बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

राजनीतिक हस्तक्षेपको सिकार बन्यो आइटी पार्क

बुधबार, २९ वैशाख २०७३, १२ : ३५
बुधबार, २९ वैशाख २०७३

काठमाडौं - निकै महत्वाकांक्षी योजनासाथ काभ्रेमा निर्माणसम्पन्न भएको तर निर्माणसम्पन्न भएको झन्डै ११ वर्ष बितिसक्दा पनि सञ्चालनमा नआएको भन्दै सुशील कोइराला नेतृत्वको सरकारको विशेष पहलमा काठमाडौँ विश्वविद्यालय, सफ्टेक फाउन्डेसन र क्लाउड फ्याक्ट्री नामक कम्पनीको सहकार्यमा सञ्चालनमा आएको आइटी पार्क झन्डै एक महिनापछि पुनः बन्द भएको छ । करिब एक महिनाअघि नेपाल सरकारले काठमाडौँ विश्वविद्यालय र अन्य दुई कम्पनी सफ्टेक फाउन्डेसन र क्लाउड फ्याक्ट्रीसँग सम्झौता गर्दै तीन संस्थाको सहकार्यमा आइटी पार्कको काम अगाडी बढाउनु भनी पत्र काटेको थियो ।

सरकारको पत्र, ‘काम अगाडि नबढाउनू’

विज्ञान तथा प्रविधि मन्त्रालयले सम्झौताममा संग्लग्न तिनै संस्थालाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्म आइटी पार्क व्यवस्थापन र सञ्चालनसम्बन्धमा कुनै पनि काम अगाडि नबढाउनू भनी पत्र काटेको छ । केही दिनअघि मन्त्रालयको नामबाट तिनै संस्थालाई यस्तो पत्र थमाइएको हो । सरकारका तर्फबाट यस्तो पत्र आएपछि लाखौँ खर्च गरेर आइटी पार्कमा ‘बिजनेस इन्क्युबेसन’ को काम थालिसकेको काठमाडौँ विश्वविद्यालयले हाललाई त्यससँग सम्बन्धित सम्पूर्ण काम स्थगित गरेको छ ।

लाखौँ रुपैयाँ खर्च, काम रोक्न पत्र :

सम्झौताअनुसार तीन संस्थालाई सामूहिक रूपमा आइटी पार्क सञ्चालन गर्नु भनिएको थियो । यसैअनुरूप आइटी पार्क सञ्चालन गर्न आवश्यक पर्ने विभिन्न काम अघि बढिसकेका बेला एक्कासि सबै काम हालका लागि बन्द गर्नू भनी सरकारले पत्र काटेको काठमाडौँ विश्वविद्यालय विज्ञान तथा इन्जिनियरिङ विभाग प्रमुख डा. मनिष पोख्रेलले रातोपाटीलाई बताए । उनी भन्छन्, ‘हामीले आवश्यक पूर्वाधारमा लाखौँ रुपैयाँ खर्चिसकेका छौँ । तीव्र रूपमा कार्य अगाडि बढिरहेको बेला पार्क स्थगित गरिनुले आश्चर्यमा पारेको छ । यसले हामीमात्र होइन, आइटी पार्क सञ्चालनमा आएपछि लाभ लिने सोच बनाएका समग्र जनता दुःखी भएका छन् ।’

रातोपाटीसँग कुराकानी गर्दै काठमाडौँ विश्वविद्यालयका एक प्रतिनिधि भन्छन्, ‘सरकारले सम्झौतालाई रोक्ने मिल्ने ठाउँ नै छैन । न स्पष्ट कारण खुलाइएको छ न कति समयका लागि भन्ने तोकिएको छ । एकलौटी रूपमा सरकारले सबैलाई निराश बनाएको छ । ’

सरकारबाटै सम्झौताविपरीत काम 

नेपाल सरकार र तीन संस्थाबीच भएको सम्झौतामा सम्झौता रद्द गर्न चाहेमा तीन संस्थाका तर्फबाट एक महिनाअगावै सरकारलाई जानकारी गराउनुपर्ने प्रावधान छ । सम्झौतामा नेपाल सरकारले सम्झौता रद्द गर्न पाउने वा काम रोक्न पाउने भनी कतै उल्लेख भएको छैन । रातोपाटीसँग कुराकानी गर्दै काठमाडौँ विश्वविद्यालयका एक प्रतिनिधि भन्छन्, ‘सरकारले सम्झौतालाई रोक्ने मिल्ने ठाउँ नै छैन । न स्पष्ट कारण खुलाइएको छ न कति समयका लागि भन्ने तोकिएको छ । एकलौटी रूपमा सरकारले सबैलाई निराश बनाएको छ । ’

जसको नाममा सझौता, उसकै नामको पत्र 

केही समयअघि सरकार र तीन संस्थाबीच भएको सम्झौतापत्रमा आइटी विभागका तर्फबाट विभागका महानिर्देशक वीरेन्द्रकुमार मिश्रले हस्ताक्षर गरेका थिए । तर, एक महिनापछि उनकै नाममा आइटी पार्कसम्बन्धी काम हाललाई रोक्नू भनी पत्र काटिएको काठमाडौँ विश्वविद्यालय स्रोतले बतायो । ‘आइटी पार्क सञ्चालनमा आएको दिनदेखि आजका दिनसम्म पार्क सञ्चालन रोक्नुपर्ने त्यस्तो कुनै काम भएको छैन । एक्कासि पत्र आयो, अचम्ममा परेका छौँ । अझ जसको नाममा सम्झौतामा हस्ताक्षर छ, उनकै नाममा पार्क सञ्चालन नगर्नू भनी आएको पत्रले आश्चर्य र दुःखी छौँ,’ काठमाडौँ विश्वविद्यालयका अर्का एक प्रतिनिधिले रातोपाटीलाई सुनाए ।

माथिको आदेश : आइटी विभागका महानिर्देशक

सञ्चालनमा आएको एक महिनापछि नै आइटी पार्क किन बन्द भयो भन्ने प्रश्नमा आइटी विभागका महानिर्देशक वीरेन्द्रकुमार मिश्र भन्छन्, ‘मैले आइटी पार्क चलाउन बलबुताले भ्याएसम्म काम गरेको हुँ । तर, के कारणले पार्क स्थगन गरिएको हो भन्नेबारे मलाई पनि औपचारिक जानकारी दिइएको छैन ।’ माथिल्लो निकायबाटै आएको आदेशअनुसार तत्काललाई पार्क सञ्चालनमा कठिनाइ भएको उनको भनाइ छ । यद्यपि, उनले यसअघि गरिएकै सम्झौताअनुसार आइटी पार्क चलाइने दाबी गरे । आइटी पार्क चलाउन सुशील कोइराला नेतृत्वको सरकारले गत वर्षको जेठमा सूचना प्रविधि पार्क सञ्चालन र व्यवस्थापनसम्बन्धी मन्त्रिपरिषद्ले निर्देशिका पारित गरेसँगै सार्वजनिक निजी साझेदारीअनुसार काठमाडौँ विश्वविद्यालय र दुई निजी कम्पनीलाई छनोट गरी दुईपक्षीय सम्झौता गरिएको थियो ।

मन्त्रालय स्रोत भन्छ, ‘अध्ययन हुँदै छ’

यता, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार आइटी पार्क चलाउन सूचना प्रविधिसम्बन्धी बृहत् अनुसन्धान आवश्यक पर्ने र सो कार्यपछि मात्रै आइटी पार्क सञ्चालनमा ल्याउने निर्णय भएको छ । विज्ञान तथा प्रविधिमन्त्री र सचिवसँगको छलफलमा पार्कलाई एकीकृत रूपमा विकास गर्न थप अध्ययन गर्ने भन्दै यसअघि भएको सञ्चालन सम्झौता स्थगित गरिएको बताइएको छ । यस विषयमा थप अध्ययन भइरहेको मन्त्रालय स्रोतले रातोपाटीलाई बतायो ।

स्थानीय निराश 

११ वर्षपछि बल्लबल्ल सञ्चालनमा आएको आइटी पार्क पुनः बन्द हुने भएपछि स्थानीय निराश भएका छन् । आइटी पार्क सञ्चालनसँगै वरपरको व्यापार तथा व्यवसाय बढ्ने र समग्र देशको प्रविधि क्षेत्रमा त्यसले महत्वपूर्ण योगदान दिने विश्वास लिइएको भए पनि एकाएक पार्क बन्द हुने भएपछि आफूहरू निकै निराश भएको स्थानीयको भनाइ छ । बनेपानिवासी सुजन श्रेष्ठ भन्छन्, ‘११ वर्षसम्म सञ्चालनमा नआएको पार्क सञ्चालनमा आउने भएपछि निकै खुसी लागेको थियो । तर, एकाएक आइटी पार्क बन्द हुने खबरले स्तब्ध बनेका छौँ ।’

पर्दापछाडि ठूलै गिरोह

विगतदेखि नै आइटी पार्क सञ्चालन गर्न नदिन ठूलै गिरोह लागिपरेको सरोकारवालाको भनाइ छ । आफ्नो नाम नबताउने सर्तमा विज्ञान तथा प्रविधि मन्त्रालयकै एक कर्मचारी भन्छन्, ‘आइटी पार्कको जिम्मा काठमाडौँ विश्वविद्यालयलाई नै किन दिने, दुई निजी कम्पनीका ठाउँमा आफूनिकटका कम्पनी किन नपार्नेजस्ता कुरामा मन्त्रालयमै विभिन्न विवाद भइरहेको छ । पार्क सञ्चालनमा आएको दिनदेखि नै मन्त्रालयमा अनेकौँ विवाद र बखेडा झिकिएका छन् । यसमा विज्ञान तथा प्रविधि मन्त्रालयमात्र होइन, अर्थ मन्त्रालयको पनि ठूलो खेल छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप