बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सरसफाई आन्दोलन : घरको दैलोमा फोहोर राखेर धर्ना र नाराजुुलुस

आइतबार, ०९ जेठ २०७३, ०८ : १२
आइतबार, ०९ जेठ २०७३

बर्दिबास–बिहानको ११ बजेको थियो । ६०—७० जनाको एक हुल मानिस महोत्तरीको हात्तिलेट २ विजय वस्तीकी सीताकुमारी कापरको घरको दैलोमा गए । यत्रतत्र छरिएको कापरको घर अगाडी फालिएको फोहोर उनीहरु देखिसहेन । सबैले टिप्न थाले । नागरिक सचेतना केन्द्र, गाविस स्तरीय युवा सञ्जाल र बाल क्लवका सदस्यहरुले फोहोर संकलन गरेर कापरको दैलोमा राखिदिए । सबै जना सीताको घरको दैलो अगाडी उनकै घर अगाडीको फोहोर राखेर धर्नामा बसे ।

८—१० बर्ष उमेर समुहका बच्चाहरुले ‘गाविस स्तरीय सरसफाई अभियान २०७३ सफल पारौं’ लेखिएको ब्यानर राखेर अगाडी उभिए । सहभागि अन्यले चर्को नाराबाजी गर्न थाले । कोही भन्दै थिए ,‘घर आगन सफा राखौं, जथाभावी फोहर नफालौं’, कोही भन्दै थिए, ‘सबै जनता सबै दल, सरसफाईमा लगाउ बल’ जस्ता नाराले विजय बस्तीमा हलिखलि मच्यो ।

उनीहरुले आफ्नै घर आगाडीको फोहोर सफा किन नगरेको, किन व्यवस्थान नगरेको, सडकपेटीमा किन फोहोर फालेको ? भन्दै एकपछि अर्को प्रश्न धर्नामा बसेकाहरुले सीतालाई गर्न थाले । नाराबाजी र प्रदर्शन हुदैं गर्दा सीताकी छिमेकीहरु पनि उनको दैलोमा जम्मा भए ।

सरसफाई नगरेको र जथाभावी फोहोर फालेकोमा सीता लज्जित भए । उनले धर्मामा बसेकाहरुसँग एउटा सम्झौता गरे । अब कहिले पनि जथाभावी फोहर नफाल्ने, आफ्नो घर अगाडीको सडक किनार सफा राख्ने, उचित ठाउँमा फोहोर व्यवस्थान गर्ने र अरुलाई पनि भन्ने जस्ता कुरामा उनले धर्नाकारी पक्षसँग सम्झौता गरिन् । तब मात्र धर्नाकारीहरु सीताको घरबाट हिँडे । फोहोर जथाभावी फालेकोमा लज्जित हुनु परेकोमा उनी दैलोबाट धर्नाकारी गएको एकछिनमै हातमा कुच्चो लिइन् । धर्नाकारीले घरको दैलोमा राखिदिएको फोहोर सफा गर्न काम थालिन् ।

फोहोर भएको भन्दै सीताको घरमा धर्नामा बस्नु भन्दा पहिला सरसफाइका अभियन्ताहरुले हात्तिलेट ३ लायोटोलका मानबहादुर बलम्पाकीको घर अगाडी रहेको फाहोर संकलन गरेर धार्नमा बसेर नाराजुलस गरेर प्रदर्शन गरेका थिए । बलम्पाकीले पनि आफ्नो घर अगाडी रहेको फोहर सफाई गरेपछि धर्नाकारी धर्नाबाट उठेका थिए । त्यसैगरी सहभागिहरुले हात्तिलेट गाविसभन्दा पूर्वपट्टी रहेको बेंखाडी टोलमा पनि सडकमै फालिएको फोहर अगाडी ‘सरसफाई गरौं’ भन्ने सन्देश मुलक ब्यानर राखेर नाराजुलुस र प्रदर्शन गरेका थिए । पछि त्यहाँका स्थानीयहरु फोहोर सफा गरेका थिए ।

हात्तिलेट गाविसलाई निकट भविष्यमा स्वच्छ , सफा र नमुना गाविस बनाउन नागरिक सचेतना केन्द्रको आयोजनामा सरसफाई अभियान थालिएको छ । ‘आफ्नो गाउँघर आफैले सफा गरौं’ भन्दै ८ जेठ २०७३ मा सरसफाई सम्बन्धि जनचेतना मुलक ¥याली निकालिएको छ ।

खुल्ला दिसामुक्त क्षेत्र घोषणातिर उन्मुख बन्दै गरेको यस गाबिसका गरिव तथा विपन्न समुदायका मानिसहरुले निकट भविष्यमा खुल्ला दिसामुक्त बनाउन अभियान थालिएको सहजकर्ता शम्भुकुमार साहले बताए । उनले भने, ‘हामीले सरसफाई ¥याली गरेका हौं । गाउँघरलाई दिसामुक्त बनाउन खेतबारी र खोलाका चौर चहारेका छौं । बाहिर दिसा हामीले कमै देखेका छौं । अब छिट्टै हात्तिलेट खुल्ला दिसा मुक्त हुन्छ । चर्पी निर्माण कार्य युद्ध स्तरका भइरहेको छ ।’ गाउँघरलाई खुल्ला दिसामुक्त बनाउन ¥यालीमा सहभागिहरुले घरवरीपरिको खाली ठाउँ, खोलाको डिल, सडकलगायतका स्थानमा ‘दिसा’को खोजि गरेका थिए ।

घर अगाडीको फोहोर संकल गरेर घरदैलो अगाडी राखेर बसेको धर्ना र गरिएको नाराजुलुसले जनमानसमा साकारात्मक सन्देश सञ्चार भएकोे धर्नामा सहभागि स्थानीय गीता खड्काले बताइन् । उनले भनिन्, ‘घर आगन सफा राखेनौं भने फोहर संकलन गरे दैलोमा राखिदिन्छ । धेरै जनाको अघि लज्जित हुनुपर्छ ।’ त्यसैले सरसफाई सधै गरौं, व्यवस्थित रुपमा फोहरमैला व्यवस्थान गर्नुपर्छ, सरसफाई हाम्रो इज्जत हो जस्तो सन्देश गाउँमा पुगेकोे उनले बताइन् ।

मानिसहरुले आफ्नो हकअधिकारको लागि धेरै पटक आन्दोलन गरिसकेका छन् । अझपनि आन्दोलनरत छन् । तर सरसफाई र स्वच्छताको आन्दोलन ढिलैभएपनि महोत्तरीको घरघर—गाउँगाउँबाट सुरु भएको छ । सफाईको आन्दोलनले मुर्तरुप मात्र पाउन बाँकी छ । भुसको आगोको रुपमा महोत्तरी जिल्लको बस्ती—बस्तीबाट सरसफाईका आन्दोलन सुरु छ ।

‘अविष्कार र सिर्जनशीलताले मानिसलाई हृदयदेखि खुशी बनाउँछ,’ महोत्तरीमा सरसफाईको आन्दोलनको नेतृत्व गरिरहेका एक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय महोत्तरीका प्रमुख देवेन्द्र झाले हात्तिलेटबासीले गरेको सरसफाई आन्दोलन सरसफाई आन्दोलनको नमुना कार्यको भएको भन्दै प्रशांसा गर्दै उनले भने, ‘सरसफाई आन्दोलन स्वतन्त्रताको आन्दोलन भन्दा कैयौं गुण बढि महत्वपूर्ण आन्दोलन हो ।’ सबैको साथ रहेकोले आउँदौ पुस मसान्तभित्र महोत्तरीलाई खुल्ला दिसामुक्त क्षेत्र बनाउने उने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप