बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

ब्लड बैँकलाई पचास लाखको रगत वर्गीकरण गर्ने उपकरण सहयोग

शुक्रबार, १५ पुस २०७३, १५ : ३५
शुक्रबार, १५ पुस २०७३

झापा - झापाको विर्तामोडमा निर्माण भएको रक्तसञ्चार सेवा भवनका लागि स्वास्थ्य मन्त्रालयले रु ५० लाख मूल्य बराबरको ‘कम्पोनेन्ट’ मेसिन (रगत वर्गीकरण गर्ने उपकरण) प्रदान गर्ने भएको छ ।

रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार मन्त्रिस्तरीय निर्णयबाट उक्त उपकरण रक्तसञ्चार सेवालाई प्रदान गर्ने निर्णय भएको र नेपाल रेडक्रस सोसाइटीसँग सम्झौतासमेत भइसकेको छ ।

यसैबीच स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले आज विर्तामोडस्थित रक्तसञ्चार सेवा भवनको निरीक्षण गरे । उनले निरीक्षणका क्रममा मानिसको जीवनसँग जोडिएको रगत आपूर्तिको सेवालाई प्रभावकारी बनाउन जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पोनेन्ट मेसिन जतिसक्दो छिटो पठाउने बताए ।

यता सांसद सुधीरकुमार शिवाकोटीले रेडक्रसको मानवीय सेवाको प्रशंसा गर्दै आफ्नो तर्फबाट पनि सहयोग गर्ने बताएका छन्। त्यस्तै सांसद हरिबहादुर राजवंशीले चाहिएको बेला रगतको महत्व थाह हुने बताउँदै रगतको आपूर्तिले सबैखाले विभेद् बिर्साएको बताए ।

रेडक्रसले विर्तामोडसहित छ स्थानमा ‘ब्लड बैंक’ सञ्चालनमा ल्याइ सेवा दिइरहेको रेडक्रस सोसाइटी विर्तामोडका सचिव एकराज गिरीले जानकारी दिए ।

कम्पोनेन्ट मेसिनले रगतमा रहेको आरबिसी, डब्लुबिसी, प्लाज्मा, प्लेटलेट जस्ता तत्व छुट्याउने र जसलाई जुन तत्व आवश्यक छ त्यही मात्र दिन सकिने नेपाल रेडक्रस सोसाइटी विर्तामोडका सभापति सजेश शिवाकोटीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप