शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

रातोपाटीको एउटा समाचारः जसले ल्यायो राजपाको विधानमा परिवर्तन

बुधबार, २७ वैशाख २०७४, १७ : ११
बुधबार, २७ वैशाख २०७४

काठमाडौ वैशाख २७– रातोपाटीले वैशाख २३ गते ‘गजेन्द्रबाबुको नाममा राजपामा लफडा, अनिल झा बाहिरिने सम्भावना’ शीर्षकमा समाचार प्रकाशित गर्यो । सो समाचार प्रकाशनमा आएसँगै राष्ट्रिय जनता पार्टी नेपालले तयार पार्दै गरेको विधानमा परिवर्तन ल्याएको छ ।

राजपाका नेताहरु लक्ष्मणलाल कर्ण (सद्भावना पार्टी), रामनरेश राय यादव (तराई मधेश सद्भावना पार्टी) वृषेशचन्द्र लाल (तमलोपा), सिपी सिह (फोरम गणतान्त्रिक), कौशलेन्द्र मिश्र (नेपाल सद्भावना पार्टी) र केशव झा (राष्ट्रिय मधेश समाजवादी पार्टी) रहेका छन् ।

सातादेखि विधान तयार गर्ने काम भइरहेको थियो । तयारीको क्रममा विधानको प्रस्तावनामा नै नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको योगदान र संघर्षको बारेमा उल्लेख गर्नुपर्ने नेपाल सद्भावना पार्टीको अध्यक्ष रहिसकेका अनिल झाको तर्फबाट कार्यदलमा रहेका कौशलेन्द्र मिश्रले कार्यदलको बैठकमा प्रस्ताव गरेका थिए । तर उनको त्यो प्रस्तावलाई स्वीकार गर्न कोही तयार भएनन् ।

त्यसका लागि अनिल झाले निकै संघर्ष गर्नुपर्यो भने चरण–चरणमा छलफलहरु पनि भयो तर कोही मान्न तयार थिएनन् । यसरी गजेन्द्रनारायण सिंहको नाम राख्ने हो भने अरु थुपै्रले पनि त्यस्तै योगदान दिएका र उनीहरुको पनि नाम राख्नु पर्ने तर त्यो सम्भव नहुने उनीहरुको भनाई थियो ।

छ वटा पार्टी एकीकृत भएर नयाँ पार्टी बनेको छ । पुराना पार्टीका कुनै अंश यसमा राखिएको छैन । पार्टीको नाम नयाँ, झण्डा नयाँ, चुनाव चिन्ह नयाँ । सबै नयाँ भएपछि अब मधेशका यस्ता कुराहरु विधानमा घुसाउन थालियो भने विधान राम्रो देखिदैन भन्ने जस्ता तर्कहरु पनि बैठकमा भएको थियो तर अनिल झाको तर्फबाट मान्ने तयार भएनन् ।

त्यही विवादका कारण विधान तयार गर्ने समय लम्बियो । यहाँसम्म कि गजेन्द्रनारायण सिहको योगदानको बारेमा राजपाको विधानमा उल्लेख नगरिए अनिल झाले आफूराजपाबाट बाहिरिनेसम्म कुरा पनि उठ्यो ।

त्यो कुराको सूचना रातोपाटीलाई प्राप्त भएसँगै रातोपाटीले समाचार लेखेको थियो । जुन कार्यदलकै एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा सूचना दिएका थिए ।

समाचारसँगै गजेन्द्रनारायणको नाम नै नहालेपछि पार्टी विभाजित हुन्छ भन्ने कुराले कार्यदलका सदस्यहरुलाई गम्भीर बनाएको र नेताहरुले अडान परिवर्तन गरेको एक नेताले बताए । समाचारबारे नेताहरुबीच खल्लीबल्ली नै मच्चिएको थियो ।

ति नेताका अनुसार ज–जसले गजेन्द्रनारायण सिंहको नाम राख्न चाहेका थिएनन् उनीहरु सबै समाचारपछिका बैठकमा सकारात्मक रुपमा प्रस्तुत भए ।

त्यसपछि गजेन्द्रनारायण सिहको योगदान र संघर्षको चर्चा गर्ने हो भने अन्यहरुको पनि चर्चा हुनुपर्छ भनि कुरा आयो । त्यसमा कौशलेन्द्र मिश्रको कुनै आपत्ति रहेन । मधेशको अधिकारका लागि योगदान दिनहरुको चर्चा विधानमा भयो भने कुनै आपत्ति नहुने भनि सहमति भएपछि विधानकै प्रस्तावनामा नै २०४० सालदेखि गजेन्द्रनारायण सिंहले मधेशमा दिएको योगदानलाई स्मरण गरिएको छ भने अर्को रघुनाथ राय र रघुनाथ ठाकुरलाई पनि स्मरण गरिएको छ ।

तर, मधेशमा भएको पहिलो आन्दोलनको सहिदमध्ये कसैको नाम त्यहाँ उल्लेख गरिएको छैन । बरु मधेशी जनअधिकार फोरम नेपालले गरेको मधेश आन्दोलनको चाहिँ सम्झाना गरिएको छ ।

कार्यदलको तर्फबाट विधान तयार भइसकेको छ । अब त्यसलाई अध्यक्ष मण्डलमा प्रस्तुत गरिनेछ । राजपाका अध्यक्ष मण्डलका सदस्य शरतसिह भण्डारी र महेन्द्रराय यादव काठमाडौ बाहिर रहेको. र उनीहरु फर्किएसँगै पेस हुने बताइएको छ । अध्यक्ष मण्डलले सो विधानलाई अनुमोदन गरे मात्र लागु हुनेछ ।

विधान लागू भएको दिनदेखि एक वर्षभित्र महाधिवेशन गर्ने उल्लेख गरिएको छ । छजना अध्यक्ष रहने गरि एक अध्यक्ष मण्डल रहनेछ भने छवटै पार्टीमा रहेका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु पनि यथावत रहने उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप