बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

देउवाको विरोधमा रामचन्द्र, दुई दर्जन नेताहरु बूढानिलकण्ठमा

शुक्रबार, २४ वैशाख २०७३, १६ : ३८
शुक्रबार, २४ वैशाख २०७३

काठमाडौँ– पार्टीभित्र छलफल नगरी सभापति शेरबहादुर देउवा एकपक्षीय ढङ्गले अघि बढ्न खोजेको भन्दै नेपाली काँग्रेसभित्र असन्तुष्टि बढेको छ ।

सरकार परिवर्तनको खेलमा लागेर पार्टीको साख गिराएको भन्दै रामचन्द्र पौडेल पक्षका काँग्रेसका प्रभावशाली नेताहरुले सभापति देउवाको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्  ।

बिहीबार दुई दर्जन भन्दा बढी केन्द्रीय सदस्यहरुले छुट्टै भेला गरी आज सभापतिको ध्यानाकर्षण गराएका छन् ।

केन्द्रीय सदस्य प्रकाशमान सिंहको नेतृत्वमा गएको टोलीले सभापति देउवालाई बूढानिलकण्ठस्थित निवासमा भेटी पार्टीलाई संस्थागत निर्णयका आधारमा अघि बढाउन ध्यानाकर्षण गराएको हो ।

पार्टीले लिनुपर्ने महत्वपूर्ण निर्णयमा एकपपक्षीय ढङ्गले अघि बढेकोमा आपत्ति जनाउँदै नेताहरुले सरकार परिवर्तन जस्तो संवेदनशील विषयमा पार्टीभित्र आवश्यक छलफल समेत नगरी अघि बढ्दा अहिले सकारात्मक परिणाम आउन नसकेको निष्कर्ष निकालेका छन् ।

केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीभित्र कुनै छलफल नगरी अघि बढ्न खोज्दा समस्या उत्पन्न हुने भन्दै पार्टीभित्र आन्तिरिक छलफल गरेर मात्र निर्णय लिन सभापतिलाई आग्रह गरेका थिए ।

जवाफमा सभापति देउवाले आगामी दिनमा यस्तो हुन नदिने र आफू सबैसित छलफल गरेर अगि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

सभापतिको पछिल्लो कार्यशैलीले पार्टीलाई कमजोर बनाउने भन्दै केन्द्रीय सदस्यले निर्णय प्रक्रियामा जानु पूर्व आवश्यक छलफल गर्न समेत सभापतिलाई आग्रह गरेका थिए । भेटमा पार्टी कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, दिलेन्द्रप्रसाद बडू, डा मीनेन्द्र रिजाल, महेश आचार्य, दिलबहादुर घर्तीलगायतको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप