बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

आईसीसीद्वारा विश्वकपको ढाँचामा ठुलो फेरबदल

बुधबार, ३१ असार २०८३, १७ : ३४
बुधबार, ३१ असार २०८३

सारांश

  • आईसीसीले सन् २०२७ एकदिवसीय विश्वकप र २०२८ टी-२० विश्वकपको ढाँचामा व्यापक परिवर्तन गरेको छ।
  • सन् २०२७ को एकदिवसीय विश्वकपमा १४ टोलीले तीन चरणमा प्रतिस्पर्धा गर्नेछन्, जसमा सुपर सिरिज, सुपर ७ र सेमिफाइनल समावेश छन्।
  • सन् २०२८ को टी-२० विश्वकपमा २० टोलीले समूह चरण, सुपर १०, इलिमिनेटर्स र सेमिफाइनल गरी नयाँ ढाँचामा खेल्नेछन्।

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एडिनबर्गमा सम्पन्न आफ्नो वार्षिक साधारण सभाबाट आगामी दुई ठुला वैश्विक प्रतियोगिताहरूको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको छ। 

खेललाई अझ अर्थपूर्ण, प्रतिस्पर्धी र रोमाञ्चक बनाउनका लागि आईसीसी बोर्डले सन् २०२७ को एकदिवसीय विश्वकप र सन् २०२८ को टी-२० विश्वकपको संरचनामा सुधार गरेको हो। 

एसोसिएट राष्ट्रका तीन प्रतिनिधिहरू समेत सम्मिलित आईसीसी बोर्डले मुख्य कार्यकारी अधिकारीहरूको समितिबाट प्राप्त सिफारिसका आधारमा यो नयाँ ढाँचालाई अनुमोदन गरेको हो। आईसीसीका अनुसार यो नयाँ व्यवस्थाले खेलको प्रतिस्पर्धात्मक स्तरलाई माथि उठाउनेछ भने खेलाडी र दर्शक दुवैका लागि प्रतियोगिताको अनुभवलाई अझ उत्कृष्ट बनाउनेछ।

दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने सन् २०२७ को एकदिवसीय विश्वकपमा साबिककै १४ टोलीहरू सहभागी हुने भए तापनि यसको खेल ढाँचा भने तीन चरणको हुनेछ। पहिलो चरणमा छनोट भएका १४ टोलीमध्ये वरीयताको पुछारमा रहेका तीन टोलीले ‘सुपर सिरिज’ अन्तर्गत राउण्ड रोबिन ढाँचामा खेल्नेछन्, जसको विजेता अर्को चरणमा प्रवेश गर्नेछ।

दोस्रो चरणमा बाँकी रहेका १२ टोलीलाई ६–६ टोलीको दुई समूहमा विभाजन गरी कुल ३० खेल खेलाइनेछ। प्रत्येक समूहका शीर्ष तीन टोली र दुवै समूहमध्येकै अर्को एक उत्कृष्ट टोली गरी कुल सात टोली ‘सुपर ७’ चरणमा पुग्नेछन्।

तेस्रो चरण अर्थात् सुपर ७ मा यी सात टोलीबीच २१ वटा राउण्ड रोबिन खेलहरू हुनेछन्, जसमध्ये शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलमा पहिलो स्थानको टोलीले चौथो र दोस्रो स्थानको टोलीले तेस्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै, अस्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रूपमा आयोजना हुने सन् २०२८ को टी-२० विश्वकपमा पनि टोलीको सङ्ख्या २० नै रहनेछ। तर यसको ढाँचामा गरिएको परिवर्तनले उदाउँदा राष्ट्रहरूलाई दोस्रो चरण अर्थात् ‘सुपर १०’ मा पुग्न सहज मार्ग प्रशस्त गर्नेछ।

नयाँ नियमअनुसार समूह चरणमा सहभागी २० टोलीलाई चार–चार टोलीको पाँच समूहमा विभाजन गरिनेछ, जबकि सन् २०२६ को विश्वकपमा पाँच–कात् पाँच टोलीको चार समूह बनाइएको थियो। कुल ३० खेल हुने यो पहिलो चरणबाट प्रत्येक समूहका शीर्ष दुई टोलीले सुपर १० मा स्थान बनाउनेछन्।

सुपर १० चरणमा पाँच–पाँच टोलीको दुई समूह रहनेछन् र उनीहरूबीच २० वटा राउण्ड रोबिन खेलहरू हुनेछन्। दुवै समूहका विजेताहरू सिधै सेमिफाइनलमा प्रवेश गर्नेछन् भने बाँकी दुई सेमिफाइनलिस्टको टुंगो नयाँ ‘इलिमिनेटर्स’ चरणबाट लाग्नेछ। 

इलिमिनेटर्समा एक समूहको दोस्रो स्थानमा रहेको टोलीले अर्को समूहको तेस्रो स्थानमा रहेको टोलीसँग खेल्नेछ। यी दुई खेलका विजेताहरू सेमिफाइनलमा पुग्नेछन् भने सेमिफाइनल र फाइनल खेलहरू साबिककै प्रणालीअनुसार सञ्चालन हुनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप