बोल्सोनारोका छोरालाई जेल सजाय, अमेरिकासँग सहयोग खोजेको आरोप
सारांश
- ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा एडुआर्डाे बोल्सोनारोलाई चार वर्ष दुई महिनाको जेल सजाय सुनाएको छ ।
- एडुआर्डाेमाथि आफ्ना बुबाको कानुनी लडाइँमा सहयोग जुटाउन अमेरिकी प्रशासनमाथि दबाब सिर्जना गरेको आरोप लगाइएको थियो ।
- एडुआर्डाेले आफूविरुद्धको फैसला आधारहीन र निरर्थक भएको बताएका छन् र आफूलाई भविष्यमा चुनाव लड्नबाट रोक्न खोजेको आरोप लगाएका छन् ।
रियो दि जेनरियो । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा एडुआर्डाे बोल्सोनारोलाई चार वर्ष दुई महिनाको जेल सजाय सुनाएको छ । आफ्नो बुबाको कानुनी लडाइँमा सहयोग जुटाउन अमेरिकी प्रशासनमाथि दबाब सिर्जना गरेको आरोपमा दोषी ठहर गर्दै उनलाई सो सजाय दिइएको हो । ४१ वर्षीय एडुआर्डाेमाथि गत वर्ष अमेरिकी अधिकारीहरूसँग लबिङ गर्दै ब्राजिलमाथि अतिरिक्त भन्सार महसुल (ट्यारिफ) वा प्रतिबन्ध लगाएर भएपनि आफ्ना बुबालाई सहयोग दिन खोजेको आरोप लगाइएको थियो ।
ब्राजिलका पूर्वसांसद एडुआर्डाे सन २०२५ मा अमेरिका सरेका थिए । उनका बुबा जाइर बोल्सोनारोलाई सैनिक कूको योजना बनाएको अभियोगमा दोषी ठहर गर्दै २७ वर्षको जेल सजाय सुनाइएको थियो । बोल्सोनारो जनवरी २०१९ देखि डिसेम्बर २०२२ सम्म ब्राजिलका राष्ट्रपति थिए । मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै एडुआर्डाेले आफूविरुद्धको फैसला आधारहीन र निरर्थक भएको बताएका छन् । उनले न्यायाधीशहरू आफूलाई भविष्यमा चुनाव लड्नबाट रोक्न चाहेको आरोप पनि लगाए ।
उनले आफूलाई औपचारिक रूपमा मुद्दाबारे जानकारी नगराइएको र सञ्चारमाध्यममार्फत मात्र थाहा पाएको दाबी गर्दै कानुनी प्रक्रियाको पालना नभएको बताएका छन् । एडुआर्डाेले यसअघि आफू ब्राजिल फर्किए पक्राउ पर्ने डरका कारण निर्वासनमा अमेरिकामा बसिरहेको बताएका थिए । उनले सार्वजनिक रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग आफ्ना बुबाका पक्षमा समर्थन माग्दै आएका थिए । ट्रम्प प्रशासनले बोल्सोनारोविरुद्धको मुद्दालाई राजनीतिक प्रतिशोध अर्थात् विच हन्टको संज्ञा दिएको थियो ।
ट्रम्पले दक्षिणपन्थी नेता बोल्सोनारोलाई आफ्नो राजनीतिक सहयोगी मान्दै गत जुलाई ब्राजिलमाथि ५० प्रतिशत आयात शुल्क लगाएका थिए । वर्तमान ब्राजिली राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले उक्त निर्णयलाई गलत मात्र होइन, अव्यावहारिक समेत बताएका थिए । त्यसपछि अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले बोल्सोनारोको सजायप्रति वासिङ्टनले प्रतिक्रिया जनाउने बताएका थिए । अमेरिकी प्रशासनले यसअघि बोल्सोनारोसम्बन्धी मुद्दा हेर्ने सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्द्रे दे मोराइसमाथि पनि प्रतिबन्ध लगाएको थियो । तर पछि अमेरिका उक्त प्रतिबन्ध फिर्ता लिन सहमत भएको थियो ।
लुलाले ब्राजिल व्यापारका विषयमा अमेरिकासँग वार्ताका लागि तयार रहेको बताए पनि न्यायाधीशमाथि लगाइएको प्रतिबन्धलाई आफ्नो देशको न्याय प्रणालीमाथिको अस्वीकार्य हस्तक्षेप भनेका थिए । ट्रम्पको पहिलो कार्यकालमा ट्रम्प र बोल्सोनारोबीच घनिष्ठ सम्बन्ध रहेको थियो । दुवै नेताले सन २०१९ मा ह्वाइट हाउसमा भेट गरेका थिए । तर दुवैले पछि राष्ट्रपतिको निर्वाचन हारेका थिए र दुवैले सार्वजनिक रूपमा आफ्नो हार स्वीकार गरेका थिएनन् । जाइर बोल्सोनारोलाई सन २०२२ को निर्वाचन परिणाम उल्ट्याउने षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
-
युद्धविरामका बाबजुद लेबनानमा इजरायली आक्रमण जारी
-
कुवेतका जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न सांसद खुश्बु ओलीको माग
-
सभामुख अर्यालसँग बङ्गलादेशका राजदूतको शिष्टाचार भेट
-
धवलसँग पार्टी गठनको पूर्वसन्ध्यामा दुर्गा प्रसाईँ नेतृत्वको महाअभियान छलफलमा
-
क्षयरोगका बिरामी खोज्दै टीकापुर नगरपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण