बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चितवन प्रहरीले धमाधम दलाल समाउँदै

शुक्रबार, ०७ जेठ २०७३, १७ : १२
शुक्रबार, ०७ जेठ २०७३

भरतपुर–अस्पताल तथा बसपार्क क्षेत्रमा विचौलिया (दलाल)को काम गर्नेहरुलाई प्रहरीले धमाधम पक्राउ गरी मुद्दा चलाउन थालेको छ । तिनले सोझासाझालाई सहयोग गरेको बहानामा ठगेको आरोप प्रहरीको छ ।

प्रहरीले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर हाताबाट १५ जना र नारायणगढको पुलचोक क्षेत्रबाट यात्रुलाई तानातान गरी दुःख दिएको भन्दै ४ जनालाई पक्राउ गरेको छ । उनीहरु सबैलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।

उपचार गराउन अस्पताल आउनेहरुलाई चिकित्सक भेट गराइदिने, सस्तोमा प्रयोगशाला परीक्षण गरिदिने, सस्तोमा मिठो खाना खुवाउने, छिटो उपचार गराउने व्यवस्था मिलाइदिने भन्दै सेवाग्राही विचौलियाको जालोमा पर्ने गरेका थिए । अस्पतालको कमजोर व्यवस्थापनका कारण विचौलियाहरुले बिरामी तथा तिनका आफन्तलाई आफ्नो पक्षमा ल्याउँदै कमाउ धन्दामा सक्रिय भएको प्रहरीको आरोप छ ।

गेटभित्रने बित्तिकै विचौलियाको चहलपहल देखेरपनि अस्पताल प्रशासन मौन बस्ने गर्थे । करिब १० वर्ष यता यस्तो काम हुने गरेको जानकारहरु बताउ“छन् । रेडियोथेरापी, सिटिस्क्यान मेसिन, एमआरआई जस्ता मेसिन बिग्रिएपनि तत्काल मर्मत नभएपछि अधिकांश निजी ल्याबतिर धाउनुपर्ने अवस्था थियो । अन्य परिक्षणका लागिसमेत कर्मचारीहरुले निजी ल्यावमा पठाउने गर्ने बिरामीको गुनासो रहँदै आएको थियो ।

गुनासो बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय चितवनले दिउँसो अस्पताल क्षेत्रमा निगरानी बढाएको थियो । बिरामीलाई आफ्नो क्लीनिक, होटल, ल्याबमा लैजान फकाउँदै गरेको अवस्थामा १५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवका प्रमुख बसन्तबहादुर कुँवरले गुनासो बढेपछि विचौलिया हटाउने कार्य सुरु गरेको बताए ।

‘आफ्नो प्रभावमा पारेर महँगो शुल्क तिर्न लगाउने, अनावश्यक दुःख दिने गतिविधिमा संलग्नलाई कारबाही गर्दैछौं’, उनले भने, ‘अस्पताल क्षेत्र, बसपार्क क्षेत्रमा व्याप्त विचौलियाको प्रभाव हटाउने मिसन सुरु भएको छ ।’ अभियानकै क्रममा विचौलियालाई निरुत्साहित पार्ने, कारबाहीको दायरामा ल्याउन प्रहरीले कडा निगरानी गर्ने बताए । ‘सेवाग्राहीलाई अनावश्यक दुःख दिने कार्य अन्य सरकारी कार्यालय, अस्पतालमासमेत हुने गरेको सूचना आएको छ’, उनले भने, ‘सूचनाका आधारमा विचौलियालाई पक्राउ गरिने छ ।’

प्रहरीले उनीहरुलाई यस्तो कार्य नगर्न आग्रह गर्दा उनीहरुले ‘आफ्नो पेशानै यस्तै हो’ भन्ने जवाफ दिएका थिए । क्यान्सर अस्पतालमा विचौलियाका रुपमा स्थानीय नै सक्रिय रहेको पाइएको छ । अस्पताल आसपासकै स्थानीय विचौलियाका रुपमा प्रयोग हुने गरेको पाइएको छ । पक्राउ पर्नेमा सबै भरतपुर उपमहानगरपालिका ७ का छन् ।

तर, प्रहरीले विचौलियाको आरोपमा पक्राउ गरेको व्यक्तिहरु क्यान्सर आसपासका होटल व्यवसायी भएको र तिनीहरु सबै गलत काममा नलागेको भन्दै होटल व्यवसायी संघका अध्यक्ष डासीराम ढकालले सबैलाई समान दृष्टिकोणले हेर्न नहुने’ बताए । ‘केही गलत पनि होलान्’, उनले भने, ‘तर, भेटेजति सबैलाई गलत गरिराछस् भनेर सोहोर्नु हुन्नथियो ।’ चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले विचौलिया मौलाउँदै गएको व्यापक जनगुनासो आएकोले प्रशासनले ‘एक्सन’ लिएको भन्दै कारबाही प्रक्रियामा अवरोध नगर्न र बरु सघाउन अनुरोध गरे ।

यस्तै यात्रुहरुलाई अनावश्यक दुःख दिएको भन्दै ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नारायणगढको पुलचोक क्षेत्रमा गन्तव्यमा पुग्न हतारिएका यात्रुहरुलाई तानातान गर्ने गरी हैरान पार्नेहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भरतपुर–२ का १८ वर्षीय साजन सुनार र १८ वर्षीय अनिष श्रेष्ठ, भरतपुर–२१का अशोक पुन र भरतपुर–१ का सानु लामा छन् । उनीहरुलाई पनि सार्वजनिक अपराध ऐनअनुसार मुद्दा दर्ता गरिएको छ । आज क्यान्सरका ५ कर्मचारी पक्राउ, क्यान्सर अस्पताल भरतपुरमा कार्यरत कर्मचारीहरुले बिरामी तथा आफन्तीहरुलाई नजिकैका नीजि क्लिनीक तथा होटलहरुमा पु¥याउने काम गरेपछि प्रहरीले कारवाहि गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले विचौलियाका रुपमा काम गर्दै आएका ५ जनालाई आज विहान पक्राउ गरेको छ ।

प्रहरीले विचौलियालाई निरुत्साहीत गर्न कडा निगरानी गर्दै आएको छ । अस्पतालभित्रै सेवा लिन भन्दा अस्पताल बाहिरका नीजि ल्याव तथा क्लिनिक पु¥याउन कर्मचारीकै सहयोग हुने गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुृर उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ३४ को प्रमिला घिमिरे, भरतपुृर उ.म.न.पा.वडा नं.१० बस्ने वर्ष ४० को सोवित लाल यादव, भरतपुृर उ.म.न.पा.वडा नं.२४ बस्ने वर्ष ४२ को सोमराज नागिला, माडी न.पा.वडा नं.१० बस्ने वर्ष २६ को दिपक सापकोटा, सिराहा न.पा.वडा नं.९ बस्ने बर्ष ४२ को दानी कुमार यादवलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएपछि यस्तो कार्य नगर्न सम्झाएका थिए । उनीहरुले प्रहरीलाईनै ‘मिलेर काम गरौं तपाईहरुलाई समेत फाईदा हुन्छ’ भन्दै आर्थिक प्रलोभन समेत देखाएका थिए । उनीहरुलाई सार्वजनिक (अपराध र सजाँय) ऐन २०२७ अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप