बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

थापाको प्रश्न : संविधानको विपक्षमा मत हाल्ने निर्वाचनको पक्षमा उभिँदा, पक्षमा मत हाल्ने किन विपक्षमा

शुक्रबार, ०७ जेठ २०७३, १८ : ५६
शुक्रबार, ०७ जेठ २०७३

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष, उपप्रधान तथा संघीय मामिला एवं स्थानीय विकास मन्त्री कमल थापाले तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माण गर्न सबै पक्षलाई आग्रह गरेका छन् । राप्रपा नेपालले राजधानीमा आयोजना गरेको ‘स्थानीय निकायको निर्वाचन किन’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उपप्रम थापाले देश र जनताको हितको लागि स्थानीय निकायको निर्वाचन अत्यावश्यक रहेको औंल्याउदै दलगत स्वार्थभन्दा माथि उठेर यसलाई सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दलहरुको सहयोगको अपेक्षा गरे । संविधानको धारा ३०३ मा स्पष्ट व्यवस्था भएअनुसार सरकारले आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन घोषणा गरेको स्पष्ट पार्दै निर्वाचनको विरोध गरेर राष्ट्र, जनता र संविधानप्रति संविधान निर्माणको नेतृत्व गरेका जिम्मेवार राजनीतिक दलहरुले वेइमानी गर्न नहुने बताए । स्थानीय निकाय जनप्रतिनिधी विहिन भएको लामो समयमा स्रोत र साधनको चरम दुरुपयोग भएको, जनताले स्थानीय निकाय निर्वाचित गर्न पाउने हकबाट वञ्चित भएको तथा भ्रष्टाचार बढेकोले नयाँ संविधानले चाँडोभन्दा चाँडो निर्वाचन गर्न म्यान्डेट दिइसकेको अवस्थामा यो वा त्यो वहानामा निर्वाचन हुन नसक्ने भन्नु भन्दा आगामी मंसिरमा कसरी निर्वाचन सहज रुपमा सम्पन्न गर्नुपर्छ भनेर बहस गर्न उनले सम्बन्धित सबैको ध्यानाकर्षण समेत गरे ।

निर्वाचन प्रजातान्त्रिक अभ्यास भएकोले यसमा सकारात्मक योगदान र दवाव दिन नागरिक समाज, बुद्धीजीवी वर्ग र आमसञ्चार माध्यमलाई आग्रह गर्दै थापाले संवैधानिक, राजनीतिक र व्यवहारिक दृष्किोणबाट स्थानीय निकायको निर्वाचन आवश्यक भएको बताए । उनले सबै राजनीतिक दलको सहमति र सहभागितामा निर्धारित समयमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे । सम्बोधनकै क्रममा उपप्रम थापाले संविधानको विपक्षमा मतदान गरेको पार्टी राप्रपा नेपालले संविधान कार्यान्वयनमा जोड दिंदा पनि संविधानको पक्षमा उभिएका ठूला दलहरुबाटै स्थानीय निकायको निर्वाचनबारे विरोधाभाषपूर्ण कुराहरु वाहिर आउनु दुःखद भएको बताउँदै तोकिएको समयमा विर्वाचन सम्पन्न गर्न जनदवाव सिर्जनाको लागि राप्रपा नेपालले देशव्यापी कार्यक्रम गर्ने जानकारी समेत दिए । उपप्रम थापाले स्थानीय निकायको निर्वाचनको सफल परिणामको लागि संगठन निर्माणमा केन्द्रित हुन पाटीका सबै तहलाई निर्देशनसमेत दिएका छन् । कार्यक्रममा स्थानीय निकायका विज्ञ डा. खिमलाल देवकोटाले स्थानीय निकायको निर्वाचन नहुँदाको समयमा देखिएका विकृतिहरुको चर्चा गर्दै भ्रष्टाचार निर्मूल गर्नका साथै विधिको शासन स्थापना गर्न समेत स्थानीय निकायको निर्वाचन अपरिहार्य रहेको बताए । स्वागत मन्तव्यका क्रममा राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङदेनले अहिले ३६ वर्ष उमेर पुगिसकेका ७९ लाख वालिग मतदाताहरु आफ्ना प्रतिनिधी चुन्ने अधिकारबाट वञ्चित रहेको बताउँदै विगत ६ वर्ष अगाडिदेखि राप्रपा नेपालले स्थानीय निकायको निर्वाचनको माग गरेको स्मरण गराए । कार्यक्रममा पार्टीका उपाध्यक्षहरु राजिव पराजुली, टंक ढकाल, हरिनारायण यादव, महामन्त्रीद्वय राजेन्द्र लिङदेन, डा. धवलशम्सेर राणा, कोषाध्यक्ष उद्धव पौडेललगायत केन्द्रीय समितिका सदस्यहरु, पार्टीका अगुवा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप