बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पुनःनिर्माणको ढिलाइबारे काँग्रेसले संसद्मा कुरा उठाउने

आइतबार, १९ वैशाख २०७३, २१ : ११
आइतबार, १९ वैशाख २०७३

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भूकम्प प्रभावित जिल्लामा पुनःनिर्माण र पुनर्वासको कार्यमा सुस्तता छाएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

काँग्रेस संसदीय दल, कार्यसमितिको आज सिंहदरबारमा बसेको बैठकले अब बस्ने व्यवस्थापिका–संसद्को अधिवेशनमा पुनःनिर्माणको कामलाई प्राथमिकताका साथ उठाउने निर्णय गरेको हो ।

पुनःनिर्माणसँगै मुलुकका जल्दाबल्दा विषयलाई संसद्मा जोडदाररुपले उठाइने काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए ।

“पुनःनिर्माण र पुनर्वास, इन्धनको अभाव, कालोबजारी, महँगीजस्ता जल्लाबल्दा विषयमा हाउसमा प्रभावकारी रुपमा कुरा उठाउछौँ । सरकारको नीति तथा कार्यक्रम र बजेटसम्बन्धी छलफल अघि यी जल्लाबल्दा विषयको सम्बोधन हुनुपर्छ भन्ने हाम्रो अडान रहन्छ”–उनले भने।

सोमबार बिहान बस्ने संसदीय दलको बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न आज बसेको संसदीय कार्यसमितिको बैठकले पुनःनिर्माणमा भइरहेको ढिलाइ, पीडितलाई सहजरुपमा राहत वितरण, सुक्खायामलाई मध्यनजर गरी समयमै खाद्यान्न भण्डारण, आगलागी नियन्त्रणलगायतमा सरकारको ध्यानाकर्षण गराउने काँग्रेसले जनाएको छ ।

भूकम्पप्रभावित जिल्लाका जनतालाई घर बनाउनका लागि सरकारले दिने पैसा झन्झटिलो बनेकाले सहजरुपमा वितरणको वातावरण मिलाउन सरकारलाई आग्रह गरिने प्रमुख सचेतक श्रेष्ठले बताए ।

उनले भने– “बर्खा लागिसक्यो, पीडित जनतालाई घर बनाउनका लागि छिटो पैसा दिनुप¥यो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न सर्त नराखीकन सहुलियत रुपमा रकम दिनुपर्छ, यसबारे कुरा उठाउँछौँ ।”

बैठकले सुक्खायाममा उत्पादन घट्ने र भोकमरी सिर्जना हुनसक्ने भन्दै समयमै खाद्यान्नको बन्दोबस्त गर्ने विषयमा पनि जोडदारका साथ कुरा उठाउने निर्णय गरेको छ ।

त्यस्तै, देशभरका जङ्गलमा आगलागी नियन्त्रण हुन नसकेको, त्यसबाट मानवीय तथा भौतिक क्षति पुगेकोप्रति ध्यानाकर्षण गराउँदै आगो नियन्त्रण र पीडितलाई राहत दिने कार्यलाई प्रभावकारी बनाउन पनि काँग्रेसले आग्रह गरेको छ । काँग्रेस संसदीय दलको बैठक सोमबार विहान १०ः३० बजे बस्नेछ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप