बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पोखराको रामघाटमा दुई करोडको ठेक्का, अर्बौंको सम्पत्ति दोहन

सोमबार, २० वैशाख २०७३, ०७ : ३३
सोमबार, २० वैशाख २०७३

पोखरा – जिल्ला विकास समिति कास्कीले गत साउनमा टेन्डर आव्हान गरी पोखराको रामघाट क्षेत्र ठेक्कामा लगायो । जिविसको परिषद्बाटै निर्णय गराएर आन्तरिक आय बढाउने उद्देश्यले जिविसले सो घाट दोस्रो पक्षलाई ठेक्कामा लगाएको हो ।

ठेक्का दिँदा सार्वजनिक टेन्डर नै आव्हान गरी ठेक्का लगाउने पहिलो पक्ष र ठेक्का लिने दोस्रो पक्षबीच ठेक्का अनुशासन तथा सर्तसहितको करारनामा समेत हुनु अनिवार्य मानिन्छ । ठेक्का दिने पक्ष र लिने पक्षले के–के गर्ने भन्ने बारेमा शर्तनामा पनि गरेको जिविस कास्कीले जनाएको छ ।

तर, रामघाट क्षेत्रमा नजर लगाउनेहरुले यतिवेला सजिलै भन्न सक्छन् कि त्यहाँ ठेक्काको नाउँमा प्राकृतिक सम्पत्तिमाथि ठूलो हिनामिना र दोहन भएको छ ।

गत असार अन्तिम साता भ्याटसहित दुई करोडभन्दा बढीमा रामघाट टेन्डर स्वीकृत भएको थियो । सो टेण्डर पोखराको एलजी ग्रुपले हात पारेको जिविस कास्कीका योजना अनुगमन तथा प्रशासकीय अधिकृत कृतनराज पौडेलले जानकारी दिए ।

उनले रामघाट क्षेत्रमा ठेक्का पार्ने समूहले गत मंसिरसम्म इन्धन अभावको कारण खासै काम गर्न नपाएपनि त्यसपछि गरेको कामवाट गुनासो आएको बताए ।

मोठमा भ्याटसहित २ करोड ३ लाखको टेन्डरका कारण अहिले पोखराको रामघाट क्षेत्रमा अर्बौंको सम्पत्ति अस्तव्यस्त बनेको छ ।

यता पोखरामो रामघाट क्षेत्र निरीक्षण गरेका क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाले तत्काल रामघाट दोहन गर्ने ठेकेदारलाई बाँधेर ल्याउन कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीलाई निर्देशन दिएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली सहित केही सामाजिक संघ–संस्थाका अगुवाहरु कै रोहबरमा आईतवार क्षेत्रीय प्रशासक कोईरालाले स्थानीय विकास अधिकारी भण्डारीलाई सो निर्देशन दिएका हुन् ।

क्षेत्रीय प्रशासक कोईरालाले भने–“एलडीओ साब तपाईंलाई थाहा छैन् रामघाटको हालत के छ भन्ने बारे ? ठेक्काको नाउँमा जथाभावी गर्न पाईन्छ ? तपाईंले तत्काल त्यो ठेकेदारलाई बाँधेर ल्याएर मेरोमा पेश गर्नुभएन भने सिडियो साप यहाँ साँछी हुनुहुन्छ तपाईं माथि नै कारवाही हुनेछ ।”

तब आडैमा रहेका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले भने– “हजुर सर, म त भर्खरै कास्कीमा आएको हुँ, बुझ्दै छु, डिईसाप पनि पोखरा हुनुहुन्न, बुझुँला हजुर, स्थानीय विकास अधिकारीको यो जवाफसँगै क्षेत्रीय प्रशासक कोइरालाले फेरि भने– “तपाइँले अब भर्खरै आएको हुँ भनेर हुँदैन, तपाईंले आफ्नो जिम्मामा भएको कुरा बुझिसक्नुपर्छ, त्यो ठेक्का दिँदाको फाईल र ठेकेदार कहाँ छ तत्काल बाँधेर ल्याएर मलाई पेश गर्नुस् मैले हेरिसकेँ रामघाट ठेक्का प्रकरणमा ठूलो घोटाला छ, म छानबिनको लागि अख्तियारलाई पनि म भन्छु ।”

शनिवार दिउँसो मात्रै रामघाट क्षेत्र अवलोकन गरेका क्षेत्रीय प्रशासक शंकरप्रसाद कोईरालाले आईतबार कास्कीका स्थानीय विकास अधिकारीलाई पोखरा उद्योग वाणिज्य संघको सभाहलमा कडा निर्देशन दिएपछि वरिपरि रहेका कार्यक्रमका आगन्तुकहरु एकोहोरो भएर क्षत्रीय प्रशासकको निर्देशनलाई नियालिरहेका थिए । आइतबार पूर्वसांसद मञ्चको कार्यक्रममा सहभागी हुन क्षेत्रीय प्रशासकसहित कास्कीका प्रमुख जिल्ला अधिकारी, पश्चिम प्रहरी प्रमुख, पश्चिम पृतनापति लगायतका सरकारी कार्यालयका प्रमुखहरु पोखरा उद्योग वाणिज्य संघको सभाहलमा पुगेका थिए । सोही कार्यक्रममा क्षेत्रीय प्रशासकले रामघाट दोहनबारे चिन्ता व्यक्त गरेका हुन् ।

वर्षाको समयमा रामघाटको भंगालो थुनिदा देखिँदै र भोग्दै आएको विपत् अब झन् बढ्ने खतरा रहेको छ । जथाभावी घाट उत्खनन् गर्दा घाट आसपासमा रहेका स–साना घर टहरा र दक्षिण पारी पट्टी रहेको शवदाह स्थल समेत खतरामा परेको हो ।

यतिवेला रामघाटमा सेतीनदीलाई नहरमा परिणत गरी ढुङ्गा, गिटी र वालुवाका घडेरी बनाएर साँध लगाइएको छ ।

सेती नदीलाई एउटा नहरमा परिणत गरेर नदीको चरम दोहन गर्दा समेत स्वयं जिविस कास्की समेत मुकदर्शक वनेको नागरिकको गुनासो छ ।

आम्दानीको नाउँमा पवित्र धार्मिक स्थलको स्वरुप नै बिग्रने गरी दोहन हुँदा समेत जिम्मेवार निकाय जिविसले वेवास्ता गर्नु लज्जास्पद भएको नागरिकहरुको भनाई छ ।

रामघाट क्षेत्र ढुंगा, गिटी, वालुवाको खानी क्षेत्र मात्र नभई यसक्षेत्रकै सबैभन्दा ठूलो शवदाह स्थल पनि हो । सो क्षेत्रलाई जथाभावि उत्खनन् गर्दा हाल शव जलाउने स्थानको समेत अभाव भएको छ ।

पुरानो र भैरहेको शवदाह स्थललाई खनेर नयाँ बनाउने वहानामा वनाईएको शवदाह स्थल वर्षाको वाढीले वगाईदिएपछि रामघाट क्षेत्र यतिवेला झन् अस्त व्यस्त वनेको छ । विगतमा शवदाह स्थलको नाममा सेती नदीको रामघाटमा आम नागरिकको चन्दा सहितको करिव ४६ लाख रुपैयाँ खोलोमा वगेको रामघाट क्षेत्र विकास समितिका अगुवाहरुको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप