सम्पूर्ण सहयोग गर्ने आश्वासन दिएको राप्ती उप–क्षेत्रीय अस्पताल विकास समितिका अध्यक्ष नारायण अधिकारीले जानकारी दिए ।

‘अहिलेसम्म सकारात्मक आश्वासन पाएका छौँं’, उनले भने, ‘आज बिहीबार प्रधानमन्त्रीसँग भेट गरी यस विषयमा जोडदार माग राख्ने छौँ ।’ डेलिगेसनका सहभागीहरूका अनुसार वन र भूमि सुधार मन्त्रालयले असहयोग गरेका कारण अहिलेसम्म स्वास्थ्य विज्ञान प्रतिष्ठनको काम सहज रुपमा अगाडि बढ्न नसकेको हो ।

अस्पताललाई आवश्यक पर्ने १४ विघा ९ कट्ठा जग्गा अस्पतालको नाममा ल्याउन झञ्झटिलो प्रक्रिया रहेको छ । स्वास्थ्य मन्त्रालय प्रतिष्ठन बनाउन लचिलो रहे पनि वन र भूमिसुधार मन्त्रालयका कारण केही असहज भएको टोलीको बुझाइ छ । तर, वन र भूमिसुधारले पनि सहयोग गर्नेमा डेलिगेसन आशावादी छ ।

डेलिगेसनमा कांग्रेसका सांसद राजु खनाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरी, पूर्व सांसद शान्ता चौधरी, कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, एमाओवादी दाङका नेता निर्मल आचार्य, उद्योग वाणिज्य संघ दाङका हेमबहादुर बञ्जाडे, राप्ती उप–क्षेत्रीय अस्पताल विकास समितिका अध्यक्ष नारायण अधिकारी, पत्रकार दशरथ घिमिरे, कलाकार गणेश बेलवासेलगायत एक दर्जनको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप