बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सुनिल बर्देवाको निधनमा काली प्रसाद भन्छन्, ‘दाइले मलामीबाहेक केही पाउनुभएन’

बुधबार, २९ भदौ २०७३, १७ : ००
बुधबार, २९ भदौ २०७३
[caption id="attachment_78810" align="alignleft" width="840"] तस्बिर साभारः काली प्रसादको फेसबुकबाट[/caption]

काठमाडौं । केही दिन अघि गायक खेमराज गुरुङको ज्यान लिने जण्डिसले अहिले अर्का गायक संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्ट सुनिल बर्देवाको ज्यान लिएको छ ।

मंगलबार दिउँसो एक्कासी रगत बान्ता गरेपछि उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल लगिएका बर्देवाको उपचारको क्रममा निधन भएको हो ।

‘जब म निन्द्रामा सपनी तिम्रो, गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा लगायत थुप्रै गीतहरुबाट चर्चित रहेका बर्देवा आफ्नो समयका चर्चित पप गायक थिए । नयाँ एल्बमको तयारी गरिरहेका बर्देवाले ‘मेट्रिक्स’ नामक ब्याण्डबाट गायन यात्रा सुरु गरेका थिए ।

आफ्नो छुट्टै पहिचानका साथै अघिल्लो दशकका चर्चित गायकहरु जस्तै नविन के भट्टराई, निमा रुम्बा आदिका धेरै गीतहरु एरेन्ज पनि गरेका थिए ।

बर्देवा काठमाडौंका स्थायी बासिन्दा हुन् । उनकी श्रीमतीको पनि दुई वर्ष अघि निधन भएको थियो । उनका दुई सन्तानमध्ये छोरी सनुष्का बर्देवा चितवनमा डेन्टिस्ट अध्ययन गरिरहेकी छिन् भने छोरा सानै छन् ।

उनको मृत्यु पछि नेपाली सांगितिक जगतका थुप्रै कलाकारले उनीमाथि समवेदना व्यक्त गरेका छन् । हाल अमेरिकामा रहेका गायक तथा संगीतकार काली प्रसाद बास्कोटाले उनका कारण नेपाली पप संगीत उचाइमा रहेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘जतिबेला सुनिल बर्देवा सक्रिय हुनुहुन्थ्यो त्यतिबेला नेपाली पप संगीत सर्वाधिक उचाइमा थियो ।’

उनी थप लेख्छन्, ‘दाइले सायद मलामीबाहेक केही कमाउनुभएन । आत्माले शान्ति पाओस् ।’

यसका साथै टम्बलविडका गीतारिष्ट सरद श्रेष्ठले बर्देवाको मृत्यु भएको विश्वास नै गर्न नसकेको बताउँदै आत्माको चिर शान्तिको कामना गरेका छन् ।

 उनको मृत्युमा राजनीतिक व्यक्तित्वले पनि समवेदना प्रकट गरेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बर्देवाको निधनलाई राष्ट्रिय क्षतीको संज्ञा दिएका छन् । उनले बुधबार आफ्नो ट्वीटरमा लेखेका छन्, ‘लोकप्रिय गायक, संगीतकार सुनिल बर्देवाको असामयिक निधन अपुरणीय राष्ट्रिय क्षति हो। श्रद्धान्जली। परिवारमा हार्दिक समवेदना ।’

नेकपा (एमाले) का युवा नेता योगेश भट्टराइले पनि बर्देवाको परिवारलाई ट्वीटरमाथि समवेदना प्रकट गरेका छन् । ‘हार्दिक श्रद्धाञ्जली कलाकार सुनिल बर्देवालाई । शोकाकुल परिवारमा हार्दिक समवेदना ,’ उनले लेखेका छन् ।

उनका सर्वाधिक चर्चित गीत यहाँ सुन्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप