पेरिस (फ्रान्स)- टर्कीको प्रहरीले मजदुर दिवसका अवसरमा प्रदर्शन गरिरहेका मजदुरमाथि आइतबार अश्रुग्यास तथा पानीका फोहरा प्रयोग गरेको टर्कीबाट प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै फ्रान्समा पनि श्रम सुधारका लागि भनी गरिएको हिंसात्मक प्रदर्शनपछि हिंसा भड्केको जनाउदै यहाँको सुरक्षास्थितिलाई मजबुत पारिएको छ ।
यद्यपि श्रमिकहरु विश्वभर बढ्दो बेरोजगारी तथा आर्थिक सङ्कटबाट श्रमिक वर्ग प्रताडित हुनुपरेको भन्दै आइतबार व्यापक प्रदर्शनका कार्यक्रमकासाथ मजदुर दिवस मनाइएको छ ।
जिहादी तथा कुर्दिस लडाकू विभिन्न ठाउँमा यस वर्ष भएका कहालीदाग्दा आतंककारी घटनामा जिम्मेवार भएको आरोपपछि इस्तानबुलमा अनाधिकारिक रुपमा सभा, सम्मेलन तथा प्रदर्शन गर्न प्रहरीले सुरक्षाको कारण देखाई निषेध गरे पनि श्रमिकहरु आफ्ना अधिकारका लागि सहरका विभिन्न भागबाट जम्मा भई प्रदर्शन गर्न सुरु गरेपछि निशेधाज्ञा तोडेको भन्दै प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरेको बताइएको छ ।
तर टर्कीको सरकारले मजदुर दिवसका दिन गरिने प्रदर्शनमा घुसपैठ हुनसक्ने आशङ्कामा देशैभरी करिब २५ हजार सुरक्षाकर्मीलाई तैनाथ गरेको बताएको छ ।
सरकारले मुलुकका विभिन्न स्थानहरूमा प्रदर्शनमा लगाइएको निशेधाज्ञा तोडेको आरोपमा प्रहरीले अश्रुग्यास र पानीका फोहराद्वारा प्रदर्शनकारी मजदुरलाई तितरवितर पारेको बताइएको छ ।
यद्यपि सयौँ मजुरले सुरक्षाकर्मीको हस्तक्षेपबीच पनि सहरका विभिन्न भागमा प्रदर्शन गरेका छन् ।
टर्कीको प्रहरीले आइतबार इस्तानबुलबाटै मजदुर दिवस समारोहमा आक्रमण गर्ने योजना बनाएको आरोपमा इस्लामिक स्टेट (आईएस) जिहादी समूहका चार शङ्कास्पद सदस्यलाई सुरक्षा नियन्त्रणमा लिएको दावी गरेको छ ।
श्रमिक कानुनमा परिवर्तन गर्न र मजदुरहरुको अधिकारलाई कमजोर बनाउन खोजेको भन्दै सङ्घर्षरत् श्रमिक ट्रेड युनियनले फ्रान्स र दक्षिण कोरियामा पनि सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
त्यहाँका सरकारले पनि प्रदर्शनका क्रममा अनावश्यक हिंसा भड्किन सक्ने आशङ्कामा सुरक्षास्थितिलाई बलियो पारेको बताएका छन् ।
फ्रान्समा श्रम कानुन सुधार गर्ने निहँुमा आफ्नो अधिकारलाई कमजोर बनाउन खोजिएको भन्दै बिहीबार प्रदर्शनमा उत्रिएका श्रमिकहरुको आन्दोलनले हिंसात्मक रुप लिएको थियो ।
उक्त आन्दोलनमा प्रदर्शनकारीले सडकमा पार्किङ गरी राखिएका तथा गुडिरहेका गाडीहरुलाई नियन्त्रणमा लिई आगजनी गरेका थिए । पेरिसमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन अघि बढेको प्रहरीमाथि ढुङ्गा प्रहार हुँदा दर्जनौँ प्रहरी घायते भएपछि फ्रान्सले सुरक्षास्थितिलाई बलियो बनाएको थियो ।
फ्रान्सेली प्रधानमन्त्री म्यानुयल भल्जले प्रदर्शनकारीको बीचमा घुसेर हिंसा मच्चाउन खोज्ने र प्रशासन तथा जनताबीच झडप सिर्जना गराउन खोज्ने समूहलाई आइतबार चेतावनी दिँदै सरकारले यसको कडा प्रतिवाद गर्ने जनाउनुभएको छ ।
फ्रान्सका श्रममन्त्री माइरियम एल खोम्रीले सरकारले श्रम कानुनसम्बन्धी विधेयक एक दुई दिनमा संसदमा पेस गर्न लागिएको बताउँदै अनावश्यक अफवाह नमच्चाउन विरोधी समूहलाई आग्रह गर्नुभएको छ ।
यसैगरी दक्षिण कोरियाली जनताले पनि सरकारले ल्याउन लागेको श्रम विधेयकलाई खराब कानुनको सज्ञा दिँदै प्रदर्शनमा उत्रिएका छन् ।
श्रम अधिकारका लागि कार्यरत् अधिकारकर्मीले दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्यून हे तथा उहाँको राजनीतिक दलले सुधारको नाममा श्रमिकको अधिकारमाथि खेलबाड गर्दै कम्पनीहरुले हजारौँ श्रमिकको रोजिरोटी खोस्न लागेको बताएका छन् ।
उनीहरुको आह्वानमा लाखौँ मजदुर विरोधमा उत्रिएको बताइएको छ ।
रसिया, युुक्रेन, स्पेनलगायतका मुलुकमा पनि श्रमिकको रोजिरोटीको बेवास्ता गर्दै पछिल्लो समय एकपछि अर्को गर्दै कामदार कटौती गर्ने नीतिले लाखौँ श्रमिक वर्गलाई असर पार्ने बताउँदै मुख्य मुख्य सहरमा प्रदर्शन गरिएका प्राप्त समाचारमा उल्लेख गरिएको छ । रासस÷एएफपी