बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

आजदेखि कास्कीमा स्वास्थ्य बिमा दर्ता सुरु

मङ्गलबार, १२ पुस २०७३, १४ : ०९
मङ्गलबार, १२ पुस २०७३

पोखरा - सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले आजदेखि कास्कीमा सामाजिक स्वास्थ्य बिमाको दर्ता सुरु गरेको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्राङ्गणमा आज आयोजित कार्यक्रममा सांसदद्वय यज्ञबहादुर थापा र शारदा पौडेलले जनही रु दुई हजार पाँच सय तिरी स्वास्थ्य बिमाको फाराम भरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

समितिले बिमा दर्ता प्रयोजनका लागि जिल्लामा एक सय सात जना दर्ता सहयोगी छनोट गरिसकेको छ । दर्ता सहयोगी घर घरमा गई पुस मसान्तसम्म दर्ता प्रक्रिया सक्ने छन् । आगामी फागुन १ गतेदेखि उपचार सेवा सुरु गरिने छ ।

गत वर्ष कैलाली, इलाम र बाग्लुङबाट सुरु गरिएको सो कार्यक्रम यस वर्ष कास्कीलगायत २२ जिल्लामा सञ्चालन भएको छ । कार्यक्रममा सहभागी पाँच जनासम्मको परिवारले वार्षिक रुपमा प्रतिपरिवार रु दुई हजार पाँच सय तिर्नुपर्ने र पाँचभन्दा बढी भए प्रतिसदस्य रु चार सय पच्चिसका दरले थप रकम तिर्नुपर्नेछ ।

बिमा गर्ने पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक रु ५० हजारसम्मको सेवा पाइने र पाँचभन्दा थप सदस्य भएमा जनही रु १० हजार गरी बढीमा रु एक लाखसम्मको सेवा पाइने बताइएको छ ।

कार्यक्रमबाट बिमाकर्ताले बहिरङ्ग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवालगायत ३२ सेवा पाउने छन् ।

उपचार सेवाका लागि कास्कीको भेडाबारी, किस्ती, अर्मला र शिशुवा प्राथमिक स्वास्थ्यचौकी, क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल, हिमालय आँखा अस्पताल र बाटुलेचौरका शिशु मितेरी अस्पताल तोकिएका छन् । कार्यक्रमको शुभारम्भ गर्दै सांसदद्वय थापा र पौडेलले बिरामी पर्दा उपचारका लागि खर्च जुटाउन नसक्ने नेपाली जनताका लागि स्वास्थ्य बिमा कार्यक्रम निकै फलदायी हुने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप