सहयोद्धालाई पत्र : ती दिन अझै बिर्सिएको छैन
प्रिय कमरेड जीवन बुढा,
बिहानीको हार्दिक अभिवादन तथा मिठो सम्झना !
स्वास्थ्य उस्तै छ। मैले जस्तै तपाईंले पनि शरीरभरि बारुदको धुवाँको गन्ध र युद्धका सम्झनाहरू बोकेर हिँडिरहनुभएको छ।
शरीरमा गोलीका छर्रा छन्, छालामा नमेटिने युद्धका घाउका दाग छन्। त्यसैले "आराम छु" भन्ने साहस हामी दुवैसँग छैन। म त पाँच–पाँचवटा आङ नै जिरिङ्ग पार्ने रोगको भारी बोकेर पनि संसारलाई झुटो मुस्कान बाँड्दै बाँचिरहेको छु। तपाईं स्वस्थ, दीर्घायु र उत्साही रहनुहोस् भन्ने हार्दिक कामना गर्दछु।
अस्ती मात्रै धरहरा नजिकको ‘धरहरा टपरी मःमः’ को बार्दलीमा हाम्रो भेट भयो—तपाईं, युगान्त र म। त्योभन्दा अघि पनि धेरै ठाउँमा भेट भइरहन्थ्यो। हात मिलाउँथ्यौँ, मुस्कुराउँथ्यौँ, तर मनका कुरा कहिल्यै पूरा गर्न पाउँदैनथ्यौँ। सिंहदरबारभित्र पनि पटक–पटक भेट भयो। तपाईं राष्ट्रिय सभा सदस्यका रूपमा, म त्यहाँ एउटा सामान्य आगन्तुकका रूपमा। तर हरेक भेटमा मनभित्र युद्धका ती असंख्य दुःख, संघर्ष, बलिदान र केही मीठा सम्झनाहरू एकैपटक उर्लिएर आउँथे। ती सम्झनाहरू न बिसाउन सकिन्छ, न बिर्सन। सबैभन्दा ठूलो पीडा त यो रह्यो कि देश र जनताको जीवन परिवर्तन गर्ने हाम्रो साझा सपना अझै अधुरै छ।
जीवनजी, तपाईंलाई याद छ? जुनी कम्युनमा १५० वटा राता खुर्सानी खाने बाजी! हामीसँग त्यो बाजी जित्ने कैलालीका थारूका रातो छोरा, प्रिय कमरेड प्रहार। उनी जुम्ला–कालिकोटका अग्ला हिमाल चढ्न पनि बाजी लगाउँथे। म बाटोभरि कथा, कविता र सायरी सुनाउँथेँ, उनी हाँस्दै भन्थे, "वाह! क्या दामी!" अनि तपाईंलगायत सबै कमरेडहरू मधुर ताली बजाउँदै कठिन यात्रा पनि सहज बनाइदिनुहुन्थ्यो।
हामी सबैको एउटै उद्देश्य थियो—सयौँ जनमुक्ति सेनाका योद्धाहरूलाई सुरक्षित रूपमा लेक–बेँसी पार गराउँदै गन्तव्यसम्म पुर्याउनु। भोक, तिर्खा र निद्रालाई बिर्सेर हजारौँ माइलको कठिन यात्रा तय गर्नु। काँधमा मेसिनगन, मनमा जितको अटल विश्वास। हार हाम्रो शब्दकोशमा थिएन। यदि हार आयो भने पनि त्यसलाई जितमा बदल्ने अठोट हामीसँग थियो।
कमरेड प्रहारको सम्झना आउँदा सिनियर कमाण्डर कमरेड मदन दाइको अनुहार पनि आँखाअगाडि आउँछ। यात्राभरि उहाँले युद्ध, अनुशासन, संगठन र जीवनका अमूल्य पाठ सिकाउनुहुन्थ्यो। त्यसपछि कैलालीको खिमडीमा सरकारी फौजसँग भएको भिडन्त... सेम ब्युरो इन्चार्ज तथा कमिसार कमरेड प्रभाकर स्वयं असल्ट टोलीसँगै अग्रपङ्क्तिमा उत्रिनुभएको दृश्य आज पनि ताजै छ। हामीलाई ऊर्जा दिने कमरेड सुदर्शन, कमरेड लेखराज भट्ट, कमरेड पम्फा भुसाल ‘विद्युत’, कमरेड हितराज पाण्डे, संजय, रमेश कोइराला, खगराज भट्ट ‘विनोद’, श्रवण दाइ, मुक्ति, प्रज्ज्वल, सिंहराज, अंकित, एटम, रोशनलगायत सबै कमिसार, कमाण्डर र वीर योद्धाहरूको सम्झना बारम्बार मनमा आइरहन्छ।
तर त्यही भिडन्तमा हामीले आफ्ना अत्यन्त प्रिय सहयोद्धा कमाण्डर कमरेड प्रहार, कमरेड समीललगायतका अमूल्य साथीहरू गुमायौँ। उहाँहरू अमर शहीद बन्नुभयो। हामीले उहाँहरूको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै अधुरो सपना पूरा गर्ने प्रतिबद्धता दोहोर्याएका थियौँ। आज फेरि मुक्तियुद्धमा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने कमरेड प्रहार, कमरेड समील तथा सम्पूर्ण महान् शहीदहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।
यी सबै सम्झनाहरू एउटै पत्रमा समेट्न सम्भव छैन, कमरेड। फेरि अर्को अवसरमा ती अधुरा कथाहरू पनि सँगै सम्झौँला।
जीवनजी, हिजो मात्रै मेरी पुरानी शुभेच्छुक तथा सहयात्री बहिनी कमरेड कौशिला शाहले म्यासेन्जरमा एउटा मधुरो तस्बिर पठाइदिनुभयो। तपाईंलाई त तुरुन्तै चिनेँ, तर रातो क्यापले छोपिएको आफ्नो अनुहारको एउटा कुनो मात्र देखेर आफूलाई चिन्न सकिनँ। पछि कौशिलाजीलाई सोधेँ, अनि थाहा भयो—त्यो त म नै रहेछु। त्यसपछि सम्झनाको आँधी चल्न थाल्यो, र यही पत्र जन्मियो। साथै, धन्यवाद छ, बहिनी कौशिला शाह!
लौ त भन्नुहोस्, त्यो तलको तस्बिर कुन ठाउँको हो? तपाईंलाई अझै याद छ?
अहिले त लामो पत्र लेख्ने र पढ्ने फुर्सद कसैसँग कहाँ छ र! फेसबुक, टिकटक र इन्स्टाग्रामका पोस्टमै समय बित्ने युग आएको छ। त्यसैले यो सम्झनालाई पनि फेसबुकमार्फत तपाईंहरूसँग बाँडेको छु। समय मिलाएर अवश्य पढ्नुहोला भन्ने विश्वासका साथ आज यत्तिमै बिदा हुन्छु।
अभिवादनसहित धेरै–धेरै सम्झना छ—ती यात्राका सबै प्रिय मनहरूलाई।
उही तपाईंको प्रिय सहयोद्धा,
विकल्प
२०८३ असार ३१, बुधवार
हाल : काठमाडौं।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
-
सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
-
मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकी
-
बैतडी प्रशासनको ‘वन आवर सर्भिस’ सुरु
-
कर्णालीमा प्रतिपक्षी नेकपाले भन्यो- कांग्रेसले चाहे सत्ता सहकार्यको ढोका खुला छ
-
इरानी आक्रमणपछि बेपत्ता भारतीय इन्जिनियरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण