शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रवीन्द्रजी ! नयाँ दल खोल्ने होइन, नागरिक समाजमा मोर्चा कस्नुहोस् !

बुधबार, १८ फागुन २०७३, १४ : २१
बुधबार, १८ फागुन २०७३

रवीन्द्र मिश्रजी, नमस्कार ! बेलायतमा रहेको बीबीसी जस्तो प्रतिष्ठित सञ्चारमाध्यमबाट राजीनामा दिएर, नेपालजस्तो गरिब देशमा राजनीति गर्न हाम्फाल्ने निर्णय लिनुभएछ । तपाईंको मन्तव्य पढेर थाहापाएँ । सरसर्ती हेर्दा यो निर्णय निकै महान् देखिन्छ तर तपार्ईंले गलत निर्णय गर्नुभयो भनेर बेलैमा सुझाइदिउँभनेर यो पत्र लेख्दैछु ।

तपाईंको निर्णय सही छैन भन्नका लागि म आफ्नै जीवनको अनुभवबाट सुरु गर्छु । म कक्षा ९ मा पढ्दैगर्दा लमजुङको भोर्लेटारमा एक दिन एमालेका प्रसिद्ध नेता मोदनाथ प्रश्रित भाषण गर्न जानुभयो । त्यो मञ्चबाट मैले पनि भाषण गरेँ । त्यतिबेला म त्यस्तै १५ वर्षको हुँदो हुँ । उहाँले मन्तव्यका क्रममा मेरो भाषणको जमेर प्रशंसा गर्नुभयो । म पनि मख्खै । स्कुलमा म मेधावि विद्यार्थी थिएँ । त्यो समयदेखि ममा पनि राजनीतिको भूत सवार हुनथाल्यो । विस्तारै विस्तारै नै राजनीतिमा लिन हुँदै गएँ । अन्ततः कलिलो उमेरमा कलेजै ‘ड्रप’ गरेँ । अस्कल पढ्न आएको केटो एमालेको विद्यार्थी सङ्गठन छाडेर माओवादी सशस्त्र सङ्घर्षमा हेलियो । त्यसबीच मसँगैका थुप्रै साथी मारिए तर संजोगले बाँचेर आएँ । पछि आएर लाग्नथाल्यो, पढ्नमा मेधावी हुँदैमा राजनीतिमा कहाँ अब्बल हुनेरहेछ र ? बरु फेरि औपचारिक शिक्षालाई नैनिरन्तरता दिँदा राम्रो होला भनेर फेरि २९ वर्षको उमेरमा ज्ञानको खोजिमा निस्किएँ । एउटा प्रतिष्ठित विश्वविद्यालयबाट गोल्ड मेडलसहित स्नातोकत्तर गरेँ, ३६ वर्षको उमेरमा । बाँकी जीवन प्रज्ञिक क्षेत्रमा जोडिएर विताउने प्रण गरेको छु ।

यसरी आत्मवृत्तान्त सुनाउनुका केही कारण छन् । पहिलो कारण के भने जसरी पढाइमा राम्रो हुँदैमा कोही राजनीतिमा पनि उति नै राम्रो हुन्छ भन्ने सही होइनरहेछ । त्यसरी नै अब्बल पत्रकार हुँदैमा त्यो रातारात राजनेता भइहाल्छ भन्ने झनै सही होइन । राजनीतिलाई खबरमा उतार्नु र भोग्नुमा गहिरो अन्तर छ । अझ राजनीतिमा बाँच्नु त झनै अर्कै कुरा हो । तपाईंले माकियाभेली पक्कै पढ्नु भएकै छ । माकियाभेलीको प्रसङ्ग बडो रमाइलो छ । उनी धुरन्धर विद्वान र कूटनीतिज्ञ थिए । राजनीतिबाट पाखा लगाइएपछि उनले राजनीतिमा रहेकालाई सुझाव दिन ‘दि प्रिन्स’ लेखे । राजकुमारलाई सत्ता कसरी चलाउने भनेर सुझाव दिन । तर, उनले आफैं सत्ता लिन वा चलाउन खोजेनन् । माकियाभेलीका तुलनामा तपाईं हामी त को हौं र ? उनी त पूरै राजनीतिशास्त्रको जग हाल्नेमध्ये गनिन्थे । हामी राजनीतिशास्त्रका सरदर विद्यार्थी मात्र हौं । माकियाभेलीले त्यतिबेला पुस्तक लेख्न छोडेर, बेमौसमी राजनीति गर्न खोजेको भए सायदै आज हामीले उनको नाम सुन्थ्यौं । पहलकदमी गुमाइसकेको अवस्थामान उनी राजनीतिमा सफलहुन्थे, न हामीले ‘द प्रिन्स’ जस्तो उच्च स्तरको कृति नै पाउँथ्यौँ ।

रवीन्द्रजी ! नयाँ दल खोलेर नयाँ विकृति मात्रै भित्रिन्छन् । डा. भट्टराईले नयाँशक्ति खोलेर त्यस्तै विकृति भित्र्याए, जसलाई तपाईंले पनि पछ्याउनुभयो ।

नेपाली राजनीतिमा डा. बाबुराम भट्टराईको अस्वभाविक उदयले धेरैको मनमा नेता बन्ने लालसा पलाएको छ । त्यस्तै लोभ तपाईंमा पनि पलाएछ । तर, डा. भट्टराईको कथा निकै निर्दयी छ । उनी र म दुवै अस्कलका ‘एलुमनस’ हौँ, यद्यपि हाम्रो उमेरमा एक पुस्ताको फरक छ । उनी जहाँ पुगे नि त्यसमा हामीजस्ता युवाले त्यति बेला सशस्त्र युद्धमा पढाइ छाडेर हाम फालेको कुराको ठूलो हात छ । हामीजस्ता हजारौंले जीवनमा यति धेरै नगुमाएको भए डा. भट्टराईहरुले त्यति धेरै पक्कै पाउँदैनथे । आज रवीन्द्र मिश्रहरुलाई त्यो सुविधा छैन । तैपनि रवीन्द्र मिश्रहरु सलबलाएका छन् ।

यति धेरै गुमाउँदा पनि डा. भट्टराईहरुप्रति घृणाभाव फैलाउन चाहन्न । किनकि जीवन भोगाइबाट थाहा भइसक्यो आक्रोश र घृणाले कहीँ पुगिन्न । आफैंलाई हानि गर्छ । कसैलाई नराम्रो देखाएर आफू राम्रो भइने पनि होइन रहेछ । काङ्ग्रेस, एमाले, माओवादी भनेर एकअर्कालाई सत्तोसराप गर्ने चलन छ हाम्रोमा । तपाईं सभ्य भाषामा उनीहरुलाई गलत सिद्ध गरेर आफू सही सावित हुनखौज्दै हुनुहुन्छ । तर, तपाईंले लिएको यो बाटो पनि प्रकारान्तर रुपमा अरुलाई होचो बनाएर आफू अग्लिने दाउ नै हो । त्यो तपाईंको वक्तव्यलाई मिहिन प्रकारले अध्ययन गर्नेले सजिलै बुझ्न सक्छ ।

रवीन्द्रजी ! नयाँ दल खोलेर नयाँ विकृति मात्रै भित्रिन्छन् । डा. भट्टराईले नयाँशक्ति खोलेर त्यस्तै विकृति भित्र्याए, जसलाई तपाईंले पनि पछ्याउनुभयो । त्यसबाट ऐंजेरुहरुको नयाँ झाडी मात्रै पैदा हुन्छ । अनि तपाईंको दलले पनि परिपक्व हुन पूरा एक जीवनचक्र पूरा गर्नुपर्छ । इतिहास दोहोरिनुपर्छ । फेरि नयाँ भाग्यमानीहरु पैदा गर्न थुप्रै अभागीहरुले तपाईंप्रति आफूलाई समर्पित गर्नुपर्छ । मलाई त यो सबै सम्झेर आउँदा पनि चिच्याट लागेर आउँछ ।

अनि आफू राम्रो देखिने होडमा न आफ्नो, न अर्काको कसैको पनि वस्तुवादी परख हुन सक्दैन । महिनैपिच्छे दल खोलेर लोकतन्त्र संस्थागत पनि हुँदैन । अस्थिरता मात्रै बढ्छ ।

लोकतन्त्रमा दल एउटा आयाम मात्रै हुन् । दलहरुको प्रमुख भूमिका हुन्छ तर एकलौटी महत्व भने होइन । लोकतन्त्रको दिगोपनका लागि अझ महत्वपूर्ण आयाम भनेको नागरिक समाज हो । रवीन्द्र मिश्रजीले नागरिक समाजमा आफ्नो भूमिका खोज्दा बढी योगदान गर्न सक्नुहुन्थ्यो । अझ भनौं धेरै नै गुन लाउन सक्नुहुन्थ्यो देशका लागि ।

यति बेला हामीलाई चाहिएको नयाँ दल होइन । पुरानै दलको लोकतान्त्रीकरण हो । रुपान्तरण हो । सङ्घीय लोकतन्त्रिक गणतन्त्रको संस्थागतीकरण हो । त्यसका लागि दलहरुको संस्थागतीकरण हो । नेपालमा त्यो हुन सकेको छैन । तपाईंको नयाँ दल खोल्ने प्रयासले लोकतन्त्र र सङ्घीयतालाई संस्थागतीकरण गर्ने अपूरो राजनीतिक कार्यभारलाई विषयान्तर गर्ने जोखिम छ ।

लोकतन्त्रमा दल एउटा आयाम मात्रै हुन् । दलहरुको प्रमुख भूमिका हुन्छ तर एकलौटी महत्व भने होइन । लोकतन्त्रको दिगोपनका लागि अझ महत्वपूर्ण आयाम भनेको नागरिक समाज हो । रवीन्द्र मिश्रजीले नागरिक समाजमा आफ्नो भूमिका खोज्दा बढी योगदान गर्न सक्नुहुन्थ्यो । अझ भनौं धेरै नै गुन लाउन सक्नुहुन्थ्यो देशका लागि । अनि लोकतन्त्रका लागि ।

सङ्घीयता, गणतन्त्र र लोकतन्त्रको स्थापना भएको तर संस्थागतीकरण नभएको स्थितिमा नागरिक समाजले गर्नुपर्ने र गर्नसक्ने धैरै थियो । नागरिक समाज लोकतन्त्रको जगै हुन् भन्दा पनि फरक पर्दैन । तर, यसमा कमैको रुचि देखिन्छ । किनकि, आखिर नयाँ दल खोल्नेहरुलाई चाहिएको पनि सत्ताको कुर्सी नै त हो ।

उसो भए नागरिक समाजले के भूमिका निर्वाह गर्न सक्छ त नेपाली राजनीतिको यो मोडमा ?

सबभन्दा पहिले देशको नागरिक समाजले काङ्ग्रेस, एमाले र माओवादीका शीर्ष नेता जसले देशमा गणतन्त्र स्थापनमा नेतृत्व गरे उनीहरुलाई गणतन्त्रका माता÷पिताकौ रुपमा सम्मान गर्न जान्नुपर्छ । शीर्ष नेताहरुको आलोचना पनि गर्नुपर्छ तर उनीहरुले जीवनकै जोखिम मोलेर इतिहासमा कमाएको यथोचित स्थानको कदर गर्न नागरिकहरु पनि तयार हुनुपर्छ । त्यस्तो परिपक्वताको नेपालका नागरिक समाजकर्मीहरुमा सर्वथा अभाव देखिएको छ । उनीहरुमा एक प्रकारको उरन्ठेउलो र ध्वंशात्मक प्रवृत्तिले जरो गाडेको पाइन्छ । जसले गर्दा कसैले कसैको अस्तित्व स्वीकार नगर्ने, एकअर्कालाई खुइल्याने अझ सके सिध्याउने सांस्कृतिक क्यान्सरले हाम्रो समाजलाई नराम्ररी थला पारेको छ ।

नयाँ दल खोल्ने ध्याउन्नमा अरुलाई जसरी पनि नराम्रो देखउनै प¥यो । नत्र नयाँ दलमा अनुयायी भित्र्याउन गाह्रो । अनि नौरङ्गी दलखोल्ने प्रयासले नकारात्मक बहसको नयाँ चक्रब्यूह मात्रै सिर्जना गर्छ । जसले हाम्रो समाजलाई झनै मनोरोगी बनाउँछ ।

त्यसैले मिश्रजी, तपाईं हामीजस्ता देशविदेश भोगेर आएकाहरुले निर्वाह गर्ने भूमिका निकै मौलिक, सिर्जनशील र विवेकपूर्ण हुनुपर्छ । तपाईंले यो नयाँ दल खोल्ने लठारोमा लाग्नुको सट्टा देशको परराष्ट्रनीति, शिक्षानीति, आर्थिक नीति आदि सवालमा न्यूनतम विषयमा प्रमुखदलहरुलाई एक ठाउँमा ल्याउन अभियान चलाउनुपर्छ । नागरिक समाजले दलहरुलाई राष्ट्रका आधारभूत नीतिमा एकै ठाउँमा आउन दबाब दिनुपर्छ । अनि मात्रै सरकार फेरिँदा पनि आधारभूत नीतिमा निरन्तरता भई हाम्रो देशको उन्नति र प्रगति हुनसक्छ ।

दलहरुलाई लोकतान्त्रीकरण गर्ने, पारदर्शी बनाउने, तिनमा सक्षम र इमानदार व्यक्तिहरुलाई अगाडि बढाउने सवालमा पनि नागरिक समाजले भूमिका खेल्न सक्छ । दलहरुमा कुनै व्यक्ति विशेषको उदयमा नागरिक समाज, सञ्चार माध्यम आदिले कत्तिको प्रभाव पार्न सक्छन् भन्नेमा त तपाईंले जत्ति कसले पो बुझेको होला र ? तत्कालीन माओवादीमा डा. भट्टराई, काङ्ग्रेसमा गगन थापा अनि एमालेमा रवीन्द्र अधिकारीहरुलाई त्यो ठाउँमा पु¥याउन तपाईंजस्ता सञ्चारकर्मीको पनि कम हात छैन । यसबाटै पनि दलहरुको रुपान्तरणमा नागरिक समाजले कति प्रभावकारी भूमिका निर्वाह गर्नसक्छ भन्ने उदाहरण मिल्छ ।

रचनात्मक बाटो समातेर अगाडि बढे तपाईंको ज्ञानको पनि काम आउँछ । देश र दुनियाको पनि भलो हुन्छ । होइन दलै खोल्छु भनेर अर्घेल्याइँ गर्नुभयो भने तपाईंलाई मान्छेहरुले राजनीतिक अवसरवादीको आरोप लगाउन सक्छन् । किनकि, नेपालको अहिलेसम्मका दलहरु रगत, पसिना र आँसुको भेल तरेर आएकाखाले छन् । तिनका त्याग र तपस्याले अर्जेको लोकतन्त्रमा केही नरोपी फलाउन खोजेको, अझ भनौं तर मार्न खोजेको आरोप तपाईंलाई लाग्ने अप्रिय स्थिति आउन सक्छ । राजनीति बाँचेकाहरुलाई थाहा छ राजनीति कसरी धुलो र माटोबाट उठेर आउँछ भन्ने । हेलिकोप्टर जस्तो उडेर थपक्क जनताको आँगनमा नयाँ पसल खोल्दैमा नयाँ दल बन्छ भन्नु निकै मीठो तर क्षणभङ्गुर भ्रम मात्र हो । यो भ्रमबाट बौरिएर बरु नागरिक समाजलाई बलियो बनाएर लोकतन्त्रको समृद्धीकरणका लागि सक्दो योगदान गर्ने पो हो कि रवीन्द्रजी ?

राजनीति खाएको, पिएको, ओडेको, बाँचेको अनि दुःखेको एउटा प्राणीको नाताले सानो पत्र कोर्ने धृष्टता गरेँ । केही नराम्रो भनेको भए माफ गरिदिनुहोला । अगाडि तपाईंको जो इच्छा !

धन्यवाद । तपाईंको अपरिचित शुभचिन्तक

(लेखक अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गर्दैछन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप