बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्तो छ पत्रकारहरुले विद्यालय बनाएको कथा

शुक्रबार, ०७ जेठ २०७३, १८ : १२
शुक्रबार, ०७ जेठ २०७३

२०७२ वैशाख १२ गते मुलुकमा विनासकारी भूकम्प गएपछि देशभर धेरै विद्यालय भत्किए । जनस्तरमा घर भत्किएका घरको संख्या लाखौं छ । हजारौंको संख्यामा विद्यालय काम नलाग्ने भए । त्यसैमध्येको एक विद्यालय चितवनको विकट लोथर–७, स्यामराङस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालय ।

१६६ जना विद्यार्थी पढ्ने सो विद्यालयको ६ कोठामध्ये दुईवटा कामै नलाग्ने गरी भत्कियो । बाँकी २ सगलो भएपनि अर्को दुई कोठा आंशिकरुपमा क्षतिग्रस्त बन्यो । निकै टाढा र भौगोलिक रुपमा कठिन भएकाले जिल्लास्थित सरकारी निकायसमेत लगत संकलनका लागि तुरुन्तै जान सकेनन् त्यहाँ । तर, चितवनमा क्रियाशील पत्रकारहरुको एउटा समूह त्यहाँ पुग्यो । ‘हामी पुग्दा विद्यालय भवन बिग्रिएको भेट्यौं’, सुरुमा पुग्नेमध्येका एक पत्रकार विमल खतिवडाले भने, ‘अनि पुनर्निर्माण गर्न पाए कति मज्जा हुन्थ्यो भन्ने लाग्यो ।’ त्यतिबेलासम्म उनी र उनका साथीहरुले भूकम्पप्रभावितका लागि राहत अभियान चलाइसकेका थिए । अभियानको नाम दिएका थिए, ‘हामीले नगरे कसले गर्ने ?’ नाराका रुपमा सुरु गरिएको यो उक्ति सबैले मन पराए । ‘लोथरको सिकाई क्षेत्रमा भूकम्पप्रभावितहरु खान नपाएर बसेका छन् रे भन्ने सुनेपछि राहत लिएर जाने सोच्यौं’, अभियानका सुरुआती अगुवा राजेश घिमिरेले भने, ‘अनि फेसबुकमा पोष्ट गर्दा कताकताबाट फ्याट्टै यो उक्ति आयो ।’ त्यसपछि राहत संकलनको माध्यम नै फेसबुक बन्यो ।

अहिलेको दरिलो शक्ति सामाजिक सञ्जाल फेसबुक प्रयोग गरेर उनीहरुले राहत संकलन गरे र सम्बन्धित ठाउँमा वितरण पनि गरे । “हामी सेतु बन्यौं”, अर्का अभियान्ता विनोदबाबु रिजालले भने, ‘गाउँमा राहत नपाएर भोकै बसेका मान्छे थिए, बजारमा लौ न पु¥याइदेऊ भन्ने मान्छे थिए । तिनीहरुलाई जोड्ने सेतुको आवश्यकता थियो र हामीले त्यसको काम ग¥यौं ।’

उनीहरुको अभियानले ४ जिल्ला चितवन, गोरखा, धादिङ र मकवानपुरका १७ ठाउँमा राहत वितरण ग¥यो । त्यही मेसोमा कयौं विद्यालयमा टहरा बनाउन जस्तापाता, विद्यार्थीलाई झोला, स्टेशनरीलगायत वितरण ग¥यो । सयौंले राहत पाए । “राहत लैजाने बेला अरुले सजिलो ठाउँ रोजे”, घिमिरेले भने, “हामीले त्यस्तो खोजेनौं, जहाँ विकट छ र राहत पुगेको छैन, त्यहाँ हामी गयौं ।” यो क्रममा उनीहरुले चामलको पोको बोकेर भूकम्पको केन्द्र गोरखाको बारपाकको सिमानामा पर्ने सिमजुङ, मकवानपुरको निकै विकट काँकडा, पहाडै चिरिएको चितवनको लोथर एसिकाईजस्ता ठाउँसम्मको यात्रा गरे । “गाडीको ट्रयाकमात्रै खोलिएको बाटो निकै डरलाग्दा थिए”, अभियान्ता कल्पना बस्ताकोटी भन्छिन्, “गाडीमा चढ्दा आँखा चिम्लिएर कयौंपल्ट रामराम भनिएको छ ।”

अभियानबाट संस्थाको जन्म सुरुआतमा ५ पत्रकार राजेश घिमिरे, विनोदबाबु रिजाल, अनिल ढकाल, विमल खतिवडा र रामकान्त पौडेल मात्रै अभियानमा थिए । पछि बैंकर कल्पना बस्ताकोटी थपिइन् । राहतको काम गर्दागर्दै उनीहरुले अब दीर्घकालीन असर देखिने काम गर्नेबारे सोच बनाए । “सुरुआतमा तत्कालीन राहत नै पहिलो आवश्यकता थियो”, रिजालले भने, “तर, त्यसको चरण क्षणिक थियो, त्यो सकिएपछि अब दीर्घकालीन असर गर्ने काम गर्नुपर्छ भन्ने सोच हामीमा आयो ।”

त्यसपछि उनीहरुले लोथर–७, स्यामराङको ढलेको विद्यालय सम्झिए । त्यसलाई पुनर्निर्माण गर्नेबारे सोचे । शिक्षा कार्यालयसँग अनुमति पनि मागे । “तर, अभियानकै नाममा मात्र विद्यालय बनाउन नपाइने रहेछ”, अभियान्ता अनिल ढकालले भने, “संस्था गठन गरेर आउनू भनेपछि त्यतैतिर लागियो ।” त्यसपछि त्यही नारालाई संस्थाको नाम दिएर उनीहरुले जिल्ला प्रशासन कार्यालय चितवनमा हामीले नगरे कसले गर्ने ? सामाजिक संस्था गठन गरे । “सुरुआतमा त संस्थाको नाम नै यही राख्दा कस्तो अमिल्दो जस्तो लाग्यो”, ढकालले भने, “पछि बानी प¥यो ।” संस्था दर्ताकै क्रममा उनीहरुसँग अर्का पत्रकार नवराज मिश्र पनि थपिए ।

कसरी संकलन भयो पैसा ? पत्रकार भएकाले उनीहरुको नेटवर्क फराकिलो हुने नै भयो । त्यसमा पनि उनीहरुले शक्तिशाली सामाजिक सञ्जालको प्रयोग गरे । राहतको चरणदेखि नै गाउँका समस्या फोटोसहित फेसबुकमा पोष्ट गर्ने गरे । “त्यसलाई हेरेपछि सहयोग गर्नेको लर्को लाग्यो”, अभियान्ता रामकान्त पौडेलले भने, “हामीले त्यसलाई बैंक खातामार्फत व्यवस्थित ग¥यौं र आएको र खर्च भएको सबै विवरण फेसबुकमै सार्वजनिक ग¥यौं ।” विद्यालय बनाउन लागेको जानकारी फेसबुकमा देख्नेबित्तिकै देश विदेशबाट सहयोगको ओइरो लाग्यो । चितवन सहायता कोष (क्याट) बेल्जियमले ७ लाख ५० हजार रुपैयाँ स्कूल पुगेरै हस्तान्तरण ग¥यो ।

उनीहरुले अन्तर्राष्ट्रिय प्रतिनिधि पनि बनाए । त्यसमध्ये जापानका लागि अन्तर्राष्ट्रिय प्रतिनिधि दीपक नेपालले सबैभन्दा बढी मेहनत गरे । उनले जापानमा सञ्चालन गरेको अभियानबाट ५ लाख २७ हजार १८१ संकलन गरे । अमेरिका प्रतिनिधि रामचन्द्र बस्ताकोटीले १ लाख ६ हजार ८४८, फ्रान्स प्रतिनिधि किशोर आचार्यले संकलन गरेको १ लाख २ हजार ४५५ संकलन गरे ।

तीबाहेक छोरी परियोजना बेल्जियमले दिएको १ लाख, महेन्द्र सुवेदीले ६० हजार, कुशल श्रेष्ठले ४० हजार, प्रकृति इन्टरनेशनल जापानले ३१ हजार, रिषेन्द्र भुषालले २७ हजार, सिरियाली नागरिक मोहम्मद जोहाले १३ हजार ४३५, माया कार्कीले १० हजार सहयोग गरे । उनीहरुले यहीबीचमा संस्थाको लोगो अंकित टिसर्ट बिक्री सुरु गरे । यो निकै लोकप्रिय भयो । “एउटा टिसर्टबाट ५ सय बचत हुने गरी बिक्री गरियो”, अभियान्ता नवराज मिश्रले भने, “यो काम पनि निकै लोकप्रिय भयो ।” टिसर्टबाट २ लाख ८ हजार ५४७ रुपैयाँ संकलन भयो । त्यस्तै विद्यालय भवनका लागि आवश्यक १० बण्डल जस्तापाता सामरी उत्थान सेवा काठमाडौंले सहयोग ग¥यो ।

नर्सिङ विद्यार्थी पढाउँदै संस्थाको संयोजनमा धादिङको विकट गाउँ जोगीमाराकी सरिता चेपाङले अहिले नर्सिङ पढिरहेकी छन् । एसएलसी परीक्षामा ७४.६ प्रतिशत अंक हासिल गरेपनि उच्च शिक्षा पढ्ने स्रोत नभएपछि छटपटाएकी चेपाङको उद्दार गरी भरतपुरमा नर्सिङ पढाइदै छ । उनी चेपाङ छात्रामा हालसम्मकै उच्च स्कोर ल्याउने छात्रा हुन् । उनले प्रवीणता प्रमाणपत्र तह नर्सिङ पढ्नका लागि शतप्रतिशत छात्रवृत्तिमा नाम निकालेकी छन् । तर, खान बस्नका लागि सहयोग जुटाएर संस्थाले नै भरतपुरमा रेखदेख गरी राखेको छ । उनको पढाइमा सबैभन्दा बढी चितवन समाज भिक्टोरिया अष्ट्रेलियाले सहयोग गरेको छ ।

कार्यसमिति हेरफेर सुरुआतमा संस्थाको नेतृत्व राजेश घिमिरेले गरेका थिए । पछि उनी रोजगारी सिलसिलामा जापान गए । त्यसपछि तत्कालीन उपाध्यक्ष विनोदबाबु रिजाल अध्यक्ष बने । सदस्य नवराज मिश्र उपाध्यक्ष बने । खाली एक सदस्यमा अर्का पत्रकार दिपेन्द्र अधिकारीलाई ल्याइयो । सचिव अनिल ढकाल, कोषाध्यक्ष कल्पना बस्ताकोटी, सदस्य विमल खतिवडा र सदस्य रामकान्त पौडेललाई जस्ताको त्यस्तै राखियो । सल्लाहकारमा ४ जना पत्रकार र १ जना समाजसेवी छानिए ।

भवन बनाउन निकै गाह्रो बैंक खातामा पैसा त पर्याप्त जम्मा भयो । तर, भवन बनाउन निकै गाह्रो भयो । भौगोलिक विकटताले गर्दा साह्रै समस्या भयो । त्यहीबेला भारतले नेपालमा नाकाबन्दी ग¥यो । इन्धनको भाउ ह्वात्तै बढ्यो । पहिले १० हजारको ढुवानी भाडा २२ हजारसम्म पुग्यो । गाडीले झारेको ठाउँबाट एकबोरा सिमेन्ट बोकेको ३ सय रुपैयाँसम्म प¥यो । यसले गर्दा विद्यालयसम्म पु¥याउँदा प्रतिबोरा सिमेन्टको मूल्य २ हजारसम्म पनि पुग्यो । “अर्को समस्या भनेको गाउँमा दक्ष जनशक्ति नपाउने भयो”, अध्यक्ष रिजालले भने, “हामी गाउँकै मान्छे प्रयोग गरी बनाउन चाहन्थ्यौं ।

कतिपय सम्भव भयो । तर, प्लाष्टरमा बजारबाटै लग्यौं, यसो गर्दा कयौं दोब्बर दरको ज्याला दिनुप¥यो ।” स्कूलको ट्रस फलाम बोकेर राति ११ बजे विद्यालय पुगेको अुनभव सुनाउँछन् सदस्य पौडेल । “सिमेन्ट लिएर जाँदै थियौं, बीच बाटोमा गाडीको पट्टा भाँचियो । त्यसलाई त्यहीं अनलोड गरेर अर्को गाडीमा ओसा¥यौं । विद्यालय पुग्दा राति ११ बजेको थियो । अनि बल्ला खाना खायौं ।”

उद्घाटनमा उत्साह भूकम्पले भत्काएको लोथर–७, स्यामराङस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयको दुईकोठे भवन शनिबार जेठ १ गते उद्घाटनसँगै समुदायमा हस्तान्तरण गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले विद्यालय भवनको उद्घाटन गरे ।

जिल्ला सदरमुकामबाट उत्तरपूर्वी लोथर गाविसको सिरानमा पर्ने सो गाउँमा २०३७ सालपछि पहिलोपटक सीडीओ पुग्दा गाउँले दंग देखिए । “हामीलाई सीडीओ आउँछ भन्ने लागेकै थिएन”, गाउँका अगुवा झ्यापुराम चेपाङले भने, “आखिर अभियानले ल्यायो हामी खुसी छौं ।” ८१ वर्षका उनै झ्यापुरामले भनेअनुसार २०३७ सालमा सो ठाउँमा चितवनका तत्कालीन सीडीओ जनकराज ढुंगाना गएका थिए । त्यसपछि कुनैपनि सीडीओ गाउँ चढेनन् ।

जिल्ला सदरमुकामबाट करिब ७ घण्टा लगाएर सो ठाउँमा पुगेका प्रमुख जिल्ला अधिकारी सिंह, जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्याललगायत सरकारी अधिकारीहरुले विकट क्षेत्रमा आएर पत्रकारको टोलीले गरेको यो प्रयास अनुकरणीय रहेको बताए । “पत्रकाहरु समाचार लेख्न पोख्त हुन्छन्”, प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी सिंहले भने, “तर, यहाँ सामाजिक काममा पनि उहाँहरु पोख्त देखिनुभयो ।”

उनले विकट क्षेत्रमा यति मेहनत गरेर विद्यालय भवन बनाएपछि गाउँलेले अपनत्व लिएर गुणस्तरीय शिक्षाका लागि मेहनत गर्नुपर्ने बताए । “अब तपाईंहरुको पालो आएको छ”, चेपाङ समुदायलाई उनले भने, “बाहिरका मान्छे एक दिन आउँला, केही गरिदिएला तर सधैं यहीं बसेर गर्ने तपाईंहरुले नै हो ।”

विशिष्ट अतिथि जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले पर्याप्त विद्यार्थी संख्या रहेपनि अहिलेसम्म नि.मा.वि. नबनेको विद्यालयलाई आगामी वर्ष स्तारोन्नतिका लागि सहयोग गर्ने बताए । “हरेक हिसाबले निम्न मा. वि. बन्न यो विद्यालय योग्य छ”, उनले भने, “आगामी वर्ष कागज लिएर आउनुस् स्तरोन्नति नहुने कारण छैन ।” हामीले नगरे कसले गर्ने संस्थाकै अगुवाइमा विद्यालय स्तरोन्नतिको लागि गत शैक्षिक वर्षमा पहल गरिएपनि शिक्षा कार्यालयबाट अनुमति नपाएका कारण प्रक्रिया रोकिएको थियो । २०२६ सालमा स्थापना भएको र हरेक वर्ष २० जनाभन्दा बढी विद्यालय ५ कक्षा उत्तीर्ण भएपनि ६ कक्षा पढ्ने ठाउँ नहुँदा अधिकांश विद्यार्थीले पढाइ छोड्ने गरेका छन् ।

अब के ? विद्यालय भवन उभ्याएपछि उनीहरु प्रफुल्ल छन् । सामुहिकरुपमा एकै उद्देश्य र सोच बनाएपछि असम्भव देखिएको काम पनि सम्भव हुने देखेर उनीहरुमा थप हौसला थपिएको छ । “यो काम सम्पन्न भएर हामीमा झनै ऊर्जा थपिएको छ”, अध्यक्ष रिजालले भने, “अब शिक्षा क्षेत्रमा थप काम गर्नेछौं ।” सबैको एकमन र एक लक्ष्य भएकोले काम सहज भएको अर्का अभियान्ता दिपेन्द्र अधिकारी बताउँछन् । अब उनीहरुले एउटा दरिलो शिक्षा कोष बनाएर पढ्ने क्षमता भएका तर, आर्थिक बल नभएकालाई पढाउन खर्च गर्ने सोच बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप