बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

मानवीयताको पाठ साउदीका अस्पतालबाट सिक्ने कि !

सोमबार, २० वैशाख २०७३, १० : ५८
सोमबार, २० वैशाख २०७३

गएको शुक्रबार साउदीको जर्मन अस्पतालमा समबहादुर मगर दुई महिनादेखि अलपत्र भन्ने शिर्षक रहेको समाचार पढेँ । साउदी जर्मन अस्पताल म बसेको ठाउँदेखि झन्डै १५–२० किलोमिटर टाढा पर्छ । केही कारणबस शुक्रबार नै सो अस्पताल जान सकिनँ । हिजो शनिबार अफिस सकाएर अस्पताल गएँ ।

साउदी जर्मन अस्पतालको रिसिप्सनदेखि सोधपुछ गर्दै समबहादुर मगरलाई राखिएको आइसियुमा पुगेँ । उनलाई आइसियु –०६ मा रखिएको रहेछ। समबहादुर अचेत अवस्थामा थिए । उनलाई ३–४ पटक बोलाएँ। तर, कुनै रेस्पोन्स दिन सकेनन्, उनले । समबहादुर २१ मार्चदेखि नै कोमामा रहेछन । उनको उपचारमा अस्पतालले कुनै कमि नगरेको मैले भेटाएँ । समबहादुरलाई पटक–पटक बोलाउदा पनि उनि नबोले पछि नजिकै बसेको एक जना नर्ससँग उनको बारेमा सोधपुछ गरेँ। नर्सले समबहादुरलाई उपचार गर्ने डाक्टरसँग मात्र थप जानकारी लिन सकिन्छ भन्ने जवाफ दियो । उनको उपचारको लागि डा. मोहमद आदेल यिहिया खटेका रहेछन् । डा. मोहमदसँग भेट भयो उनको कार्यकक्षमा । समबहादुरबारे सबै जानकारी प्राप्त भयो । समबहादुर गत २१ मार्चको राती १० बजेर २२ मिनेटमा अस्पताल भर्ना भएको देखियो । समबहादुरको दिमागमा गम्भीर असर परेको देखिन्छ । खोइ, के कारणले समबहादुरको दिमागमा गम्भीर चोट पर्यो, त्यस बारे वास्तविक बताउने मान्छे कोहि नभएकोले उनको दुर्घटनाको कारण यहाँ प्रष्ट्याउन सकिएन । यद्धपि, उनी शौचालयमा लडेर दुर्घटना भएको भन्ने समाचारमा मात्र सुनेँ । उपचारमा संलग्न चिकित्सक पनि दुर्घटनाबारे अनविज्ञ रहेछन । समाचारमा बाहिर आए जस्तो नै हो भन्न सकिएन । कारण दुर्घटना कसरी घटेको थियो र कसले अस्पताल पुर्याएको थियो भन्ने जानकारी गराउने व्यक्ति नै पत्ता लगाउन सकिएन । डा. मोहमदका अनुसार समबहादुरको तीन पटक सर्जरी गरिसकिएको छ । समबहादुरको घटना हुँदा दिमागमा गम्भीर असर परेकोले उनको होस कहिले आउने ठेगान नभएको उनले बताए ।

उनको उपचारको लागि भर्ना गरिएको दिनदेखि ३० अप्रिलसम्मको जम्मा खर्च २ लाख ७३ हजार ५ साउदी रियाल अथवा ७९ लाख नेपाली रुपैयाँ भन्दा बढी बिल देखिएको छ ।

समबहादुरको लागि उपचार खर्च त्यति धेरै आइसकेको छ । त्यो सबै खर्च बीमा कम्पनी अथवा उनले काम गर्ने कम्पनीले बुझाएन भने यसको जिम्मेवार को हुन्छ भनेर मैले एडमिशन शाखामा सोधेँ । त्यस पछि मात्र मलाई एउटा कागज देखायो, जसमा लेखिएको थियो ‘आई स्याल बि रेस्पोंसिबल फर द कस्ट अफ समबहादुरस् ट्रिट्मेण्ट’ अथवा समबहादुरको उपचार खर्चको जिम्मेवारी म लिनेछु भनेर डा. मोहमदले लेखेर हस्ताक्षर गरेका रहेछन् ।

समबहादुरको उपचार खर्च कसले बेहोरिरहेको छ भनेर मैले डा. मोहमदलाई सोधेँ । उनले यसबारे धेरै खुल्न चाहेनन् । अस्पतालको एडमिशन शाखामा गएर बुझ्नु भने । उनको सुझाव अनुसार अस्पतालको एडमिशन शाखामा गएँ । समबहादुरको दर्ता न. ३ ३८४२४९ रहेछ । एडमिशन शाखाको एक कर्मचारीले उनको फाइल हेरे । हिजोको दिनसम्म सबै उपचार खर्च उधारोमा गरिएको रहेछ । समबहादुरले काम गर्ने कम्पनीले उनको लागि अल–इतिहाद बीमा कम्पनी (रियाद) मा स्वास्थ्य बीमा गरेको देखियो । तर, सो बीमा कम्पनी अहिले इनएक्टिव अथवा निस्कृय रहेको देखिन्छ । सो बीमा कम्पनी टाट पल्टिएको हुनसक्छ भन्ने अस्पतालको बुझाई छ । तर, अस्पतालले उपचार खर्च बापत एक पैसा पनि प्राप्त नगर्दा पनि समबहादुरको उपचारमा कुनै कमि नगर्दा मानवीयता सो अस्पताल र उपचारमा संलग्न डा. मोहमदमा रहेछ, भन्ने बुझियो । समबहादुरको लागि उपचार खर्च त्यति धेरै आइसकेको छ । त्यो सबै खर्च बीमा कम्पनी अथवा उनले काम गर्ने कम्पनीले बुझाएन भने यसको जिम्मेवार को हुन्छ भनेर मैले एडमिशन शाखामा सोधेँ । त्यस पछि मात्र मलाई एउटा कागज देखायो, जसमा लेखिएको थियो ‘आई स्याल बि रेस्पोंसिबल फर द कस्ट अफ समबहादुरस् ट्रिट्मेण्ट’ अथवा समबहादुरको उपचार खर्चको जिम्मेवारी म लिनेछु भनेर डा. मोहमदले लेखेर हस्ताक्षर गरेका रहेछन् । त्यो कागज देखेर म चकित परेँ । समबहादुरको लागि यति धेरै खर्चको जिम्मेवारी डा. मोहमदले किन लिए ? पुनः डा. मोहमदलाई भेट्न चाहेँ । मैले उनलाई धन्यवाद दिए ँ। उनले मेरो आसय बुझेछन् क्यारे । समबहादुरले काम गर्ने कम्पनीलाई भनेर बीमा कम्पनीलाई यो सबै जानकारी गराउनुस् भनि मलाई आग्रह गरेँ ।

समबहादुरले काम गर्ने कम्पनीको बारेमा अस्पष्ट भएकोले उनलाई पठाउने मेनपावर अक्सफोर्ड इन्टर्नेशनल हो भन्ने मैले जानकारी पाएको थिएँ । अक्सफोर्डका मालिकको सम्पर्क नम्बर पत्ता लगाएर काठमाडौँमा फोन गरेँ। अक्सफोर्ड मेनपावरबाट समबहादुरले काम गर्ने कम्पनीको बिबरण प्राप्त गरेँ। अक्सफोर्ड मेनपावरलाई पनि कम्पनीमा तुरुन्तै फोन गरेर बीमा कम्पनीलाई अस्पतालको बिल तिर्न दबाब दिन लगाउनुस् भनेर अनुरोध गरेँ। केहि बेर पछि समबहादुरले काम गर्ने कम्पनीको मालिक बन्दरले मलाई फोन गर्यो। मलाई नेपाली दूताबासको कर्मचारी ठानेछन् । म एक सर्बसाधारण नागरिक हु ँ। एक कम्पनीमा काम गर्छु र समय मिलाएर सामाजिक कार्यहरू पनि गर्छु भनेँ । त्यसपछि मसँग बन्दर खुलेर कुरा गर्न थाल्यो । समबहादुरबारे हामीले नेपाली दूताबासमा जानकारी पनि गराउन सक्छौँ । आवश्यक पर्यो भने दूताबासले बोलाएको अवस्थामा त्यहाँ जानु पर्छ तपाई भनेर जानकारी गराएँ । उनी धेरै समझदार मानिस जस्तो लाग्यो । समबहादुरको लागि मेरो तर्फबाट हुने जिम्मेवारी म सबै पुरा गर्छु भन्यो । अब हेरौं बीमा कम्पनीले समबहादुरको उपचार खर्च तिर्छ या तिर्दैन । बीमा कम्पनी अल–इतिहादले व्यवस्था गरेको बीमा कार्ड अनुसार अर्को बर्ष २१ मार्च २०१७ सम्म म्याद छ । तर, अस्पताललाई कुनै रकम बुझाएको छैन । अस्पतालले समबहादुरलाई पुरै डेढ महिनासम्म अथवा आजको दिनसम्म आइसियुमै राखेर उपचारलाई निरन्तरता दिइरहेको छ । डा. मोहमद अनुसार बिरामी समबहादुरको दिमागमा गम्भीर असर परेकोले केहि बर्षसम्म पनि होसमा नआउन सक्ने बताएका छन् । त्यतिन्जेलसम्म उनलाई अस्पताल मै राखेर उपचार गर्न सक्ने अवस्था नहोला । उनको यहाँ नजिकको आफन्त पनि रहेनछ । आफन्त नै भएको भएपनि त्यस्तो अचेत अवस्थाको बिरामीलाई कसरी स्याहार सुसार गरेर राख्न सक्छ होला र । अर्को उपाय भनेको समबहादुरलाई स्वदेश फिर्ता पठाउने नै हो । तर, त्यसको लागि समबहादुरलाई साधारण हवाई टिकटमा कुनै पनि एअरलाइन्सले लादैनन्। उनको लागि स्ट्रेचर र स्वास्थ्यकर्मीको साथमा बिशेष किसिमको हवाई टिकट व्यवस्था गर्नु पर्ने हुन्छ । त्यसको लागि १५ देखि २० हजार साउदी रियाल अथवा चार लाख पचार हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ । समबहादुर कम्पनीको कारणले अथवा ड्युटी गरिरहेको अवस्थामा दुर्घटना भएको भए क्षतिपूर्ति सहित स्वदेश पठाउन लाग्ने सबै खर्च कानुनत ः कम्पनीको मालिकलाई बेहोर्न लगाउन सकिने थियो । तर, समबहादुर घरमै सौचालयमा लडेर दुर्घटना भएको भन्ने बुझिएको छ । दुर्घटनाको प्रकृतिले उनको कम्पनीलाई सबै खर्चको व्यवस्था गरि बिशेष हवाई टिकेट पनि व्यवस्था गरेर स्वदेश पठाउने व्यवस्था गर्नुपर्यो भनेर दबाब दिने अवस्था पनि छैन । साउदीमा यस्तै प्रकृतिको घटना आजभन्दा तीन बर्ष अगाडी पनि घटेको थियो। पाल्पाका एकजना लीलाराम भन्ने व्यक्ति ब्रेन ट्युमरका कारण अलपत्र परेका थिए । नेपाली दूताबासको सहयोगमा साउदी कै एक अस्पतालमा तीन महिना उपचार गराएर स्वदेश पठाइएको थियो । उनलाई बिशेष किसिमको हवाई टिकटको व्यवस्था गरेर ओमन एअरलाइन्स मार्फत स्वदेश पठाईएको थियो । उतिबेला लीलारामको उपचार खर्च बापत झन्डै नेपाली २० लाख रुपैयाँ नेपाली दूताबासको अनुरोध र साउदी सुरक्षा विभागको सिफारिशमा अस्पतालले पुरै रकम मिनाहा गरिदिएको थियो । मानवीयताको पाठ साउदीका अस्पतालबाट सिक्ने कि !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप