बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नीति तथा कार्यक्रम झुटको पुलिन्दा–काँग्रेस

बुधबार, २९ वैशाख २०७३, १३ : ०२
बुधबार, २९ वैशाख २०७३

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम ‘झुटको पुलिन्दा’ भएको टिप्पणी गरेको छ ।

व्यवस्थापिका–संसदको आजको बैठकको सुरुमा नै सो दलका सांसद अर्जुननरसिंह केसीले भूकम्पपीडित जनतालाई राहत दिनुको साटो हरेक गाविस र गाउँमा ‘हेलिप्याड’ बनाउने कार्यक्रम राखेर लोकप्रिय बन्ने प्रयास गरेको आरोप लगाए ।

व्यापार घाटा घटाउने तर्फ सरकारले ध्यान नदिएको, आर्थिक वृद्धिदर १४ वर्षपछि ०.७७ प्रतिशतमा सीमित हुन पुगेको, भूकम्पपीडितले राहत नपाएको, लामो समयदेखि आन्दोलनरत मधेसवादी दल, थारु, आदिवासी जनजातीको माग सम्बोधन गर्न नसकेको भन्दै उनले व्यवहारिक र वस्तुनिष्ठ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

बाढिपीडित, अग्निपीडित जनतालाई राहत दिने तर्फ कुनै प्रयास नगरेको उल्लेख गर्दै नेता केसीले सबै पक्षको सहमतिमा स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा सत्तागठबन्धनमा सहभागी दलसँगै छलफल नभएको गुनासो आइरहेकाले बेला निर्वाचन कसरी हुनसक्छ भन्ने प्रश्न गरे ।

तर प्रमुख सत्तारुढ दल नेकपा एमालेका सांसदले भने सरकारको नीति तथा कार्यक्रम समय सान्दर्भिक र वस्तुनिष्ठ रहेको भन्दै प्रतिरक्षा गरे ।

सो दलका सांसद अष्टलक्ष्मी शाक्यले संविधानको सहज कार्यान्वयनका लागि सरकारले नीति तथा कार्यक्रम अगाडि सारेको, लामो समयदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन गर्ने घोषणा हुनु, भूकम्पपीडितलाई एक घर एक रोजगार दिने, आगामी पाँच वर्षभित्र भूकम्प प्रभावित सबै संरचनाको निर्माण गर्ने, समृद्ध तराई–मधेस सिँचाइ कार्यक्रम अगाडि बढाउने घोषणा उल्लेख्य रहेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप