मेरो डायरी : रातको १० बजेर ३४ मिनेट जाँदा...
‘साढे १० बज्यो होला ।’
घरको गेटमा पुगेर सोचेँ र मोबाइलमा समय हेरँे । १० बजेर ३४ मिनेट गएको रहेछ । घरको कुकुर चर्को स्वरमा भुक्यो । आफ्नै घरको कुकुरदेखि पनि डर लाग्यो, मिल्ने भए टोक्थ्यो होलाझैं लागेर ।
घरको गेट खोल्न हात लम्काउँदै गर्दा मनमनै कामना गरें, ‘गेटमा ताल्चा लाएको नहोस् र कोठा बाहिर पनि कोही नहोउन्’ ।
कुकुर भुक्दै थियो, गेट खोलेँ । धन्न ! ताल्चा लगाइएको रहेनछ । एउटा कामना त पूरा भयो । तर भित्र छिरेको मात्र के थिएँ, सातो नै गयो । सासू त कोठा नजिकै ठिङ्ग उभिनुभएको रहेछ । उफ् ! सास नै अड्केलाजस्तो भयो । आँखा नजुधाइ आफ्नो कोठामा गएँ । उहाँ केही नबोलेकोमा पनि साह्रै आनन्द आयो ।
दुई–तीनदिन देखि घर आउने समय यस्तै थियो । हुन त, म कुनै गलत काम गरेर आएकी त थिइनँ, तर परिवारलाई पनि बुझाउने प्रयत्न असफल भइरहेको थियो । त्यसैले चुप लाग्नुमै कल्याण देखिरहेकी थिएँ ।
म नाटक गर्ने कलाकार । रिहर्सल भएको बेला घर जाने कुनै टुङ्गो नहुनु स्वाभाविक हो । घरमा कसैले पनि ‘कहाँ गएर आको’ भनेर नसोधिदिए हुन्थ्योझैं लाग्थ्यो । सोधे पनि म सत्य नै बताउँथेँ कि ‘काममा गएर आएको ।’ तर कामबारे भन्नचाहिँ गाह्रो थियो । परिवारको नजरमा त काम भनेको कि त सरकारी जागीर हुन्थ्यो, कि त कतै पढाउनु । तर मेरो काम त बिल्कुल फरक छ ।
म नाटक गर्छु, आफ्नो काममा असाध्यै गर्व छ । घरबाहिर पनि ठाँटका साथ भन्न सक्छु कि नाटक गर्छु भनेर । तर आफ्नै घरमा भने साह्रै गाह्रो लाग्थ्यो । बच्चाहरूले अलि बढी दुःख दिंदा ‘धेरै नाटक नगर है’ भनेर गाली गर्दा पनि आफैंलाई कराएजस्तो लाग्थ्यो । ०००
सासूलाई देखेर झण्डै रोकिएको सासले कोठाभित्र पसेपछि चाहिँ गति लिन थाल्यो । ‘अब फेरि के पो सुन्नुपर्ने हो !’ भन्ने प्रश्नले तुरुन्तै गिजोलिहाल्यो । कोठामा मैले सामना गर्नुपर्ने अर्को मान्छे पनि त छ, मेरो श्रीमान । जसले मसँग प्रत्येक दुःख–सुखमा साथ दिने कसम खाएको छ । तर मैले मेरो मनको खुसी रोजेर नाटक खेल्न थालेदेखि उसका कसमको रंग फिका हुँदै गएको महशुस गरिरहेछु ।कोठाभित्र शुन्यता थियो । लामखुट्टेको आवाज स्पष्टै सुनियो । बाहिर सासू नबोलेकोमा खुसी थिएँ, तर ऊ नबोलेकोमा छट्पटी भयो । आस पनि सँगै बोकेर ल्याएकी रहिछुझै लाग्यो, ‘कस्तो भयो काम भनेर सोधिदिए पनि कस्तो खुसी हुन्थेँ हुँला ।’
त्यत्ति नै बेला उहाँ झस्याङ्ग हुनेगरी बोल्नुभयो, ‘नौटंकीहरूलाई कहिले बुझ्न सकिँदैन । न घर आउने समय हुन्छ न खाने समय । न कसैले के भन्ला भन्ने कुराकै ख्याल ।’ मेरो आस खङ्रङ्गै सुक्यो । त्यस्तो भन्नुभन्दा त नबोलेकै ठीक थियो । ०००
ऊ यसरी मेरो विचार र कामको विरोधी भएको नाटक गर्न थालेदेखि नै हो । तर सधैँ सुन्नुपर्ने बाध्यता भएपछि वास्ता लाग्न छोडिसकेको थियो । तर पनि चस्स त दुख्थ्यो नै । आज बढी नै दुख्यो ।
म आफ्नो पहिचान बनाउन हिँडेको मान्छे । त्यसैले यस्ता साना–तिना कुरामा डगमगाउने कुरा थिएन । त्यसो हुन्थ्यो भने धेरैअघि नै रंगमञ्च छाडिसकेको हुन्थेँ । मलाई लाग्छ, संसारमा एकदमै कम मान्छेले आफू केका लागि जन्मिएको हुँ भन्ने ठम्याउन सक्छन् । त्यस भन्दा पनि थोरै संख्यामा हुन्छन्, जो आफूलाई मन परेको कामलाई निरन्तरता दिन सक्छन् । आफूलाई मन पर्ने काम थाहै नपाई पूरै जीवन बाँच्नेभन्दा पनि थाहा पाएर पनि अरू काम गर्ने मान्छेदेखि टिठ लाग्छ । आफैंदेखि टिठ लाग्नुपर्ने अवस्था आउन नदिन नै त म सब गरिरहेको थिएँ । मैले आफ्नो लक्ष्य थाहा पाएकी छु र त्यसको बाटो पनि ठम्याएकी छु । घरमा मैले चाहेजति सहयोग नभए पनि मलाई साह्रै नै अप्ठ्यारो पर्ने गरी विरोध पनि त भएको छैन भनेर चित्त बुझाइरहेकी छु ।
यस्ता साना–तिना समस्या आइरहन पनि पर्नेरहेछ । किनकि संघर्षविनाको सफलता खासै स्वादिलो हुँदैन । म सानैदेखि सफल व्यक्तिहरूको संघर्षबारे चासो राख्थेँ । तिनैले हौसला दिन्छन् र यस्ता समस्यालाई सहजै पचाउने गरेकी छु ।
म नाटक गर्ने कलाकार । रिहर्सल भएको बेला घर जाने कुनै टुङ्गो नहुनु स्वाभाविक हो । घरमा कसैले पनि ‘कहाँ गएर आको’ भनेर नसोधिदिए हुन्थ्योझैं लाग्थ्यो । सोधे पनि म सत्य नै बताउँथेँ कि ‘काममा गएर आएको ।’ तर कामबारे भन्नचाहिँ गाह्रो थियो । परिवारको नजरमा त काम भनेको कि त सरकारी जागीर हुन्थ्यो, कि त कतै पढाउनु । तर मेरो काम त बिल्कुल फरक छ ।
अझै पनि हाम्रा सामाजिक परिवेश सहज छैन । यदि मेरो श्रीमान अरू नै कारणले घर ढिला आए पनि कुनै प्रश्न हुँदैन, तर म आफ्नो कामले ढिला पुग्दा पनि अनेक आरोप लगाइन्छ । कहिले त अचम्म लाग्छ र विडम्बना पनि । म नै महिला हिंसा विरुद्घ नाटक गर्दै हिँड्छु, तर घरमा ठूलो आवाज निकाल्ने आँट गर्न सक्दिनँ ।
फेरि सोच्छु, सबै कुरा एकैचोटी ठीक हुन्छन् भनेर सोच्नु पनि त कमजोरी हो । मलाई थाहा छ, आत्मविश्वासले बिस्तारै जित्दै जानेछु । मेरो सफलताले भोलिका दिनमा अरूलाई आकर्षित गर्नेछु । त्यसैले घरको जस्तोसुकै व्यवहारले पनि मलाई मेरो लक्ष्यबाट विमुख गराउन सक्दैन भन्नेमा विश्वस्त छु । किनकि म मेरो लक्ष्यप्रति इमान्दार छु ।
रंगमञ्चमा काम गर्न थालेदेखि घरमा चाडपर्व, पूजा, जमघट हँुदा म समय दिन पाउँदिनँ । मैले कामलाई प्रथम प्राथमिकतामा राख्दा बिस्तारै आफैं घरको प्राथामिकताभन्दा टाढा जाँदै गरेको महसुस गरेकी छु । एक पटक मैले श्रीमानलाई सोधेकी पनि थिएँ, ‘तपाईं मबाट के चाहनुहुन्छ ?’ उहाँले भन्नुभयो, ‘श्रीमती ।’
मैले मुस्कुराएर भनें, ‘त्यो त यसै पनि छु ।’
उहाँले मतिर नफर्की भन्नुभयो, ‘मलाई माया गर्ने श्रीमती । मेरो हेरचाह गर्ने श्रीमती ।’
मलाइ उहाँको उत्तरले नरमाइलो लाग्योे । मेरो व्यस्तताले माया निर्धारण गरिदिएछ । मसँग समय कम थियो, तर माया त अवश्य नै गर्थें । झन् धेरै खिन्न त त्यसपछि लाग्यो कि उहाँले उहाँले मलाई तिमी चाँही मबाट के चाहन्छौ भनेर सोध्न पनि उचित ठान्नुभएन । सोधेको भए भन्ने थिएँ, ‘म पनि श्रीमान चाहन्छु तपाईंभित्रै, मलाई बुझ्ने श्रीमान । मेरो सपनालाई आफ्नो आँखाबाट हेर्ने, मेरो व्यस्ततामा पनि मलाई माया गर्ने । आधारातमै घर आए पनि काम कस्तो भयो भनेर सोध्ने ।’ यस्तो सोचेर म भावुक भएकी थिएँ ।
नराम्रो मलाइ पनि लाग्छ कहिलेकाहीँ । सोच्छु असल श्रीमती, बुहारी, भाउजू हुन सकिनँ । तर जब पल्टाउछु इतिहासको पाना, त्यस्ता कुनै नारी देख्दिनँ, जसले आफ्नो लक्ष्य प्राप्त गर्न छोडी असल छोरी, बुहारी वा श्रीमती बन्न समय खर्चेका छन् । जो पानामा अंकित छन्, तिनले घरले के भन्छ, समाजले के भन्छ भन्ने सोचेर बसेको भए, त्यहाँ तिनको नाम हुँदैनथ्यो । त्यसैले लाग्छ, म आफ्नै पहिचान बनाउन हिँडेको मान्छे । त्यसैले मलाई अरूले दिएको सम्बन्धको उपनामहरूमा खुसी हुनु छैन ।
यो पनि पढ्नुहोस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण