बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बिजनेसको नयाँ मोडल पैंचो पसल : बसे पनि सहर, गाउँकै खाने रहर !

बुधबार, १३ पुस २०७३, ११ : ३७
बुधबार, १३ पुस २०७३

बसे पनि सहर गाउँकै खाने रहर सुविधासम्पन्न सहर–बजारमा बस्न रुचाउने मानिस खानचाहिँ गाउँघरकै अर्गानिक मन पराउँछन् भनेर उल्लिखित अभिव्यक्तिले संकेत गरेको छ । सहर–बजारमा बसेकाले गाउँघरका खानेकुरा खान मन पराउनु अस्वाभाविक होइन तर सम्भव छ कि छैन भन्ने मुख्य कुरा हो । पैंचो पसल प्रालि गुल्मीले गाउँघरका अर्गानिक खानेकुरा खान मन पराउने सहर–बजार बसेकालाई उपलब्ध गराउँदै आएको छ ।

पहाडी तथा उच्चपहाडी क्षेत्रमा उत्पादित खाद्यवस्तुको बजार व्यवस्थापन र गाउँका अर्गानिक खाद्यवस्तु खान मन पराउने सहर–बजारवासीबीच पैंचोले पुलको काम गर्दै आएको छ । डेढ वर्षअघि बुटवलमा खुलेको अत्याधुनिक तरकारी तथा फलफूल पसलबाट खाद्यवस्तु बिक्री गर्दै आएको उसले निकट भविष्यमा काठमाडौंमा पनि बजार विस्तार गर्ने भएको छ ।

कामविशेषले सहर–बजारमा बस्दै आएकालाई गाउँघरका अर्गानिक खानेकुराको स्वाद चखाउन पैंचो लागिपरेको छ । उसले ८० प्रकारका खाद्यसामग्री उत्पादन गर्दै आए पनि २३ प्रकारका उत्पादन बजारसम्म पुर्याएको छ÷पुर्याउँदै छ । गुल्मीबाट बुटवल र बुटवलबाट काठमाडौंसम्म बजार व्यवस्थापन गर्न लागेको पैंचोले तत्कालका लागि प्रशोधित सामग्रीमात्रै काठमाडौंसम्म पुर्याउने भएको छ ।

काठमाडौं उपत्यकामा बसेर जुम्लाको सिमी, गुल्मीको पैंचो कोदोको पीठो, पहाडी तथा उच्चपहाडी क्षेत्रका खाद्यवस्तु खान पाउँदा कसको मन नरमाउला । तत्कालका लागि प्रशोधित खाद्यसामग्रीअन्तर्गत गुन्द्रुक, मस्यौरा, जुस (अम्बा, सुन्तला र भुइँकटहर), पाँचप्रकारका पैंचो जाम र आठप्रकारका पैंचो अचार, पैंचो होल क्यान कर्न, पैंचो आँटो, पैंचो टेमेटो केचअपलगायतका खाद्यसामग्री काठमाडौंसम्म पुर्याउने पैंचो पसल प्रालि प्रबन्ध निर्देशक ध्रुव न्यौपानले जानकारी गराए । प्रशोधित सामग्रीमध्ये ‘होल क्यान कर्न’ नेपालकै पहिलो उत्पादन भएको पैंचोले दाबी गरेको छ ।

पहाडी तथा उच्चपहाडी क्षेत्रका खाद्यवस्तु काठमाडौंसम्म पुर्याउँदा महँगो पर्ला नि ? ‘पैंचोका उत्पादन स्तरीय छन्,’ पैंचो पसल प्रालि प्रबन्ध निर्देशक न्यौपानेले सुनाए, ‘पहाडी तथा उच्च पहाडी क्षेत्रबाट कच्चा पदार्थ संकलन गर्दा महँगो पर्नु स्वाभाविकै हो । दुई केजी आँटोको एक प्याकेट बनाएका छौं । त्यसलाई काठमाडौं पुर्याउँदा १ सय ५० रुपैयाँ पर्छ भने तपाईं नै भन्नुस् महँगो पर्यो कि परेन ।’ तर, तरकारी र फलफूल भने सस्तो पर्नेछ ।

पैंचोले सहर–बजार बसेकालाई अर्गानिक खाद्यवस्तु उपलब्ध गराएर गुन त लगाएकै छ त्योभन्दा बढी पहाडी तथा उच्चपहाडी क्षेत्रका किसानलाई गुन लगाएको छ । उसले पहाडी तथा उच्चपहाडी क्षेत्रमा उत्पादित बजार पाउन नसकेको खाद्यवस्तुको बजार व्यवस्थापन गर्ने गर्छ । यसैगरी, किसानलाई मल, बीउ तथा कृषिसामग्री उपलब्ध गराई कृषि उत्पादन गर्न अभिप्रेरितसमेत गर्दै आएको छ । किसानसँग जोडिएर कृषिमा आधारित उद्योग सञ्चालन गर्दै आएको नेपालको पहिलो उद्योग पैंचोसँग ५० हजार किसान प्रत्यक्ष जोडिएका छन् ।

गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, रुकुम, जुम्ला र कालीकोटका किसानसँग जोडिएर ५० संकलन केन्द्रमार्फत खाद्यसागम्री संकलन गर्दै आएको पैंचोले बाग्लुङ र पर्वतसम्म सेवा विस्तार गर्ने भएको छ । प्रत्येक डेढ सय घरबीचमा एउटा संकलन केन्द्र (पैंचो पसल) खोलिएका छन् । त्यहाँ किसानलाई चाहिने प्रविधि, बीउ, मल, खाद्यसामग्री राखिएका हुन्छन् भने किसानद्वारा उत्पादित खाद्यवस्तुसमेत त्यहीं संकलन गरिन्छ । संकलन केन्द्र खोल्न नसकिएका कतिपय जिल्लाबाट गाडीबाट खाद्यवस्तु संकलन गर्ने गरिन्छ ।

पैंचोसँग जोडिएका किसानको आर्थिक अवस्थामात्रै उकासिएको छैन, उसको उत्पादनसमेत बढेको छ । बजार अभाव नभएपछि उनीहरूले उत्पादनमा मात्रै ध्यान दिएका छन् । कहाँ लगेर बेच्ने भन्ने चिन्ता छैन । पैंचोसँग जोडिएपछि ५० हजार किसान लाभान्वित भएका छन् । पैंचोले पहाडी तथा उच्चपहाडी क्षेत्रमा उत्पादन हुने तरकारी, फलफूल र पशुजन्य खाद्य उत्पादन बढाउनेसम्बन्धमा किसानका घर–घरमा जेटीए, माटोविज्ञ र पशुविज्ञसमेत खटाएको छ ।

स्थापनाकालदेखि हातेप्रविधि प्रयोग गरेर अचार, चुक, दाललगायतका खाद्यवस्तु परीक्षण उत्पादन गरी बुटवलमा बिक्री गर्दै आएको पैंचोले वर्ष दिनअघिदेखि गुल्मीको रिडीमा अत्याधुनिक पैंचो प्रशोधन उद्योग स्थापना गरेर स्थानीय उत्पादनलाई प्रशोधन गर्दै आएको छ । किसानसँग सिधै जोडिएर कृषिमा आधारित उद्योग सञ्चालन गरिएको पैंचो नेपालकै पहिलो भनेर उसले दाबी गरेको छ ।

बजारमा गुणस्तरहीन र अखाद्य वस्तु बढी पाइन्छन् । तर, पैंचो ले पहाड तथा उच्चपहाडका किसानद्वारा उत्पादित अर्गानिक खाद्यवस्तुलाई प्रशोधन गरेर गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउँदै आएकाले उपभोक्ता लाभाविन्त हुनेछन् ।

१० करोड रुपैयाँ लगानी गरिसकेको र ४÷५ करोड लगानी थप्न लागेको पैंचोले २ सय ५० जनालाई रोजगारी दिएको छ । सम्भावना देखेकैले न्यौपाने होटल उद्योग छाडेर यता लागेका हुन् । पैंचो पसल प्रालि खोल्नअघि उनी अध्ययनक्रममा महेन्द्रनगरदेखि इलामसम्म पुगेका थिए । महिना दिनको अध्ययनले यता सम्भावना देखेको उनले दाबी गरे, ‘सम्भावना प्रशस्त छ, हामी देख्दैनौ । तर, मैले देखेको छु ।’

गुल्मीमा फलेका फलफूलले नेपालभरिका जुस उद्योगलाई कच्चा पदार्थ पुग्छ । मुलुकभरिका अन्य जिल्लामा पनि विभिन्न किसिमका खाद्यवस्तु उत्पादन हुन्छन् । तर, सदुपयोग भएको छैन । खेर गइरहेका खाद्यवस्तुको सही सदुपयोग गर्न पैंचो लागिपरेको हो । लगानी सीमित भएकाले सीमित जिल्लामा केन्द्रित पैंचोले आर्थिक रूपमा बलियो बन्दै गएपछि भविष्यमा मुलुकभरि सेवा विस्तार गर्ने लक्ष्य बनाएको छ ।

प्रधान कार्यालय गुल्मीको बलेटक्सारमा रहेको पैंचोमा पत्रकार, उद्योगी, व्यवसायी, बुद्धिजीवी, कर्मचारी र किसान संलग्न छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप