बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

केप भर्डेका गोलकिपरको आँसुले हल्लायो अमेरिका : आमालाई भिसा दिन माग

बुधबार, ०३ असार २०८३, १० : ५३
बुधबार, ०३ असार २०८३

सारांश

  • केप भर्डेका गोलकिपर भोजिन्हाकी आमालाई विश्वकप फुटबल हेर्न अमेरिका प्रवेशको अनुमति दिन माग गरिएको छ।
  • भिसाका लागि महँगो धरौटी रकम तिर्न नसक्दा आमाले छोराको ऐतिहासिक खेल हेर्न पाइनन्।
  • अध्यागमनसम्बन्धी कडा नीतिहरूका कारण यस विश्वकपमा थुप्रै समस्याहरू देखिएका छन्।

वासिङ्टन डीसी । अमेरिकाको तल्लो संसद् हाउस अफ रिप्रिजेन्टेटिभ्सका माइनोरिटी लिडरले केप भर्डेका गोलकिपर भोजिन्हाकी आमालाई विश्वकप फुटबल प्रतियोगिता हेर्नका लागि अमेरिका प्रवेशको अनुमति दिन विदेशमन्त्री मार्को रुबियोसँग आग्रह गरेका छन्।

केप भर्डेले विश्वकपको आफ्नो पहिलो खेलमा बलियो टोली स्पेनलाई गोलरहित बराबरीमा रोक्दै सनसनी मच्चाउँदा गोलकिपर भोजिन्हाकी आमा एना क्यान्डिडा एभोरा भने भिसाका लागि आवश्यक महँगो धरौटी रकम तिर्न नसक्दा छोराको ऐतिहासिक खेल हेर्न अमेरिका आउनबाट वञ्चित भएकी थिइन्।

गत जनवरीमा डोनाल्ड ट्रम्प प्रशासनले भिसाको म्याद नाघेर बस्ने प्रवृत्तिलाई रोक्ने उद्देश्यले एउटा नयाँ नियम ल्याएको थियो, जसअन्तर्गत केप भर्डेसहित दर्जनौँ देशका नागरिकले अमेरिका प्रवेश गर्नका लागि १५ हजार डलरसम्मको भिसा धरौटी बुझाउनुपर्ने व्यवस्था गरिएको थियो।

गत महिना वासिङ्टनले विश्वकपको टिकट भएकाहरूका लागि यो नियम हटाउने र आगामी विश्वकप प्रतियोगिताका लागि वैध भ्रमणलाई सहज बनाउने घोषणा गरेको थियो। तर त्यतिबेलासम्म अत्यधिक खर्चकै कारण एभोराले एट्लान्टासम्मको ६,४०० किलोमिटर लामो यात्रा गर्ने सोच नै त्यागिसकेकी थिइन्। उनले भनिन्, ‘मलाई त्यहाँ गएर म्याच हेर्न धेरै मन थियो, तर त्यो सम्भव भएन।’

आफ्नो छोराले विश्वकपमा गरेको ऐतिहासिक प्रदर्शन हेर्न आमा अमेरिका आउन नपाएको यो विषयले अहिले ठुलो बहस र प्रतिक्रिया निम्त्याएको छ। हाउस अफ रिप्रिजेन्टेटिभ्सका डेमोक्रेटिक नेता हकिम जेफ्रिजले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘आफ्नो सन्तानले इतिहास रचेको हेर्ने अवसरबाट कुनै पनि आमा मञ्चित हुनु हुँदैन।’

vozinha-mother

उनले आइतबार हुने केप भर्डेको अर्को खेलमा ती आमा उपस्थित हुन सकुन् भन्नका लागि आफ्नो पूरा शक्ति लगाउन विदेशमन्त्री मार्को रुबियोसँग आग्रह गरेका छन् । यस विषयमा विदेश मन्त्रालयका एक अधिकारीले एभोराले भिसाका लागि आवेदन दिएको कुनै रेकर्ड नभए पनि खेलाडीका आफन्तहरू भिसा बन्ड छुट पाउन योग्य हुने बताएका छन् । 

ती अधिकारीका अनुसार वासिङ्टनले भिसा सेवामा सहयोग गर्नका लागि ती खेलाडीको परिवारसँग आफैँ सक्रिय रूपमा सम्पर्क गरिरहेको छ।

केप भर्डेले विश्वकपमा डेब्यु गर्दै सोमबार स्पेनको बलियो आक्रमण लामलाई रोक्दा विश्वलाई नै स्तब्ध पारेको थियो, जसमा गोलकिपर भोजिन्हाको भूमिका मुख्य थियो। खेल सकिएपछि जोसिमार डियास भनेर चिनिने ती गोलकिपर मैदानमै रोएका थिए। पछि पत्रकारहरूसँग कुरा गर्दै उनले भिसा समस्याका कारण आफ्नी आमा आफ्नो खेल प्रत्यक्ष हेर्न उपस्थित हुन नसकेकाले आफू भावुक बनेको बताएका थिए।

यस विश्वकपको सुरुवाती चरणमै अध्यागमन सम्बन्धी कडा नीतिहरूका कारण थुप्रै समस्याहरू देखिएका छन् । सोमालियाका रेफ्री ओमार आर्टनलाई विश्वकपका खेलहरू सञ्चालन गर्न अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएको छ भने इरानको ब्याकरुम स्टाफका केही सदस्यहरूलाई पनि अमेरिकी भिसा दिइएको छैन। कडा यात्रा प्रतिबन्धका कारण इरानी टोलीले आफ्नो मुख्य बेस नै मेक्सिकोमा सार्नुपरेको छ।

केप भर्डे फुटबल महासङ्घका अध्यक्ष मारियो सेमेदोले विश्वकपमा आउने साना राष्ट्रका समर्थकका लागि हवाई भाडा, बसोबास र टिकटको उच्च लागत आफैँमा एउटा ठुलो समस्या भएको बताएका छन्। 

रोयटर्स समाचार एजेन्सीसँग कुरा गर्दै उनले भने, ‘केप भर्डेका नागरिकका लागि विश्वकप हेर्न जानु सजिलो छैन। हवाई टिकट, होटल र म्याचको टिकट सबैमा ठुलो खर्च लाग्छ।’

उनले अध्यागमनका चिन्ताहरूलाई सम्बोधन गर्दै समर्थकहरूलाई यात्रा गर्ने वातावरण बनाउने उपायहरू सधैँ खुला रहने भन्दै यदि कुनै खेलाडीको परिवारको सदस्य खेल हेर्न चाहन्छ भने त्यसलाई सहज बनाउन हरसम्भव प्रयास गरिनुपर्ने धारणा राखेका छन्। -अल जजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप